पर्वत : पर्वतको कुश्मा नगरपालिकाको आयोजनामा भएको ‘राष्ट्रपति रनिङ शिल्ड’ नारायण माध्यमिक विद्यालयले जितेको छ ।
नगरपालिकाभित्रका १८ वटा सामुदायिकतर्फका माध्यमिक, सात वटा निजीतर्फका माध्यमिक र एउटा सामुदायिकतर्फको आधारभूत विद्यालय गरी २६ वटा विद्यालयहरुबीच भएको प्रतिस्पर्धामा विजेता बनेको नारायण मा.वि.ले १२ स्वर्ण, छ रजत र ९ कास्य गरी कुल २७ पदक आफ्नो पक्षमा पारेका छ । तीन किलोमिटर लामो छात्रा दौड, आठ सय मिटर छात्र दौड, चार सय मिटर छात्र र छात्रा दौड, ४x१०० मिटरको छात्रा रिले, ४x४०० मिटरको छात्र र छात्रा रिले, छात्रा कबड्डी, छात्रा हाई जम्प, ४४ के.जी मुनिको छात्रा तेक्वान्दो, ४२ के.जी मुनिको छत्रा तेक्वान्दो तथा ४२ के.जी मुनिको छात्रा तेक्वान्दोमा नारायण मा.वि.ले स्वर्ण पाएको हो ।
दोस्रो भएको नमुना अङ्ग्रेजी आवासीय मा.वि.ले सात स्वर्ण, चार रजत र तीन कास्य सहित कुल १४ पदक पाएको छ। नमुनाले छात्र सट पुट, १०० र २०० मिटर छात्र दौड, छात्रातर्फको ज्याभलिङ थ्रो, छात्र कबड्डी, छात्र हाई जम्प, ५१ के.जी मुनिको छात्र तेक्वान्दोमा स्वर्ण पदक पाएको छ ।
प्रतियोगितामा छ स्वर्ण, १० रजत र छ कास्य गरी २२ पदक सहित शिवालय माध्यमिक विद्यालय तेस्रो स्थानमा आएको छ । शिवालयले छात्रा लङ जम्प, छात्रा त्रिपलजम्प, छात्र लङ जम्प, ४५ के.जी मुनिको छात्र तेक्वान्दो तथा ४६ र ४८ के.जी मुनिको छात्रा तेक्वान्दोमा जीत निकालेको छ । सान्त्वना स्थानमा पाँच स्वर्ण र चार रजत गरी नौ पदक सहित पर्वत गुरुकुल एकेडेमी आएको छ। गुरुकुलले ४० के.जी. मुनिको छात्रा कराँते, ५० के.जी मुनिको छात्रा कराँते, ४२, ४७ र ५२ के.जी मुनिको छात्र कराँतेमा स्वर्ण पाएको हो ।
बिजेता बनेका बिद्यालयहरुलाई कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, उपप्रमुख स्वस्थानी रिजाल, सामाजिक विकास समितिका संयोजक ईश्वर गिरी, नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ, शिक्षा शाखाका प्रमुख बिष्णुप्रसाद तिवारी, कार्यालयका अधिकृत ध्रुव शर्मा, शिक्षा अधिकृतहरु दीपक सुवेदी, अर्जुन पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरुङ लगायतले संयुक्त रुपमा शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रकम हस्तान्तरण गरे ।
सो अवसरमा बोल्दै नगरप्रमुख जोशीले नगरपालिकाले बिद्यार्थीहरुको हौसलाको लागि लगातार तीन वर्ष खेल जीत्ने बिद्यालयलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउँदा बिद्यार्थीहरुलाई प्रेरणा मिल्ने बताए । कुश्मा नगरपालिकाले पहिलो पटक ‘रनिङ शिल्ड’ आयोजना गरेको र यस पटकको सिकाईबाट आगामी वर्षमा अझै व्यवस्थित रुपमा खेल सञ्चालन गर्न नगरपालिका प्रतिबद्ध रहेको पनि उनको भनाई थियो ।
खेलमा कालीगण्डकी एकेडेमीले तीन, काफलचौर मा.वि.ले दुई तथा पञ्चकोशी मा.वि., सूर्यप्रकाश मा.वि र हिमालय मा.वि.ले एक÷एक स्वर्ण पदक पाएका छन् ।
‘रनिङ शिल्ड’ को विजेता बनेको सदरमुकाम कुश्मा बजारको नारायण मा.वि.ले जीतसँगै नगद ५१ हजार १११ रुपैयाँ सहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । यस्तै द्वितीय, तृतीय र सान्त्वना स्थानमा आएका नमुना, शिवालय र पर्वत गुरुकुलले क्रमशः ३१ हजार १११, २१ हजार १११ र ११ हजार १११ रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।
कुश्मा नगरपालिकाले लगातार तीन पटक ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता जित्ने विद्यालयलाई पाँच लाख रुपैयाँ पुरस्कारको घोषणा गरिसकेको छ । खेलका माध्यमबाट स्वस्थता र अनुशासन प्राप्त हुने भएकाले विद्यालयलाई खेलप्रति आकर्षित गराउन उक्त घोषणा गरिएको हो ।
सामुदायिक विद्यालयमा खेलका लागि भनेर छुट्टै बजेट नजाने भएका कारण विद्यालयले खेलमा सहभागिता जनाउन आनाकानी गर्ने गरेका छन् । विद्यार्थीहरूलाई खेल स्थानसम्म लैजाने र ल्याउने, उनीहरूको खाना, खाजा, औषधोपचार, जर्सी लगायत व्यवस्थापनका लागि खर्च गर्ने रकम विद्यालयमा नहुने भएकाले कतिपय विद्यालय प्रतियोगितामा सहभागी हुँदा ऋणमा समेत पर्ने गरेका छन् ।
यही अवस्थालाई हेरेर नगरपालिकाले भने विद्यार्थीलाई खाजा र यातायातका लागि सहभागी भएको खेलअनुसार आर्थिक सहयोग पनि गर्दै छ । सदरमुकाम समेत रहेको कुश्मा बजारबाट औसतमा दूरीको हिसाबले विद्यालयलाई तीन भागमा विभाजन गरेर उक्त रकम उपलब्ध गराइने छ । कुश्मा बजारमै पर्ने वडा नं. ४, ५, ६ र ७ का विद्यालयबाट सहभागी हुने खेलाडी विद्यार्थीले एक खेलमा सहभागिता जनाउँदा चार सय रुपैयाँ तथा अन्य खेलमा पनि सहभागी भएमा प्रतिखेलमा थप दुई सय रुपैयाँ पाउनेछन् ।
यसै नियमअनुसार वडा नं. १२, १३ र १४ का विद्यार्थीले सात रुपैयाँ र थप ३५० तथा वडा नं. १, २, ३, ८, ९ र १० का विद्यार्थीहरूले एक खेलमा पाँच सय रुपैयाँ दरले र थप खेलमा २५० रुपैयाँका दरले खर्च पाउने छन् ।