पर्वत : नेपाली भाषा शिक्षक परिषद पर्वतको आयोजनामा कक्षा पाँच, आठ र दशको नेपाली पाठ्यक्रमको प्रबोधिकरण कार्यक्रम सम्पन्न भएको छ।
पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रमा तीन ओटा कक्षामा पाठ्यक्रम परिमार्जन गरेर कार्यान्वयनमा ल्याएपछि त्यसको प्रभावकारी प्रयोग, उपयोगिता र उपलब्धि लगायतका विषयमा ज्ञान आदानप्रदान गर्ने उद्धेश्यले प्रबोधिकरण कार्यक्रमको आयोजना गरिएको हो।
जिल्लाका सात ओटै स्थानीय तहरुमा रहेका सामुदायिक विद्यालय तथा जिल्लामा रहेका संस्थागत विद्यालयमा नेपाली विषय अध्यापन गराउँदै आएका करिब दुई सय जना शिक्षकहरुको सहभागिता रहेको कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रमा विज्ञको रुपमा कार्यरत चिना निरौलाले सहजीकरण गरिन्। सहजकर्ता र सहभागीहरुबिच परिवर्तित पाठ्यक्रमले समेट्न खोजेका सिकाईका बिभिन्न पक्षहरु, विद्यार्थीहरुका सक्षमता, तहगत रुपमा हासिल गर्नुपर्ने उपलब्धि लगायतका बरेमा अन्तरक्रिया पनि गरेका छन्।
पाठ्यक्रम परिमार्जन भएपछि त्यसको प्रभावकारी कार्यान्वयनमा समस्या आउन सक्ने तथा केही विषयमबस्तुमा अलमल हुन सक्ने भएकाले शिक्षकहरुमा कुनै पनि अलमल नहोस भन्नका लागि निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल, पर्वत र शिक्षा विकास तथा समन्वय इकाई पर्वतको समन्वयमा प्रबोधिकरण कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख उद्धीमराज पौडेलले पाठ्यक्रमको उद्धेश्य नै सिकारुमा व्यवहारिक परिवर्तन ल्याउनु भएकाले शिक्षकहरुले किताबी रटानलाई मात्रै भन्दा पनि व्यवहारिक परिवर्तन ल्याउने प्रयासका साथ कक्षाकोठामा प्रवेश गर्नुपर्ने बताए। जिल्लामा बिभिन्न समयमा बिभिन्न निकायहरुको आयोजनामा पेशागत विकासका तालिमहरु सञ्चालन हुँदै आएको र त्यहाँ सिकिएका सबै कुराहरु कक्षाकोठामा प्रयोग हुनुपर्ने टड्कारो आवश्यकता रहेको उनको भनाई छ।
कुश्मा नगरपालिका र फलेवास नगरपालिकाका शिक्षा अधिकृतद्वय दीपक सुवेदी र टंकनाथ पौडेलले समयको आवश्यकता र माग अनुसार पाठ्क्रममा परिमार्जन हुने गरेको बताउँदै त्यसको प्रभावकारी कार्यान्वयनको जिम्मेवारी शिक्षकहरुकै काँधमा रहेको बताए। पाठ्यक्रमको उद्वेश्य पूरा गराउने काममा शिक्षकहरु लागेको त्यसमा सघाउने काम स्थानीय तहहरुले गरिरहेको भन्दै उनीहरुले स्थानीय तह वा राज्यका निकायबाट आयोजना गरिनुपर्ने कार्यक्रम शिक्षकहरुबाटै आयोजना गरिनु खुसीको कुरा भएको उल्लेख गरे। पछिल्लो समय आधुनिकताका नाममा पाश्चात्य संस्कृतिको प्रभाव बढ्दै गइरहेको बेलामा नेपाली भाषाको संरक्षण र सम्बद्र्धन गर्न गहन भूमिका पनि शिक्षकमा नै रहेको शिक्षा अधिकृतहरुको भनाई छ।
कार्यक्रमको समन्वय गरेको संस्था प्याब्सन पर्वतका अध्यक्ष श्रीराम पराजुलीले पर्वत जिल्लामा सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरुले एकै ठाउँमा बमसेर प्रशिक्षण लिने र दुवैतर्फबाट शैक्षिक गुणस्तरका लागि प्रयास गर्नु खुसीको कुरा भएको बताए। परिवर्तित पाठ्यक्रमले बिद्यार्थीको सिकाईमा प्रभावकारी काम गर्ने भन्दै उनले सिकेका कुराहरुलाई कक्षाकोठामा पूर्ण रुपमा प्रयोगमा ल्याउन अनुरोध गरे। परिषद पर्वतका सल्लाहकार शुभन्तनाथ सुबेदीले संसारका बिभिन्न भाषाहरुको प्रभावका कारण नेपाली भाषा कुनै दिन समस्यामा पर्ने सक्ने भएकाले यसको विस्तार र संरक्षणका लागि नेपाली भाषाको अपनत्व पाएकाहरु नै सक्रिय हुनुपर्ने बताए। भाषा संरक्षणको महत्वपूर्ण माध्यम शिक्षक नै भएकाले शिक्षकहरुले विद्यार्थीमा नेपाली भाषाको भोक र महत्व जगाउन सक्नुपर्ने उनको सुझाव थियो।
कार्यक्रमकै अवसर पारेर परिषद पर्वत शाखाले प्रकाशनमा ल्याएको चालु शैक्षिक सत्र २०८० सालको शैक्षिक कार्यपात्रो पनि बिमोचन गरिएको छ। परिषद पर्वतका अध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष गोविन्द पौडेल र सञ्चालन सचिव झलक पौडेलले गरेका थिए।