शुक्रबार, माघ २५, २०८१
Friday, February 7, 2025

२ गतेबाट दिने बिदाले मतदान केन्द्रमा जान समस्या हुने कर्मचारीको गुनासो

पर्वत : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि गृह मन्त्रालयले मङ्सिर दुई गतेबाट बिदाको घोषणा गरेको छ। मतदान स्थल रहेको शिक्षण संस्था तथा विद्यालयहरूमा २ गतेदेखि ५ गतेसम्म बिदा दिइएको छ भने मतदान केन्द्र नरहेका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा मङ्सिर ४ र ५ गतेका लागि सार्वजनिक बिदा दिने भनी नेपाल सरकारबाट निर्णय भएको छ।
तर निर्वाचनमा खटिएर जाने कर्मचारीहरूलाई मङ्सिर १ गते नै मतदान केन्द्रमा पुग्न भनिएको छ। गृह मन्त्रालयले दिएको बिदाले भने कर्मचारीहरूलाई केही अलमलमा पारेको देखिएको छ। १ गते साँझसम्म मतदान केन्द्रमा पुग्नको लागि सोही दिन बिहानै यात्रा सुरु गर्नुपर्ने अवस्था छ। तर गृहमन्त्रीको सूचनामा २ गतेबाट बिदा भनिएका कारण १ गते मतदान केन्द्रमा जान सक्ने अवस्था नरहने कर्मचारीहरु बताउँछन्।
‘एक गते त केन्द्रतर्फ हिँड्नै पर्छ। त्यो दिनमा विद्यालय जान सक्ने अवस्था रहँदैन। गृहले १ गतेबाटै बिदा दिएको भए अलमलमा पर्नुपर्ने थिएन।’ मतदान केन्द्रमा खटाइएका एक जना शिक्षक विनोद तिवारीले भने, ‘कर्मचारीको रूपमा नियुक्ति लिएपछि विद्यालयमा भएको अप्ठ्यारोको बारेमा नसोचेर बस्न कहाँ सकिन्छ र? कुनै विद्यालयका लगभग सबैजसो शिक्षकहरू पनि खटिनुभएको अवस्थामा त्यो विद्यालय बन्द राख्ने की १ गते अध्यापन गर्न जाने?’
निर्वाचन आयोगले भने नियुक्ति पत्र थमाएसँगै निर्वाचनमा खटिएर जानेहरू निर्वाचन आयोग मातहत रहने बताउँछन्। उनीहरूले नियुक्ति पत्र पाइसकेपछि निर्वाचनको सन्दर्भमा जुनसुकै बेलामा पनि बोलाउन सकिने तर कार्यालयमा असर नपरोस् भन्ने उद्देश्यले जानै पर्ने मितिमा जान ताकेता गरिएको जिल्ला निर्वाचन अधिकृत लक्षु शर्मा बताउँछन्।
‘हामीले नियुक्ति पत्र दिएपछि उहाँहरू निर्वाचनका लागि खटिएका कर्मचारीहरू बनी सक्नुभएको छ। उहाँहरू काजमा रहने भएकोले सरकारले बिदा नदिएको दिनमा निर्वाचनको काम गर्न जान सक्नुहुन्छ,’ उनले भने, ‘बुझाइमा समस्या भएको हुन सक्छ। जिल्लाका सबैका विद्यालय र सबै कार्यालयका सबै शिक्षक र सबै कर्मचारीहरू त निर्वाचनमा जानुहुन्न। जसलाई खटाइएको छ उहाँहरू निर्वाचनमा जाने हो, जसलाई खटाइएको छैन उहाँहरूले कार्यालय चलाउने हो।’
पर्वतको जलजला गाउँपालिकाले भने यही समस्यालाई मध्यनजर गर्दै मङ्सिर १ गतेबाट नै लागू हुने गरी बिदाको घोषणा गरेको छ। गाउँपालिकाको कार्यालयमा रहने कर्मचारीहरू, गाउँपालिकाका विभिन्न स्थानमा रहने कर्मचारीहरू, वडामा रहने कर्मचारीहरू तथा शिक्षकहरू पनि १ गते नै खटाइएको स्थानमा जानुपर्ने भएकाले १ गतेबाट नै बिदा दिइएको गाउँपालिकाले सूचना निकालेर जानकारी दिएको छ।
निर्वाचनमा प्रयोग हुने सामग्री ढुवानी गर्ने प्रयोजनका लागि सवारीहरूको प्रयोग बढ्दा सवारीको अभाव हुने तथा नयाँ ठाउँमा पुगेर त्यहाँको परिवेश बुझेर काम गर्नुपर्ने भएकाले १ गते बिहानैदेखि नै कर्मचारीहरू सम्बन्धित मतदान केन्द्रमा जाने तयारीमा रहेका छन्। जिल्ला निर्वाचन कार्यालय पर्वतले पनि सोही दिनमा मतदान केन्द्रमा पुगेर आफूहरूको सम्पर्कमा रहन मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive