पर्वत : नेपालको पहिलो बैंकका रुपमा रहेको नेपाल बैंकले बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
कुश्माकै पहिलो गुप्तेश्वर बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा बैंकका प्रबन्धक लगायत कर्मचारीहरुले बित्तिय ज्ञानबारे जानकारी गराएका हुन् । यहि ६ देखि १२ चैतसम्म सञ्चालन भएको (विश्वव्यापी मुद्रा सप्ताह) ‘ग्लोबल मनी विक’ का अवसरमा बैंकले बित्तिय साक्षरता अभियान सञ्चालन गरेको हो । क्याम्पसप्रमुख, प्राध्यापक तथा व्यवस्थापन, शिक्षाशास्त्र तथा मानविकि विषयमा अध्ययनरत विद्यार्थीहरुलाई बित्तिय ज्ञान, बिभिन्न शिर्षकका कर्जा लिन पाउने अवस्था, नोटको सुरक्षा तथा हिफाजत, मोबाइल बैंङ्कीङ, डिजिटल बैंङ्कीङ, कागजबिहिन आर्थिक कारोबार लगायतका बारेमा जानकारी गराइएको थियो ।
बैंकका सहायक प्रबन्धक रमाकान्त बास्तोलाले बैंकले प्रदान गर्ने कर्जाको शिर्षक, कुन अवस्थामा कस्तो कर्जा लिन सहज हुन्छ, कस्तो कर्जाले ग्राहक र बैंक दुबै पक्षलाई फाइदा पुग्छ लगायतका विषयमा जानकारी गराउनुभएको थियो । अर्का सहायक प्रबन्धक प्रज्ञा पाण्डेले डिजिटल बैंङ्कीङका विषयमा जानकारी गराउनुभएको थियो । बैंकका खजाञ्ची विश्वप्रकाश शर्माले नोटको सुरक्षाबारे जानकारी गराउनुभएको थियो ।
सहायक कर्मचारी गणेश शर्माले मोबाइल बैंङ्कीङका बारेमा जानकारी गराउनुभयो । बरिष्ठ सहायक कर्मचारी भोलानाथ शर्माले सञ्चालन गरेको कार्यक्रममा बैंकका प्रबन्धक प्रकाश पोख्रेलले बैंकको कुश्मा शाखाले सञ्चालन गरेका बित्तिय गतिविधि र कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । क्याम्पसप्रमुख सुभाष पन्तले नेपाल बैंकले पर्वतका कुनाकाप्चामा पुगेर सर्वसाधारणलाई दिएको सेवा जस्तै क्याम्पसमा सञ्चालन गरेको बित्तिय साक्षरता कार्यक्रमले धेरै ज्ञान हासिल गर्न मद्धत पुगेको बताउनुभयो ।
गुप्तेश्वर क्याम्पसका स्वबियु सभापति सतिश रेग्मीले सरकारी स्वामित्वमा सञ्चालित नेपाल बैंकमा खाता खोलेर कारोबार गर्न सबै विद्यार्थीलाई आग्रह गरे । रेग्मीले सामान्य बित्तिय ज्ञान समेत नभएको अवस्थामा बैंकले सञ्चालन गरेको साक्षरता कार्यक्रमले धेरै कुराको ज्ञान हासिल गर्ने अवसर मिलेको बताए । ‘प्लान योय मनि, प्लान्ट योर फ्यूचर’ भन्ने नाराका साथ बित्तिय साक्षरता कार्यक्रम सञ्चालन भएको हो ।





