पर्वत : नेपाल निजामति कर्मचारी सङ्गठन पर्वतको आयोजनामा कुश्मा नगरपालिका–४ मा रहेको गुप्तेश्वर बेदबेदाङ्ग पाठशालामा अध्ययनतर बटुकहरुको लागि बिभिन्न सामग्रीहरु वितरण गरिएको छ ।
२०४७ सालको वैशाख सात गते निजामति कर्मचारीहरुको साझा संस्थको रुपमा सङ्गठनको स्थापना भएको तथा बिहीबार मातातिर्थ औँसी समेत परेको अवसर पारेर बटुकहरुलाई शैक्षिक सामग्रीहरु सहित दैनिक उपभोग्य वस्तुहरु पनि वितरण गरिएको सङ्गठन पर्वतका सचिव दीपक सुवेदीले बताए ।
बिभिन्न चन्दादाताहरुको सहयोग समेत हुने गरेको विद्यालयमा आवासीय व्यवस्थापनका लागि समस्या हुने गरेको छ । यही कारण समयमा समयमा सामाजिक तथा धार्मिक संघ संस्थाहरुले विद्यालयमा सहयोग पनि गर्दै आइरहेका छन् । उनीहरुलाई कापी, कलम, पेन्सिल, साबुन, टुथ पेस्ट लगायतका सामग्रीहरु वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले पर्वतका अध्यक्ष राजुप्रसाद पौडेलले कर्मचारीहरुले सेवाग्राहीरुलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए । कर्मचारीहरुले सही तरीकाले सेवा प्रवाह गरेमा मात्रै नागरिकले सार्वजनिक सेवा सहज रुपमा लिन पाएको अनुभूति गर्ने भएकाले सेवाग्राहीलाई प्रमुख लक्ष्यका साथ गर्नुपर्ने उनको सुझाव छ । पछिल्लो समयमा कर्मचारीतन्त्र र जनप्रतिनिधिहरुकाबीच कहिलेकाँही काम गर्दा समन्वय नमिल्ने एकले अर्कोलाई फरक देख्ने समेत उदाहरण देखिएको भन्दै उनले त्यो वातावरणलाई सुमधर बनाउन कर्मचारीहरुकोतर्फबाट आवश्यक समन्वय हुनुपर्ने बताए ।
यस्तै पेशागत महासंघ जिल्ला समन्वय समिति पर्वतका संयोजक उद्धीमराज पौडेलले दिवसको बारेमा जानकारी गराउँदै कर्मचारीले निभाउनुपर्ने भूमिकाको बारेमा बोलेका थिए ।
विद्यालयकोतर्फबाट आफ्ना भनाई राख्दै व्यवस्थापन समितिका अध्यक्ष कमलकान्त पौडेल र प्रधानाध्यापक गोविन्द आचार्यले बेला बेलामा आउने चन्दाका भरमा विद्यालयमा सञ्चालनमा रहेको भन्दै आगामी दिनमा सहयोगको अपेक्षामा आफूहरु रहने बताए । राज्यले आवासिय व्यवस्थापनका लागि लगानी नगर्ने भएका कारण अध्ययनरत बिद्यार्थीहरु समस्यामा पर्ने गरेकाले विद्यालयमा सहयोग गर्न उनीहरुले अरुलाई पनि आह्वान गरेका छन् ।
सामग्री वितरणपछि बोल्दै सङ्गठन पर्वतका अध्यक्ष बालकृष्ण शर्माले जिल्लाका सबै स्थानीय तहहरुमा बिभिन्न कार्यक्रमहरुको आयोजना गरेर संस्थाको स्थापना दिवस मनाइएको बताए । निजामति कर्मचारीहरु गुणस्तरीय सेवा प्रवाहको लागि हरबखत तयार रहेको भन्दै उनले नागरिकले दिएका सुझावका आधारमा आफूहरुले सेवालाई अझै प्रभावकारी बनाउन तयार रहेको पनि उल्लेख गरे ।
दिवसकै अवसरमा सङ्गठनको फलेवास नगरपालिकाको कार्यसमितिले आज कार्यालयमा आएका पहिलो सेवाग्राहीलाई स्वागत र सम्मान सहित नगरपालिकाको कार्यालय परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
मोदी गाउँपालिकाको कार्यसमितिले कास्की र पर्वत जिल्लाको सिमनामा रहेको धौलागिरि गेटमा यात्रुहारुलाई स्वागत तथा धन्यवाद ज्ञापन गर्ने बोर्ड स्थापना गरेको छ । गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्मा, प्रमुख प्रशासकीय अधिकृत कमल गौतम, सङ्ठनको मोदी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र गौतम सहित पदाधिकारी, सदस्य तथा जिल्ला कार्यसमितिका पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो ।