पर्वत : उनीहरु एक अर्कालाई खूब माया गरेका हुन्थे। एउटाको दुःखमा अर्कोको आँसु बग्थ्यो। एक अर्काप्रतिको विश्वासलाई बिबाहमा परिणत गरे पनि त्यसपछिको भने उनीहरुको यात्रा ओरालो लाग्यो। एउटाको काममा अर्कोले सघाउने बानी परेका उनीहरु अब भने एक अर्कामा देखा पर्दासाथ रिसाईहाल्ने भएका छन्।
साँदेको गुन्द्रुक र मकैको पिठो खाँदा पनि नमिठो नमानेकी श्रीमतीले एकाएक फरक व्यवहार देखाउँदा उनीहरुबीच शंकाको वातावरण बनेको छ। बस्ने छानो एउटै छ, खाने मानो एउटै छ। तर उनीहरुको मनमा के छ बुझ्नै कठीन छ। भोकाएको बेलामा पटुकी कसेर बस्दा पनि खुसी हुने गरेकी श्रीमती आज एकै ठाउँमा बसेर रुन नपाउँदा दुःखी छिन्।
दाम्पत्य जीवन राम्रै चलिरहेको बेलामा श्रीमती कोही पुरुषसँगको प्रेममा लालयित हुन्छिन्। दोस्रो व्यक्तिसँगको त्यो प्रेम भने भावनाबाट नभई केही प्रलोभन जस्तो देखिन्थ्यो। श्रीमती कोही अरुसँग प्रेममा रहेको थाहा पाएपछि श्रीमान श्रीमतीको सम्बन्धमा दरार आउँछ। श्रीमतीका बन्दोबस्तीका सामग्रीहरु सहित श्रीमानले घर निकाला गरिदिन्छन्।
यो कथा भीम बहादुर पौडेल र पुष्पा क्षेत्रीको सांगितिक कोशेली ‘छानो एउटै छ’ को हो। पौडेल र क्षेत्रीले समसामयिक सन्दर्भमा समाजमा देखिने गरेका धेरै उदाहरणलाई एकीकृत गर्दै गीत प्रस्तुत गरेका हुन्। सुमन गौडेल र सपना लामगाँदेको प्रमुख भूमिका रहेको गीतमा रुद्रमोहन रिमाल र बिपना लामगाँदेको पनि अभिनय रहेको छ।
गीतमा भीम र पुष्पाले स्वर भरेका छन्। भीमकै शब्द रचना र संगीत रहेको गीतको एरेन्ज रमेश सेन्चुरीले गरेका छन्। भीम बहादुर पौडेलले नै म्यूजिक भिडिओको निर्देशन गरेको दृश्य विशाल परियारले खिचेका हुन भने सम्पादन बिनोद बलमे गरेका छन्।
हेर्नुहोस भिडिओ :