शनि, जेष्ठ ४, २०८२
Sat, May 17, 2025

पर्वत अस्पतालको ओपिडिमा निशुल्क सेनीटरी प्याड उपलब्ध

चैत्र २५, २०७९

पर्वत : जलजला गाउँपालिकाको आर्थिक सहयोगमा पर्वत अस्पतालमा सेनीटरी प्याड वितरण गर्ने भेण्डीङ मसिन जडान गरिएको छ ।
अस्पतालको ओ.पि.डी (आउटप्यासेन्ट डिपार्टमेन्ट) मा स्वास्थ्य परीक्षणका लागि आउने महिला बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’ को सुविधा दिनको लागि मसिन जडान गरिएको हो । भर्ना भएर बसेका बिरामी तथा उनीहरूका कुरुवाले आफूलाई आवश्यक सामग्रीको व्यवस्थापन आफैले गर्ने भए पनि ओ.पि.डी. मा आएका महिलाले ‘प्याड’ बोकेर नआउने र अचानक महिनावारी हुँदा समस्या हुने भएकाले यो व्यवस्था गरिएको हो ।
अस्पतालले सहयोगका लागि जलजला गाउँपालिकामा प्रस्ताव गरेकोमा गाउँपालिकाको गाउँ सभाबाट निर्णय गरेर दुई लाख रुपैयाँ उपलब्ध गराएपछि यो सुविधा थप गरिएको हो । मसिनको कुश्मा नारी समूह अध्यक्ष अनिता सापकोटा चापागाईं, धौलागिरी बहुउद्धेश्यीय महिला विकास अध्यक्ष सरस्वती श्रेष्ठ र शिसेफ महिला समूहकी कार्यवहाक अध्यक्ष विजया जोशीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।


कार्यक्रममा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीले अस्पतालमा भौतिक विकास र सुबिधा पनि राम्रा रहेकाले नागरिकको विश्वास जितिरहेको बताए । १५ शय्या क्षमताको अस्पताललाई ५० शय्या क्षमताको अस्पतालको रुपमा विकास गर्दा जनशक्तिको अभाव रहेकाले कहीँलेकाही गुनासाहरु आउने गरेको पनि बताए । सरकारले आवश्यक जनशक्तिको व्यवस्था नगर्दा थोरै जनशक्तिबाट धेरै सेवा प्रवाहको प्रयास गरिरहेको उनको भनाई छ । अस्पतालमा उपलब्ध रहेका सेवाहरुलाई निरन्तरता दिन सके मात्रै अस्पताल नागरिकले सम्झन लायकको हुने भनाई राख्दै अध्यक्ष गिरीले जनशक्ति थप गर्न र स्रोतको व्यवस्थापनको लागि सरोकारवाला निकायहरुमा समन्वय भइरहेको पनि जानकारी दिए ।


कार्यक्रममा स्वागत मन्तब्य राख्दै अस्पतालकी निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. रुक्मिना अधिकारीले गाउँपालिकाले उपलब्ध गराएको रकमबाट आगामी एक वर्षका लागि ‘सेनीटरी प्याड’ निःशुल्क दिन सकेमा अर्को वर्षका लागि स्थानीय तहहरूमा प्रस्ताव गर्ने देखि बाह्य सहयोगीहरू खोजेर भए पनि निरन्तरता दिइने बताईन । सामान्य बिरामी भएको अवस्थामा गाउँमा रहेका स्वास्थ्य संस्थाबाट सेवा लिने भए पनि त्यो भन्दा ठूलो बिरामी भएको बेलामा उपचारका लागि आउने पर्वत अस्पताल नै भाएकोले अस्पतालमा सेवा सुबिधा थप गर्न आफूहरु प्रयासरत रहेको उनको भनाई छ ।
कार्यक्रम भनाई राखेका कुश्मा नारी समूह अध्यक्ष अनिता सापकोटा चापागाईं, धौलागिरी बहुउद्धेश्यीय महिला विकास अध्यक्ष सरस्वती श्रेष्ठ र शिसेफ महिला समूहकी कार्यवहाक अध्यक्ष विजया जोशीले अस्पतालले प्रभावकारी सेवा दिनका लागि गरिरहेको प्रयासप्रति धन्यवाद व्यक्त गर्दै थप व्यवस्थापनका लागि पनि सुझाव राखे ।
पर्वतकै केही व्यक्तिहरूले निर्माण गरेको र सिक्का (कोइन) खसालेपछि ‘प्याड’ निस्किने ‘म्यानुअल’ खालको ‘भेन्डर मसिन’ (सेनीटरी प्याड राखिने उपकरण) भएकाले पनि गाउँपालिकाले दिएको रकमबाट एक वर्ष सेवा दिन सकिने छ ।
अस्पताल विकास समितिका अध्यक्ष गिरीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन मेडिकल रेकर्डर प्रकाश सुवेदीले गरेका थिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive