बिहिबार, चैत्र १३, २०८१
Thursday, March 27, 2025

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा पर्वत ट्राफिक

पर्वत : जिल्लाको जलजला गाउँपालिका–७ धाईरिङमा रहेको फर्से धाईरिङ माध्यमिक विद्यालयका विद्यार्थीहरू आइतबार छक्क परे। प्रहरीको पोसाकमा सजिएका व्यक्तिहरू विद्यालयमा प्रवेश गर्दा उनीहरूलाई डर पनि लाग्यो। सामान्यतः अपराध भएको स्थानमा पुग्ने गरेका प्रहरीलाई विद्यालयमा देखेपछि विद्यार्थीहरू डर नलागोस् पनि कसरी?

 

 

उनीहरूको डर त त्यतीबेला  भाग्यो जति बेला  ट्राफिक प्रहरीले कहीँ कतै दुर्घटना भएमा, सवारी सञ्चालकबाट यात्रु ठगिएमा, कसैले पनि सवारी सञ्चालनको नियम उल्लंघन गरेका भएमा लगायतका विषयमा सिधा आफूहरूलाई फोन गरेर जानकारी दिन अनुरोध गरे। सहरी क्षेत्रमा रहेका विद्यालयहरूमा बेला मौकामा ट्राफिक प्रहरी नै पुगेर ट्राफिक नियमहरूको बारेमा कक्षा लिने गरेको भए पनि ग्रामीण क्षेत्रमा रहेका विद्यालयहरूले यो मौका कमै मात्र पाउँछन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतको आयोजनामा ग्रामीण क्षेत्रलाई ध्यानमा राखेर ‘सुरक्षित ग्रामीण सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी कार्यक्रम–२०८०’ सुरुवात गरिएसँगै पर्वत ट्राफिकले जिल्लाका ग्रामीण क्षेत्रमा चल्ने सवारीहरूको अनुगमन तथा विद्यालय र समुदायमा पुगेर सचेतना दिने काम ट्राफिक प्रहरीले गरिरहेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो। सामान्यतः राजमार्ग, बजार क्षेत्र तथा पक्की सडकहरूमा दुर्घटना बढी हुने भएकाले ती क्षेत्रमा केन्द्रित रहँदै आएको ट्राफिक प्रहरीले ग्रामीण क्षेत्रको ट्राफिक व्यवस्थापनको लागि यो कार्यक्रमको सुरुवात गरेको हो।

ग्रामीण सडक व्यवस्थापनमा जनताको सहभागिता र संलग्नतालाई प्रोत्साहन गर्ने, ग्रामीण क्षेत्रमा सवारी चलाउने सवारी चालकहरूलाई जिम्मेवार बनाई सुरक्षित र सहज आवागमनको व्यवस्था गर्ने, ग्रामीण इलाकाका यात्रुहरूमा ट्राफिक सचेतना अभिवृद्धि गर्ने, ग्रामीण सडकमा सञ्चालन हुने सवारी साधनको यान्त्रिक अवस्थालाई दुरुस्त राख्न प्रेरित गर्ने, दुर्घटना न्यूनीकरण र रोकथामका लागि सहकार्य गर्ने, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र सडक प्रयोगकर्ताहरू माझ अनुशासनको भावना जगाउने ग्रामीण सडक पूर्वाधारको विकासमा विभिन्न निकायहरूलाई सहयोग र सल्लाह दिने कार्यक्रमका उद्देश्य रहेका छन्।

जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले ग्रामीण क्षेत्रमा समेत बढ्दै गइरहेको सवारीहरूको चापले ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गइरहेको बताए। पर्वत ट्राफिकले सवारी नियमको कार्यान्वयनका लागि गर्दै आइरहेको प्रयास प्रशंसनीय रहेको भन्दै उनले अब ग्रामीण क्षेत्रलाई पनि प्राथमिकतामा राखेर अनुगमनको आवश्यकता रहेको औँल्याए। सहरी क्षेत्रमा चल्ने सवारीहरूले कागजपत्र तथा सवारीको अवस्थामा ठीक अवस्थामा राख्ने गरेको भए पनि ग्रामीण क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिति नरहँदा त्यसमा लापरबाही गरिएको हुन सक्ने उनको भनाइ छ।

ट्राफिक प्रहरी प्रमुख निउरेले जिल्लामा दुर्घटना न्यूनीकरण तथा सडक सचेतना सम्बन्धी ज्ञान वृद्धिका लागि आफूहरूले विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरेर सुसूचित गराउने प्रयास भइरहेको बताए। सबै स्थानमा ट्राफिक प्रहरीको उपस्थिति असम्भव हुने भएकाले सडक तथा सवारीका नियमहरू मान्नु असल नागरिकको कर्तव्य भएको उनको भनाइ छ। त्यसमा पनि ट्राफिक प्रहरीले चलाउने गरेका अभियान र कारबाहीहरू आम नागरिकको पक्षमा हुने भएकाले त्यसमा सघाउनु सबैको जिम्मेवारी रहेको उनले बताए।

एक महिनामा सात दिन गरेर तत्कालका लागि तीन महिनाका लागि सञ्चालन हुने कार्यक्रममा कुल २१ दिनमा  जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहत इकाइबाट कार्यक्रमहरू समेतमा सञ्चालन गरिने छ। आषाढ पाँचदेखि ११ गतेसम्म, साउनको सातदेखि १३ गते सम्म  र भदौको १० गतेदेखि १६ गतेसम्म कार्यक्रम सञ्चालन हुने छ। ट्राफिक नियम सम्बन्धी जनचेतनाको विकास हुने, सवारी दुर्घटनामा कमी आउने, सडक÷सवारी सुरक्षा थप मजबुत हुने, जनधनको क्षति न्यूनीकरण हुने, ट्राफिक प्रहरी र सवारी चालक÷परिचालकहरूमा मित्रवत् भावनाको विकास हुने, ग्रामीण सडक सुरक्षा प्रभावकारी हुने लगायतका प्रतिफलहरू कार्यक्रमबाट प्राप्त हुने ट्राफिक प्रहरीको विश्वास छ।

ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साउनयता जिल्लामा भएका कुल १९ वटा दुर्घटनामा छ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्।

thahakhabar.com

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive