बिहिबार, मंसिर २०, २०८१
Thursday, December 5, 2024

‘नरबहादुर गुरुङ स्मृति अक्षयकोष’ बाट बाजुङका ४२ विद्यार्थीलाई छात्रावृत्ति वितरण

पर्वत : पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा रहेको महेन्द्रशिखरी माध्यमिक विद्यालयका ४२ जना विद्यार्थीहरुलाई छात्रावृत्ति वितरण गरिएको छ ।
सामाजिक सेवाको क्षेत्रमा सक्रिय रहँदै आएका ‘मिलन ग्रुप आफ नेपाल’ का संयोजक दुर्गा घोताने गुरुङ ‘मिलन’ ले आफ्ना स्वर्गीय बुबा नरबहादुर गुरुङको स्मृतिमा स्थापना गरेको ‘नरबहादुर गुरुङ स्मृति अक्षयकोष’ मा रहेको साढे दुई लाख रुपैयाँको ब्याजबाट विद्यार्थीहरुलाई छात्रावृत्ति वितरण गरिएको विद्यालयका शिक्षक लक्ष्मण शर्माले बताए ।
सोमबार विद्यालयमा आयोजना गरिएको छात्रावृत्ति वितरण कार्यक्रममा ‘मिलन ग्रुप अफ नेपाल’ अन्तर्गतको संस्था मिलन फउण्डेसनकी अध्यक्ष तथा समाजसेवी दुर्गा गुरुङकी धर्मपत्नी गंगाकुमारी गुरुङले विद्यार्थीहरुलाई छात्रावृत्ति वितरण गरेकी हुन् । हाल हङकङमा रहँदै आएकी गुरुङ गाउँमा आएको अवसर पारेर विद्यालयले अक्षयकोषका स्थापनाकर्ताकै हातबाट छात्रावृत्ति वितरण गरेको हो ।
सो अवसरमा बोल्दै फउण्डेसनकी अध्यक्ष गुरुङले अक्षयकोषलाई विद्यालयले राम्रो सदुपयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै कार्यविधि अनुसार अगाडि बढीरहे आगामी दिनमा पनि थप आर्थिक सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छिन् । ‘देशका विभिन्न जिल्लामा हामीहरुले विभिन्न तरिकाले सेवा गर्दै आइरहेका छौँ । आफ्नै गाउँको विद्यालयमा अक्षयकोष स्थापना गर्दा आर्थिक समस्यामा परेका तथा आफ्नै गाउँका साना भाईबहिनीहरुले शैक्षिक सामग्री जुटाउन समस्या नहोला भनेर सोचिएको थियो । विद्यालयले सोही अनुसार गरिरहेको छ,’ उनले भनिन, ‘यसरी नै कार्यबिधि अनुसार अक्षयकोषलाई अगाडि बढाउँदै लैजानु होला । आगामी दिनमा पनि यो कोषमा वा अन्य कुनै तरिकाले थप सहयोग गरेर यहाँहरुको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’
यस्तै कार्यक्रमा बोल्दै विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष वीर बहादुर किसान र बाजुङ शैक्षिक प्रतिष्ठानका अध्यक्ष मनबहादुर क्षेत्रीले समाजसेवी गुरुङले विद्यार्थीको हितको लागि गरेको सहयोगको प्रसंसा गरे । आर्थिक समस्यामा रहँदा शैक्षिक सामग्रीहरु जुटाउन नै समस्या भोगिरहेका बालबालिकाहरुको अध्ययनमा छात्रावृत्तिले सघाएको भन्दै उनीहरुले ‘मिलन ग्रुप अफ नेपाल’ बाट आगामी दिनमा पनि सहकार्यको अपेक्षा गरिएको उनीहरुले बताए । विद्यालयका प्रधानाध्यापक याम पौडेलले समाजसेवी गुरुङले जस्तै गाउँका अन्य अभिभावकहरुले विद्यालयलाई सघाएमा बालबालिकाहरुलाई सहज हुने बताए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, अभिभावक, विद्यार्थी सहित स्थानीयको पनि सहभागिता रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष मानबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षक शारदा अधिकारी र सञ्चालन शिक्षक कृष्णराज सुवेदीले गरेका थिए । सोही अवसरमा फउण्डेसनकी अध्यक्ष गुरुङलाई विद्यालयको तर्फबाट दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो ।
बाजुङमै जन्मिएर हाल हङकङमा रहँदै आएको दुर्गा घोताने गुरुङ ‘मिलन’ ले मिलन फाउण्डेसन स्थापना गरेका हुन् । देश बाहिर रहे पनि देशभित्रका विभिन्न कार्यक्रममा सघाउँदै आएका उनले पर्वत जिल्ला सहित देशका अरु जिल्लामा पनि आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेका छन् । आफ्नो एकल लगानीमा सामाजिक सेवामा सक्रिय रहँदै आएका उनले आफ्नो कमाईको रकमलाई नै सामाजिक रुपमा खर्चिने गरेका हुन् । सोही अनुसार आफ्नै गाउँको विद्यालयमा विभिन्न सहयोग गरिरहेको साना बालबालिकाहरुको अध्ययनमा सघाउनको लागि अक्षयकोषको स्थापना गरिएको गुरुङले बताए । शिक्षा, स्वास्थ्य, मनोरञ्जन, कृषि, भौतिक पूर्वाधार लगायतका सामाजिक सेवामा सक्रियताका साथ काम गर्दै आइरहेको ‘मिलन ग्रुप आफ नेपाल’ का संयोजक दुर्गा घोताने गुरुङ ‘मिलन’ को भनाई छ ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive