बुध, जेष्ठ १, २०८२
Wed, May 14, 2025

झण्डै साढे चार सय महिलालाई महिला संघ पर्वतको प्रशिक्षण

चैत्र १८, २०७९

पर्वत : महिलाहरुको नेतृत्व र क्षमता विकासका लागि नेपाली काँग्रेस निकटको नेपाल महिला संघले जिल्लाका बिभिन्न स्थानीय तहका करिब साढे चार सय महिलाहरुलाई प्रशिक्षण दिएको छ ।
नेपाल महिला संघ स्थापना काल देखि नै महिलाहरुलाई हक अधिकार सम्पन्न, सक्षम, लैङ्गिक विभेदरहित समतामुलक समाज निर्माण गर्न बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेको यस वर्ष प्रशिक्षण सम्पन्न गरिएको संघ पर्वतकी सभापति मुना शर्मा लामिछानेले बताइन्।
संघको गत कात्र्तिक १४ गते बसेको बैठकको निर्णय अनुसार संगठन निर्माण सँगै पर्वत जिल्ला भरका करिब पाँच सय जना महिला नेताहरुलाई प्रशिक्षण दिने उद्धेश्य राखिएको थियो। संघको ७५ औ स्थापना दिवसको अवसर पारेर प्रशिक्षणको सुरुवात गरिएको थियो।
सभापति लामिछानेका अनुसार मोदी गाउँपालिकाका ३५ जना, जलजला गाउँपालिकाका ८१ जना, बिहादी गाउँपालिकाका ६५ जना, पैयुँ गाउँपालिकाका ९० जना, कुश्मा नगरपालिकाका ९५ जना, महाशिला गाउँपालिकाका २८ जना र फलेवास नगरपालिकाका ३५ जना गरी चार सय २९ जना महिला कार्यकर्ताहरुलाई प्रशिक्षण दिइएको हो। प्रशिक्षणमा भाषणकला, उदघोषण, माइनुट लेखन, पालिकाहरुमा महिला लक्षित कार्यक्रम र बजेटमा महिलाहरुको पहुँच विस्तार, महिला हिंसा, आधुनिक समाजमा थपिएको हिंसा र विभेद, साईवर अपराधको पहिचान, प्रतिवाद, कानुनी उपचार लगायतका बारेमा सिकाइएको छ।
यस्तै सचेतना, नेपाली काँग्रेस भित्र र समग्र नेपालको राजनीतिमा महिलाहरुको योगदान, वर्तमान अवस्था, समान भूमिका र निर्णायक सहभागिता लगायतका बारेमा पनि उनीहरुलाई प्रशिक्षण दिइएको छ। प्रमुख प्रशिक्षक नेपाल महिला संघ पर्वतको सभापति एवं नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि मुना शर्मा लामिछानेका साथै महिला संघ पर्वतबाट खटिएका नेताहरुले प्रशिक्षण दिइएको हो।
महिलाहरुको शशक्तिकरणको पक्षमा पर्वत जिल्लामा पहिलो वृहत, संगठित र प्रवाभकारी यो अभियानले महिलाहरुमा आफ्नो अधिकारको ज्ञान, राजनीतिक सचेतना, समतामुलक समाज निर्माणको लागि उर्जा, क्षमता अभिवृद्धिको अवसर उत्साह सहित पर्वतको इतिहासमा महिला आन्दोलनमा एउटा नयाँ आयाम र उचाई प्राप्त गरेको सभापति लामिछाने बताउँछिन्। आगामी दिनमा पनि सांगठनिक राजनीतिक विषय संगै महिलाहरुको हक हित र क्षमता अभिवृद्धि र सामाजिक जिम्मेवारीहरुमा थप क्रियाशिल हुने उनको भनाई छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive