शुक्रबार, अशोज १८, २०८१
Friday, October 4, 2024

पर्वतका दुई अस्थायी केन्द्रबाट ३५ जना कैदी बन्दी सहित १६ सय बढीले मतदान गर्ने

पर्वत : आगामी मङ्सिर ४ गते हुन लागिरहेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि पर्वतमा दुई वटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । ती दुई केन्द्रबाट ३५ जना कैदी बन्दी सहित १ हजार ६ सय ७० जनाले मतदान गर्दै छन् ।

जिल्ला निर्वाचन कार्यालय पर्वतका प्रमुख लक्षु शर्माका अनुसार सरकारी कर्मचारीहरूका लागि जिल्ला समन्वय समितिको भवनमा र कैदी बन्दीहरूको लागि जिल्ला कारागार कार्यालयको परिसरमा नै अस्थायी मतदान केन्द्र राख्ने गरी तयारी गरिएको छ ।

कारागारमा रहेकामध्ये ५२ जनाको नाम मतदाताका रूपमा आएको भए पनि रुजु गर्ने क्रममा ३५ जनाको नाम मात्रै अन्तिम भएको छ । लामो समयदेखि कैदमा रहेकाहरूले मतदाता नामावलीमा नाम दर्ता नगराएकाले प्राप्त भएका सबै नामले मतदान गर्न नपाउने भएका हुन् । ‘लामो समयदेखि कैदी बन्दीका रूपमा रहनुभएकाहरुले नाम दर्ता गराउन पाउनु भएन । तर हालै वा पछिल्लो समयमा कैदमा आएको भएमा उहाँले पहिले मतदाता नामावलीमा नाम दर्ता गराउनुभएको हुन सक्छ,’ जिल्ला निर्वाचन अधिकारी शर्माले भने, ‘अस्थायी मतदाताको रूपमा मतदान गर्ने कर्मचारीहरूमा पनि केही सङ्ख्या घटेको छ। सुरुमा प्राप्त भएको सबै नाम नै फाइनल नहुन सक्छ ।’

अस्थायी मतदाताका लागि सङ्कलन गरिएको नामावलीमा सुरुमा प्राप्त भएको सङ्ख्या भन्दा कम सङ्ख्याको नामावली कायम भएको छ । रुजु गर्ने क्रममा उनीहरूको प्रमाण फेला नपरेपछि अस्थायी मतदाताको रूपमा उनीहरूको नाम हटाउँदा कैदी बन्दी सहित गरेर १६ सय ७० जनाको नाम अन्तिम भएको हो ।

अस्थायी मतदान केन्द्रमा मतदानका लागि जाने कर्मचारीहरूले सकेसम्म आफू कार्यरत कार्यालयको पत्र सहित उपस्थित हुन वा त्यो नभएमा कार्यालयको परिचय पत्र लैजान पनि जिल्ला निर्वाचन कार्यालये अनुरोध गरेको छ ।

स्थायी मतदाताले चार वटा मतपत्रमा आफ्नो मत जाहेर गर्न पाउने भए पनि अस्थायी मतदाताले भने एउटा मात्रै मतपत्रमा आफ्नो मत जाहेर गर्न पाउने छन् । स्थायी मतदाताले प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकमा मतदान गर्न पाउँछन् । तर अस्थायी मतदाताले प्रतिनिधि सभाको समानुपातिकतर्फ राजनीतिक दललाई मात्रै मत दिन पाउने छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार पर्वतमा अस्थायी बाहेकका नियमित मतदान केन्द्रहरूको सङ्ख्या १ सय ४८ वटा कायम गरिएका छन् । ७४ स्थानमा रहेका ती मतदान केन्द्रबाट जिल्लाका १ लाख २२ हजार जनाले मतदान गर्न पाउने छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive