पर्वत : १६ औँ गणतन्त्र दिवसको अवसरमा पर्वतका बिद्यार्थीहरुबिच आयोजना गरिएको कबड्डी प्रतियोगिता सम्पन्न भएको छ ।
जिल्ला खेलकुदन विकास समिति पर्वतको आयोजनामा १५ र १६ गते गरेर दुई दिनसम्म खेलाइएको प्रतियोगितामा जिल्लाका बिभिन्न स्थानीय तहका १३ ओटा विद्यालयहरुले प्रतिस्पर्धा गरेका थिए । खेलअन्तर्गत छात्रातर्फको प्रतियोगितामा सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालय विजेता बनेको छ ।
यस अघि हालै सम्पन्न भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड र नगरस्तरीय रनिङ शील्डमा पनि नारायण मा.वि.का छात्राहरु नै बिजेता बनेका थिए । विद्यालयको जीतका लागि सन्सी थापा मगर, भवना थापा, आस्मा मगर, अजिता थापा मगर, सिर्जना थापा मगर, पल्लवी क्षेत्री, सुशिला परियार, रन्जिता सेन्चुरी र रिसिका क्षेत्रीले योगदान गरे । छात्रातर्फकै दोस्रो स्थानमा खुर्कोटको हिमालय मा.वि. र तेस्रो स्थानमा कुश्माकै आदर्श अङ्ग्रेजी आवासिय माध्यमिक विद्यालय आएका छन् ।
यस्तै छात्रतर्फको कबड्डीमा सदरमुकाम कुश्मा बजारमा रहेको नमूना अङ्ग्रेजी आवासिय माध्यमिक विद्यालय प्रथम स्थानमा आएको छ । नमूनाले जिल्ला स्तरीय र नगर स्तरीय राष्ट्रपति रनिङ शील्डको कबड्डीमा पनि राम्रो प्रदर्शन गरेको थियो । नमूनाको जीतको लागि .मोनिक बस्नेत, सबिन मगर, राज खड्का, सबिन बि.क, राज रेग्मी, सम्राट भुषाल, चर्चित सुवेदी, देबेन्द्र पुन र चिन्तन सुवेदीले योगदान दिए । यस्तै छात्रतर्फको दोस्रो स्थानमा सदरमुकाम कुश्मा बजारकै राष्ट्रिय बाल शिक्षा सदन र तेस्रो स्थानमा मोदी गाउँपालिकाको नवज्योति थम माध्यमिक विद्यालयमा आएका छन् ।
छात्रा र छात्र दुबैतर्फ पहिलो बन्ने समूहले स्वर्ण पदक सहित नगद नौ हजार रुपैयाँ र प्रमाणपत्र, दोस्रो हुनेले रजत पदक सहित नगद छ हजार रुपैयाँ र प्रमाणपत्र तथा तेस्रो बन्ने समूहले कास्य पदक सहित नगद तीन हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत तथा १६ वर्ष उमेर पूरा नगरेका विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरुङले बताए ।