बिहिबार, चैत्र १३, २०८१
Thursday, March 27, 2025

पर्वत निर्वाचन : प्रतिनिधि र प्रदेशका सबै सिटमा एमालेको जीत

पर्वत : प्रतिनिधि सभाका लागि एक र प्रदेश सभा सदस्यमा दुई गरी तीन जना सांसद चुनिने पर्वतका तीनै वटा सिटमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् ।
बिहीबार बिहान सम्पन्न भएको मतगणनाको परिणाम अनुसार प्रतिनिधि सभामा एमालेका उम्मेदवार पदम गिरीले सत्तारुढ गठबन्धन अन्तर्गत नेपाली काँग्रेसका उम्मेदवार अर्जुन प्रसाद जोशीलाई २ हजार २ सय ६३ मतको अन्तरले पराजित गरेका छन् । खसेका कुल मत ६६ हजार २२६ मध्ये गिरीले २९ हजार ८७२ मत पाउँदा जोशीले २७ हजार ६०९ मत पाएका छन् ।
जीतसँगै एमालेका केन्द्रीय सदस्य समेत रहेका गिरीले दोस्रो पटक पनि संसदीय यात्रा तय गरेका छन्। २०७४ सालको निर्वाचनमा पनि गिरी र जोशी नै आमनेसामने भएका थिए । त्यो बेलामा गिरीले जोशीलाई १२ हजार ४५६ मतको अन्तरमा पराजित गरेका थिए। गिरीले ३९ हजार २७५ मत प्राप्त गर्दा जोशीले २६ हजार ८१९ मत प्राप्त गरेका थिए ।
पहिलो पटक २०५६ सालको संसदीय निर्वाचनमा पर्वत क्षेत्र नं. १ बाट विजयी बनेका जोशी संविधानसभा निर्वाचन २०६४ मा तत्कालीन नेकपा माओवादीकी उम्मेदवार मनरुपा सुवेदी र २०७० मा पनि माओवादीकै उम्मेदवार नेत्र अधिकारीलाई पराजित गर्दै लगातार तीन पटकसम्मको संसदीय निर्वाचनमा ‘ह्याट्रिक’ गर्न सफल भएका थिए । २०७४ सालको निर्वाचनमा चौथो र अहिले पाँचौँ पटक संसदीय निर्वाचनमा होमिएका जोशीले दोस्रो पटक संसदीय निर्वाचनमा होमिएका गिरीसँग फेरि पनि पराजित हुनु परेको छ ।
प्रदेशसभा ‘क’ मा एमालेका उम्मेदवार भक्त बहादुर कुँवरले नेकपा (माओवादी केन्द्र) उम्मेदवार सुदीप कुँवरलाई २ हजार ३३९ मतको अन्तरले पराजित गरेका छन् । भक्तलाई १६ हजार ८१ मत प्राप्त हुँदा सूदीपको पक्षमा १३ हजार ७४२ मत परेका छन् ।
यस्तै प्रदेशसभा ‘ख’ मा पनि एमालेका उम्मेदवार मित्रलाल बस्यालले नेपाली काँग्रेसका उम्मेदवार ऋषिकेश तिवारीलाई १ हजार ९२२ मतको अन्तरले पराजित गरेका छन् । बस्यालले १४ हजार १३२ मत पाउँदा तिवारीले १२ हजार २१० मत पाएका छन् ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा प्रदेश सभा ‘क’ मा नेकपा (माओवादी केन्द्र) का नेत्रनाथ अधिकारी र प्रदेश सभा ‘ख’ मा एमालेका विकास लम्साल विजयी भएका थिए ।
यस पटक पर्वतमा ५५ प्रतिशत मत खसेको थियो । पर्वतको कुल मतदाता सङ्ख्या १ लाख २२ हजार ६ सय ४९ मध्ये ६६ हजार २ सय ७३ मत खसेका हुन् ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive