मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026

कार्यक्रमहरू व्यवस्थित गर्न पैयुँमा जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण

बैशाख २, २०८०

पर्वत : गाउँपालिकाले सञ्चालन गरिरहेका विभिन्न कार्यक्रमहरूलाई जनतामुखी बनाउँदै थप व्यवस्थित बनाउनको लागि पैयुँ गाउँपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता, भि.पि.एन व्यवस्थापन र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रहेर अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो। गाउँपालिकाबाट उपलब्ध हुँदै आएका रोजगारीहरुको सूचीकरण र तिनीहरूको लागि आवश्यक समन्वय, सामाजिक सुरक्षाको व्यवस्थापन, सेवालाई नागरिकमैत्री बनाउने, लगत कट्टा गर्ने, पञ्जीकरण, भर्चुअल प्राइभेट नेटवर्कको व्यवस्थापन लगायतका विषयमा गाउँ कार्यपालिकाका सबै सदस्यहरू तथा वडा सचिवहरूलाई अभिमुखीकरण गरिएको हो।
अभिमुखीकरणमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण सेवा इकाईका कर्मचारी मुकुन्द गौतम, प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक सञ्जीव ढकाल लगायतले सहभागीहरूलाई प्रवाह तथा कार्यान्वयन हुँदै आएको सेवाको बारेमा जानकारी गराउँदै तिनीहरूको प्रभावकारिताको लागि आगामी दिनमा गर्न सकिने कार्यहरूको बारेमा जानकारी गराएका थिए।
बेरोजगारीको समस्या कायमै रहेको बेलामा गाउँपालिकाभित्र उपलब्ध रहेका रोजगारीका अवसरहरूमा सकेसम्म नागरिकलाई स्थान दिनु, गाउँपालिकाका हरेक वडाले सामाजिक सुरक्षा भत्तालाई बैङ्कमार्फत भुक्तान गर्नु, व्यक्तिगत घटना दर्तालाई अनलाइनमार्फत सञ्चालन गरिनुको परिणामका विषयमा कार्यक्रममा छलफल समेत भएको थियो।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी (राज) ले गाउँपालिकाले सञ्चालन गरिरहेका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयनमा रहेको बताउँदै थप सुधारका लागि पनि गाउँपालिका तयार रहेको बताएका छन्। नागरिकले सहज र सरल तरीकाले गुणस्तरीय सेवा पाउन सकुन् भन्ने उद्देश्य राखेर नै गाउँपालिकाले विभिन्न निर्णय गरेको भन्दै उनले ती निर्णयको प्रभावकारी कार्यान्वयनको भूमिकामा नागरिक पनि प्रमुख हुने बताए।


गाउँपालिकाकी उपाध्यक्ष यामकुमारी रानाले अभिमुखीकरण सिकेका कुरालाई वडा सचिव र कार्यपालिका सदस्यहरूका माध्यमबाट सूचनाका रूपमा नागरिकमा पुग्ने विश्वास व्यक्त गरिन्। कुनै पनि विषयका बारेमा जनप्रतिनिधि र कर्मचारी पहिले नै जानकार रहन नसके उनीहरूले सम्पादन गर्ने काम पनि प्रभावकारी नहुने भएकाले सामाजिक सुरक्षा, व्यक्तिगत घटना दर्ता लगायतका विषयमा सबैले जानकारी लिनुपर्ने उनको भनाई थियो।
यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ताका विषयमा नागरिकलाई जानकारी दिएर नागरिकलाई यसको सरल पहुँच हुनुपर्ने बताए। पञ्जीकरण गर्नु राज्यका लागि गरिदिएको काम नभई नागरिक स्वयंका लागि महत्त्वपूर्ण पक्ष रहेको उनको भनाई छ। अनलाइन प्रणालीका माध्यमबाट व्यक्तिगत घटना तथा सामाजिक सुरक्षाका कामहरू भइरहेकोले यसमा समावेश हुन नसक्ने व्यक्तिले राज्यको सेवा सुविधाबाट वञ्चित रहनुपर्ने अवस्था आउने लामिछानेले बताए।
गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण सेवा इकाईका कर्मचारी मुकुन्द गौतमले गरेका थिए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive