पर्वत : सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएको डिल्लीराम लामिछाने प्रतिष्ठानद्धारा फलेवास नगरपालिकाको एक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारी घर भई सामाजिक सेवा र नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका तथा कुश्मा नगरपालिकार्की निवर्तमान उपप्रमुख सीता काफ्ले लामिछानेका स्वर्गीय पति डिल्लीराम लामिछानेको स्मृति दिवसको अवसरमा फलेवास नगरपालिका–४ मुडिकुवामा रहेको शारदा आधारभूत विद्यालयका ५२ जना विद्यार्थीहरुलाई सहयोग गरिएको हो ।
स्वर्गीय लामिछाने सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदा विद्यार्थीहरुलाई राम्रो वातावरण निर्माण गर्न सके शिक्षामार्फत समृद्धिको बाटोमा जाने भन्दै विद्यालय अभियानमा जोडिने गरेका थिए । उनको सपना साकार पार्नका लागि विद्यालयमा सहयोग गर्नु उपयुक्त हुने भएकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गरिएको प्रतिष्ठानले बताएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले सामाजिक सहयोगका लागि फलेवास नगरपालिकालाई रोजेकोमा प्रतिष्ठानप्रति धन्यवाद व्यक्त गरे । स्वर्गीय लामिछानेले आफ्नो समयमा गरेको सामाजिक कामले अहिले पनि सबैलाई प्रेरणा मिलेको भन्दै उनले स्वर्गीय लामिछानेको दिवङ्गत आत्माको चिर शान्तिको कामना व्यक्त गरे । अर्को प्रसङ्गमा बोल्दै उनले आफूले स्थानीय तहको निर्वाचनको बेलामा जनताको अगाडि गरेका बाचा पूरा गर्नको लागि प्रतिबद्ध रहेको बताउँदै केही कामहरु सुरु गरिसकिएको उल्लेख गरे ।
प्रतिष्ठानका संरक्षक तथा स्वर्गीय लामिछानेकी धर्मपत्नी सिता काफ्ले लामिछानेले श्रीमानसँगको १४ वर्षको जीवनयात्रामा निकै राम्रा असल संस्कारहरु सिक्न पाएको बताईन । समाजको प्रिय पात्रको रुपमा रहँदा रहँदै पनि दिवङ्गत हुनुले परिवार, आफन्तजन र समाज नै स्वर्गीय लामिछानेको अभावमा रहेको महसुस आफूले गरेको उनको भनाई छ । स्वर्गीय लामिछाने सिमित सपना बोकेर हिँड्ने व्यक्ति भएकाले मोक्ष प्राप्तीका लागि भन्दा पनि समाजसँगको सामीप्यतालाई कायमै राख्नको लागि विद्यार्थी र विद्यालयसँग जोडिएको काफ्लेको भनाई छ । विद्यालय क्षेत्रको विकासबाट नै नागरिकको चेतना स्तरको बृद्धि गर्न सकिने भएकाले अबका विद्यालयहरु स्मार्ट हुनुपर्ने उनको धारणा छ ।
यस्तै प्रतिष्ठानका उपसभापति रही न्यानो कपडा वितरण कार्यक्रमकाका अध्यक्ष रहेका जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले स्वर्गीय लामिछाने शालिन र भद्र स्वभावका सामाजिक रुपान्तरणका लागि लडिरहेका एक योद्धा रहेको बताए । उनको सपना पूरा गर्नकै लागि प्रतिष्ठान स्थापना गरेर विभिन्न कायर्मक्रमहरुको आयोजना गर्ने गरेको उनको भनाई छ ।
कार्यक्रममा मन्तब्य राखेका जिल्ला समन्वय समिति पर्वतकी सदस्य निर्मला कुमारी शर्मा, मुडिकुवाका वडाध्यक्ष अच्युत तिवारी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष टुकनाथ सापकोटा, पूर्व प्रधानाध्यापक नरनाथ सापकोटा लगायतले पनि स्वर्गीय लामिछानेको स्मरण गर्दै उनले समाजका लागि गरेको योगदानको प्रशंसा गरे ।
यस्तै विद्यालयका प्रधानाध्यापक ईन्द्रप्रसाद सापकोटाले डिल्लीराम लामिछाने प्रतिष्ठानले सामाजिक सेवाको काम अन्तर्गत आफ्नो विद्यालयलाई छनोट गरेकोमा संस्थाप्रति धन्यवाद प्रकट गरे । ग्रामिण क्षेत्रका बालबालिकाहरुको अवस्थालाई सहज गराउने गरी गरेको सहयोगले बालबालिकाहरुको दैनिकीमा सहज हुने उनको भनाई थियो । अर्को प्रसङ्गमा उनले विद्यालयमा निर्माण गर्न लागिएको सरस्वतीको मन्दिर र विज्ञान प्रयोशशालाका लागि फलेवास नगरपालिकाले दिएको अनुदानप्रति पनि आभार व्यक्त गरे ।
कार्यक्रममा कुश्मा नगरपालिका–८ चुवाका वडाध्यक्ष सुरेन्द्र के.सी, कुश्मा नगरपालिका–४ का निवर्तमान वडाध्यक्ष मिना कर्माचार्य, समाजसेवी गोपाल पौडेल, बालकृष्ण शर्मा लगायतको पनि सहभागिता रहेको थियो । प्रतिष्ठानका सदस्य हिरामणी सापकोटाको स्वागत मन्तब्य रहेको कार्यक्रममा स्वर्गीय लामिछानेको जीवनीको बारेमा प्रतिष्ठानका सदस्य केशवदास बैरागीले प्रस्ट पारेका थिए । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव बिषमकुमार श्रेष्ठले गरेका थिए । स्वर्गीय डिल्लीराम लामिछानेको २०७२ सालको पुष १२ गते निधन भएको थियो ।