पर्वत : आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा पर्वतका १४८ मतदान केन्द्रका लागि कर्मचारीहरु खटाइएका छन् ।
जिल्ला निर्वाचन कार्यालय पर्वतका प्रमुख लक्षु शर्माका अनुसार एउटा मतदान केन्द्रमा एक जना सहायक मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, पाँच जना सहायक कर्मचारी र एक जना सहयोगी गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आठ जना जनशक्ति खटाइएको छ । प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक गरी चार वटा मतपत्रमा मतदान गर्नुपर्ने भएकोले स्थानीय तहको निर्वाचनको तुलनामा बढी जनशक्ति परिचालन गरिएको हो ।
जिल्लाबाट एउटा बुथको लागि आठ जना खटाइएको भए पनि स्थानीय स्तरमा मतदान अधिकृतले थप चार जना स्वयंसेवक नियुक्ती गरेर मतदान सम्पन्न गराउने गरी जिम्मेवारी दिइएको छ । १४८ मतदान केन्द्रमा थप ५९२ जना स्वयंसेवकहरु स्थानीय रुपमा नियुक्ति गर्दा निर्वाचनको लागि पर्वतमा कुल एक हजार ७७६ जना कर्मचारीहरु परिचलान हुँदै छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मङ्गलवार सार्वजनिक गरेको कर्मचारीको खटनपटन सम्बन्धी सूचनामा जिल्लामा रहेका सरकारी कार्यालयमा कार्यरत कर्मचारी र शिक्षकहरुलाई निर्वाचनमा खटाइएको जानकारी दिइएको छ ।
पर्वतमा ७४ मतदान स्थलमा १ सय ४८ वटा मतदान केन्द्र निर्धारण गरिएका हुन् । कुश्मा नगरपालिकाका १७ स्थानमा ३८ वटा, महाशीला गाउँपालिकाका ७ स्थानमा ११ वटा, फलेवास नगरपालिकाका १४ स्थानमा २८ वटा, मोदी गाउँपालिकाका १० स्थानमा २३ वटा, बिहादी गाउँपालिकाका ७ स्थानमा १३ वटा, जलजला गाउँपालिकाका १२ स्थानमा २१ वटा र पैयुँ गाउँपालिकाका ७ स्थानमा १४ वटा मतदान केन्द्र राखिएका छन् ।
जिल्ला सुरक्षा समितिको बैठकले गत स्थानीय तहको निर्वाचनमा जिल्लामा भएका राजनीतिक गतिविधि, निर्वाचन बहिष्कार गर्ने समूह रहेको क्षेत्र, भौगोलिक स्थिति, सञ्चार र सडकको सुलभताको अवस्थालाई आधार बनाएर मतदान स्थलहरूलाई ती वर्गमा विभाजन गरेको छ । जिल्लाका ३५ वटा मतदान स्थललाई अति संवेदनशील, ३१ वटा मतदान स्थललाई संवेदनशील र ८ वटा मतदान स्थललाई सामान्यको सूचीमा राखिएको छ ।
पर्वतका १४८ मतदान केन्द्रमा खटाइए ११ सय ८४ कर्मचारी
