पर्वत : मतगणनाको सुरुवाती अवस्थामा नेपाली काँग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले लिड गरिरहेको पर्वत जिल्लामा पछिल्लो समयमा नेकपा एमालेका उम्मेदवार पदम गिरीले लिड गरिरहेका छन् ।
जोशीको लिड गरेको समयमा झन्डै पाँच सयको मतान्तर रहेकोमा गिरीले लिड गर्दा उनीहरूबिचको फरक १ हजार १५० रहेको छ । प्रतिनिधि सभामा दोस्रो पटक पनि प्रवेश गर्न चुनावी मैदानमा रहेका एमालेका केन्द्रीय सदस्य समेत रहेका गिरीलाई १९ हजार ९९८ मत पर्दा काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा यस अगाडि तीन पटक संसदमा छिरिसकेका जोशीलाई १८ हजार ८४८ मता परेका छन् ।
१२ जनाको प्रतिस्पर्धा रहेको प्रतिनिधि सभा सदस्य काँग्रेसका जोशी र एमालेका गिरीको प्रतिस्पर्धा नै सबैभन्दा रोचक छ । जोशी २०५६, २०६४ र २०७० सालका चुनाव जितेका नेता हुन् भने गिरीले २०७४ को निर्वाचनमा जोशीलाई पराजित गरेका थिए । एक त प्रतिनिधिसभा, अर्को दुवै जना अनुभवी र त्यसपछि दुवै जना दुई मुख्य राजनीतिक दलका उम्मेदवार भएकाले जिल्लावासीको ध्यान यी दुई जनामा केन्द्रित भएको हो । २०७४ सालको निर्वाचनमा पनि यी दुवै नेता चुनावमा होमिएका थिए । उक्त निर्वाचनमा गिरीले जोशीलाई १२ हजार ४५६ मतको अन्तरमा पराजित गरेका थिए । गिरीले ३९ हजार २७५ मत प्राप्त गर्दा जोशीले २६ हजार ८१९ मत प्राप्त गरेका थिए ।
प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका जालबहादुर पुर्जा २ हजार ८२४ मत सहित तेस्रो स्थानमा रहेका छन् । यस्तै हलोमा ७९६, तीरमा ४३, कुखुराको भालेमा १७१, घरमा ११३, करुवामा १०३, बच्चा लिएकी आमामा ७०, क्रस खुकुरीमा ४० र छात्रे टोपीमा १३ मत परेका छन् ।
प्रतिनिधि सभातर्फ हालसम्म ४३ हजार ३१९ मत गणना गर्दा ४१ हजार ७०० सदर र १ हजार ६१९ मत बदर भएका छन् ।
प्रदेशसभा सदस्यमा पनि गठबन्धन र एमालेकै उम्मेदवारबिच मुख्य प्रतिस्पर्धा भइरहेको छ । प्रदेशसभा ‘क’ मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुदीप कुँवर र नेकपा (एमाले) का भक्तबहादुर कुँवर प्रतिस्पर्धामा छन् । पछिल्लो विवरण अनुसार नेकपा (एमाले) का उम्मेदवार भक्तले नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुदिपलाई २ हजार ७४ मतले पछाडि पारेका छन् । भक्तको पक्षमा १५ हजार ५३४ मत आउँदा सूदीपको पक्षमा १३ हजार ४६० मत आएका छन् ।
प्रदेशमा नै प्रतिस्पर्धा गरिरहेका लौरोलाई ४४२, कुखुराको भालेलाई ३३४, हलोलाई २ हजार ६४७, घरलाई ८३, करुवालाई १ हजार ६४, बच्चा काखमा लिएकी आमालाई ५०१ र बिजुलीको चिमलाई १३० मत आएका छन् । यो क्षेत्रमा कुल ३५ हजार १४० मत गणना गर्दा ३४ हजार १९५ मत सदर र ९४५ मत बदर भएका छन् ।
प्रदेशसभा ‘ख’ मा गठबन्धनबाट नेपाली काँग्रेसका ऋषिकेश तिवारी र एमालेबाट मित्रलाल बस्याल चुनावी मैदानमा छन् । यो क्षेत्रमा पनि नेकपा (एमाले) का उम्मेदवार मित्रलाल बस्यालले नेपाली काँग्रेसका उम्मेदवार ऋषिकेश तिवारीलाई १ हजार ८९४ मतले पछाडि पारेका छन्। बस्यालले १३ हजार ७४८ मत पाउँदा तिवारीले ११ हजार ८५४ मत पाएका छन् ।
प्रदेशमा नै प्रतिस्पर्धामा रहेका लौरोले ३३४, तीरले १५९, हलोले ६०७, अन्तरापले ३३ र जेब्राले ५ मत पाएका छन्। कुल २७ हजार ३८७ मतको गणना सकिँदा २६ हजार ७४० मत सदर र ६४७ मत बदर भएका छन् ।
यस पटक पर्वतमा ५५ प्रतिशत मत खसेको छ । पर्वतको कुल मतदाता सङ्ख्या १ लाख २२ हजार ६ सय ४९ मध्ये ६६ हजार २ सय ७३ मत खसेका हुन् । अब कुश्मा नगरपालिकाका १८, फलेवास नगरपालिकाका १७ र मोदी गाउँपालिकाका ७ वटा गरी ४२ वटा मतपेटिकामा रहेका मतको गणना बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।