पर्वत : गोरखामा नेकपा एमालेको चुनावी प्रचारप्रसार टोलीमाथि भएको आक्रमणमा एक जना घाइते भएका छन्।
प्रतिनिधि सभा २ मा चुनावी प्रचारप्रसार गरेर आइतबार राती रिसोर्टमा खाना खाँदै गरेको अवस्थामा एमालेका उम्मेदवार अब्दुस मियाको टोलीमाथि आक्रमण भएको हो। चुनावी प्रचार सकेर आएपछि पालुङटार नगरपालिका–७ मा रहेको म्याङ्गो रिसोर्टमा खाना खाँदै गरेको अवस्थामा पाँच जनाको समूहले आक्रमण गरेको हो।
उम्मेदवार मियाका अनुसार खाना खाँदै गरेको अवस्थामा आएका उनीहरूलाई एमालेका मान्छेहरूको नाम बोलाउँदै खोज्दै गरेका थिए। उनीहरूले आक्रमण गर्न थालेपछि आक्रमण रोक्ने प्रयास गर्दा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य हरि काफ्लेको टाउकोमा बियरको बोतल प्रहार भई उनी घाइते भएका छन्। टाउकोमा सात वटा टाँका लगाएर उनलाई थप उपचारको लागि राति नै काठमाडौँ पठाइसकिएको मियाले बताए।
‘म एउटा बैठकमा सहभागी हुनका लागि गएको थिएँ। साथीहरूले रिसोर्टमा खाना खाँदै गरेको बेलामा पाँच जनाको समूह आएका उनीहरूले नाम बोलाउँदै खोज्दै गरेछन्। हाम्रा साथीहरूमाथि आक्रमण सुरु भएपछि रोक्न जाने क्रममा काफ्ले जी को टाउकोमा चोट लागेको हो,’ सघनन्यूजसँगको कुराकानीमा उनले भने, ‘दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भन्ने खबर आएको छ। तर आक्रमण गर्ने मुख्य मान्छे नै फरार छन्। ती समातिएका त छेउछाउका मान्छे हुन्।’
गोरखामा अब्दुस मियाको टोलीमाथि बोतल आक्रमण, एक जना घाइते
कार्तिक २८, २०७९




