पर्वत : नेपाल पत्रकार महासंघ पर्वत शाखाको १२ औँ साधारण सभा सम्पन्न भएको छ । खबर सङ्कलन शिविर कार्यक्रम सहित जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरको डाँडाखर्कमा पुगेको महासंघले सोही स्थानमा साधारण सभा पनि सम्पन्न गरेको हो।
साधारण सभाले सचिव राजबाबु पि.सी.द्धारा प्रस्तुत साङ्गठनिक तथा प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष डिलबहादुर बि.क द्धारा प्रस्तुत आर्थिक प्रतिवेदन २०७९ सर्वसम्मत रुपमा पारित गरेको छ। आफ्नो कार्य विवरण प्रस्तुत गर्दै शाखाका अध्यक्ष सन्तोष थापाले आफूले शाखाको नेतृत्व सम्हालेको २१ महिना अवधिमा गरेका काममा सघाउनेहरुप्रति धन्यवाद ज्ञापन गरे। शाखाले कोभिड–१९ महामारीको बेलामा नेतृत्व लिएर सञ्चारकर्मीहरुका गुनासा र दुखेसालाई सकेसम्म हल गर्ने प्रयास गरेको बताए। सञ्चारकर्मीलाई लक्षित गरेर आइसोलेसन कक्षको निर्माण, स्वास्थ्य सामग्रीको व्यवस्थापन, अक्सिजनको व्यवस्थापन, सञ्चारमाध्यमहरुको सवलीकरणका साथै लोककल्याणकारी विज्ञापनको व्यवस्थापनमा एकद्धारा नीतिका साथमा गरिएका कामहरु महत्वपूर्ण रहेको उनको भनाई थियो।
शाखाले १२ औँ साधारण सभासम्मको मुख्य उपलब्धिलाई पाँच बुँदामा समेटेको छ। जसमा कोभिड महामारीको बेलामा सञ्चारकर्मीहरुको लागि व्यवस्थापन गरिएको आइसोलेसन र त्यहाँ आवश्यक पर्ने स्वास्थ्य सामग्री, पत्रकारहरुको पहिचान देखाउने ज्याकेट र परिचय पत्र, महासंघको पहलमा कृषि ज्ञान केन्द्र पर्वतको गत आर्थिक वर्षको र्साजनिक सुनुवाई, बिज्ञापन प्रणालीलाई व्यवस्थित बनाउन सञ्चार माध्यम र स्थानीय तह तथा सरकारी कार्यालयहरुकोबिचमा खेलेको समन्वयकारी भूमिका र सञ्चारमाध्यमको सवलीकरणका लागि सञ्चार उद्यमीहरुको भेला कार्यक्रम रहेका छन्।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य छविलाल तिवारीको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा प्रेस काउन्सिल नेपालकातर्फबाट हरिओम शर्मा लामिछाने, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारी र बरिष्ठ उपाध्यक्ष ठाकुर बी. पौडेल, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रिय अध्यक्ष राजेन्द्र पहाडी, वडाध्यक्ष रुद्रमोहन रिमाल, नेपाल पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्षद्धय ओमप्रसाद घायल र दुर्गा प्रसाद शर्मा, प्रेस चौतारीका केन्द्रिय सदस्य गणेश पौडेल, समाजवादी प्रेस सङ्गठन गण्डकी प्रदेशका संयोजक गणेश पौडेल, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्यद्धय माया अधिकारी र साजन परियार, जिल्लामा सक्रिय रहेका सञ्चारककर्मीहरुका पेसागत संघ तथा सङ्गठनका प्रमुखहरु, जिल्लाका बिभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।
सोही कार्यक्रमको अवसर पारेर पत्रकार शिला पाण्डेले पत्रकार महासंघ पर्वत शाखामा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेकी छिन्। उनले पति स्व.पत्रकार महेन्द्र के.सी.को पूण्य तिथीको अवसर पारेर ‘महेन्द्र के.सी स्मृति अक्षयकोष’ स्थापना गरेकी हुन्। उक्त अक्षयकोषबाट आउने ब्याज रकमबाट जिल्लामा सक्रिय पत्रकारलाई वार्षिक रुपमा सम्मान गर्ने पत्रकार महासंघ पर्वत शाखाले बताएको छ।
शाखाका अध्यक्ष सन्तोष थापाको अध्यक्षतामा भएको साधारण सभाको सञ्चालन सचिव राजबाबु पि.सी ले गरेका थिए। ‘खबर सङ्कलन शिविर’ कार्यक्रमका लागि कुश्मा नगरपालिकाले सहयोग गरेको थियो। उक्त कार्यक्रममार्फत बिभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले आर्थर क्षेत्रमा रहेका पर्यटकीय सम्भावना, मठ मन्दिर तथा गुम्बा, गाउँको अवस्था, विकासको गति, त्यहाँका बासिन्दाको दैनिकी, कृषि, भौतिक पूर्वाधार, होमस्टे प्रर्वद्धनका लागि प्रचारप्रसार लगायतका सामाचार सामग्रीहरु सङ्कलन गरेका छन्। स्थानीयवासीहरुसँग गरिएका अन्तरक्रिया कार्यक्रमहरुमा आर्थरमा रहेका समस्या र सम्भावनाको विषयमा स्थानीयवासीले पत्रकारहरुलाई जानकारी दिएका थिए।
खबर सङ्लन शिविर सहित पत्रकार महासंघ पर्वतको १२ औँ साधारण सभा सम्पन्न
