शनि, असार ७, २०८२
Sat, June 21, 2025

पर्वत अस्पताल : आकस्मिक सेवाका बिरामी ७१० प्रतिशतसम्म बढे

बैशाख ३, २०८०

पर्वत : जिल्लाको सबैभन्दा ठूलो सरकारी अस्पताल ‘पर्वत अस्पताल’ मा पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्यांकलाई हेर्दा आकस्मिक सेवामा ७१० प्रतिशतसम्म सेवाग्राही बढेको पाइएको छ।

अस्पतालकी निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुक्मीना अधिकारीका अनुसार २०७७, २०७८ र २०७९ सालको साउनदेखि पुससम्मको ६ महिनामा प्रवाह गरिएका सेवाका तथ्यांकले यो देखाएको थियो। पछिल्ला तीन वर्षमा सबैभन्दा बढी चाप आकस्मिक सेवामा देखिएको छ। ओपिडी र आकस्मिक गरी दुई प्रकारका सेवामध्ये आकस्मिक सेवामा बिरामीको चाप बढी रहेको छ।

२०७७ सालको साउनदेखि पुससम्म एक हजार दुई सय १९ जनाले आकस्मिक सेवा लिएकोमा २०७८ सालको ६ महिनाकै अवधिमा यो संख्या नौ हजार आठ सय ७८ पुगेको छ। जुन सात सय १० प्रतिशतले बढी हो।

६ महिनाकै अवधिलाई हेर्दा २०७८ सालको तुलनामा २०७९ मा सेवाग्राहीको चापमा साढे ४५ प्रतिशतले कमी आएको छ। ०७८ सालको छ महिनामा नौ हजार आठ सय ७८ ले सेवा लिएकोमा ०७९ सालको छ महिनामा पाँच हजार तीन सय ५८ जनाले आकस्मिक सेवा लिएका छन्। ०७७ सालको तुलनामा ०७९ सालमा भने तीन सय ३६ प्रतिशत बढीले सेवा लिएका छन्।

डा. अधिकारीका अनुसार अस्पतालको ओपिडी सेवामा पनि बिरामीहरूको चाप क्रमिक रूपमा बढिरहेको छ। ६ महिनाको अवधिलाई नै हेर्दा पछिल्ला तीन वर्षमा एक सय ७२ प्रतिशत नागरिकले स्वास्थ्य परीक्षण गराएका छन्। ०७७ सालमा नौ हजार ४१ जनाले सेवा लिएको ०७८ सालमा १८ हजार छ सय १२ जनाले र ०७९ सालमा २४ हजार पाँच सय ७७ जनाले सेवा लिएका छन्।

०७७ को तुलनामा ०७८ मा एक सय छ प्रतिशत बढीले स्वास्थ्य सेवा लिएका छन् भने ०७८ को तुलनामा ०७९ मा ३२ प्रतिशतले वृद्धि भएको छ। ०७८ मा १८ हजार छ सय १२ जनाले ओपिडी सेवा लिँदा चालु आर्थिक वर्षको छ महिनामा २४ हजार पाँच सय ७७ जनाले सेवा लिएका छन्।

अस्पतालमा थप भएका सेवा तथा सुविधा र स्वास्थ्य बिमा कार्यक्रमका कारण पनि अस्पतालमा हरेक वर्ष स्वास्थ्य परीक्षण गराउनेहरूको संख्या बढ्दै गइरहेको छ।

अस्पतालको आकस्मिक कक्षामा उपचारका लागि आउनेहरूमा केही न केही आकस्मिक समस्या देखिने गरेको भए पनि ओपिडीमा आएका सबै जना बिरामी नै हुन भन्ने हुँदैन। स्वास्थ्य बिमा गरेपछि ‘एक पटक चोक गरौँ न!’ भन्ने मानसिकता धेरैमा रहेका कारण स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछिको समयमा क्रमिक रूपमा स्वास्थ्य सेवा लिनेहरूको संख्यामा वृद्धि हुँदै गइरहेको छ।

‘शैक्षिक तथा स्वास्थ्य चेतनाका अभावले सकेसम्म अस्पताल नगई घरमा नै निको पार्ने प्रयास नागरिकले गरेको देखिन्थ्यो। अहिले सामान्य बिरामी भए पनि अस्पतालमा पुगेर चिकित्सकसँगै सल्लाह गर्नुपर्छ भन्ने धेरैको मानसिकता देखिएको छ।

शिक्षाका कारण स्वास्थ्यप्रति बढेको चेतनाका कारण पनि यसरी सेवाग्राहीको संख्या बढेको हो’, निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. अधिकारीले भनिन, ‘अर्को कुरा जब स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा आयो त्यसपछि झनै चाप बढ्न थालेको छ। तीन वर्ष अगाडि नै ओपिडीमा दैनिक करिब डेढ सय जानाको स्वास्थ्य परीक्षण हुने गरेकोमा अहिले दैनिक करिब तीन सय पुगेको छ।’ ओपिडी सेवा लिन आउने मध्येका करिब ७० प्रतिशत व्यक्तिहरू स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएकाहरू रहेको अनुमान गर्न सकिने उनको भनाइ छ।

अस्पतालमा सेवाग्राहीको चाप बढी हुनुको अर्को पक्ष अस्पतालको क्षमता र आधुनिक भौतिक सुविधा पनि रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरी बताउँछन्। १५ शय्या क्षमतामा रहेर सेवा दिँदै आएको अस्पताल आफ्नै अक्सिजन प्लान्टसहित आधुनिक र प्रविधियुक्त भवनमा सरेर सेवा दिँदा व्यवस्थापन गर्न सजिलो भएको उनको भनाइ छ। सरकारले १५ शय्याको नै मानेको भए पनि अस्पतालले ५६ शय्या सञ्चालन गरिरहँदा अस्पतालमा सबैले सहज सेवा पाउन सकेको उनको भनाइ छ।

‘१५ शय्या क्षमतामा हुँदा हामीसँग जे जति जनशक्ति रहेको थियो त्यो भन्दा बढी त सरकारले पनि खासै पठाएको छैन, जबकि अहिले ५६ शय्यामा अस्पताल सञ्चालनमा रहेको छ। अस्पताल स्रोतबाट समेत गरिएको व्यवस्थापनले यहाँसम्मको अवस्थामा आएका छौँ’, अध्यक्ष गिरी भन्छन्, ‘जनशक्ति नभएका कारण हामीसँग भएका भेन्टिलेटर थन्किएका छन्। सरकारले जनशक्ति दिएर तिनलाई समेत प्रयोगमा ल्याउन पाए अस्पतालको विश्वास कति बढ्ने थियो। महँगो पैसा तिरेर पोखरा र काठमाण्डौंका भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बाध्यताको अन्त्य हुने थियो।’

अस्पतालमा हाल कार्यरत रहेका चिकित्सक तथा अस्पतालमा सेवा गरेर अहिले अन्यत्रै गएका अन्य केही चिकित्सकहरूको लगातारको मिहिनेतका कारण पनि अस्पतालमा बिरामीहरूको विश्वास बढेको उनको तर्क छ।

थाहाखबरबाट साभार गरिएको सामग्री ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive