शुक्र, जेष्ठ ३, २०८२
Fri, May 16, 2025

पर्वतका तीन सामुदायिक विद्यालयमा सेनाद्वारा एन.सी.सी प्रशिक्षण सुरु

साउन ३, २०८०

पर्वत : नेपाली सेनाले पर्वतका तीन वटा सामुदायिक विद्यालयमा राष्ट्रिय सेवा दल (एन.सी.सी) मा छनोट भएका विद्यार्थीहरूलाई प्रशिक्षण दिन सुरु गरेको छ।

राष्ट्रिय सेवा दलद्वारा सञ्चालित सिरियल सङ्ख्या ४९ औँ ब्याच जुनियर डिभिजन अन्तर्गत कुश्मा नगरपालिकाको नारायण माध्यमिक विद्यालय, फलेवास नगरपालिकाको त्रिभुवन माध्यमिक विद्यालय र मोदी गाउँपालिकाको पशुपति माध्यमिक विद्यालय प्रशिक्षण सुरु भएको नयाँ रणभीम गुल्म, गोदाम ब्यारेक पर्वतका गुल्मपति सेनानी अजित थापाले बताए।

नेपाली सेनाले एन.सी.सी.मा सहभागी हुन इच्छुक विद्यालयहरूलाई समय तोकेर निवेदन आह्वान गरेको थियो। इच्छुक विद्यालयहरूमध्येबाट विद्यालय छनोट गरेपछि गत साउन एक गतेबाट प्रशिक्षण सुरु गरिएको हो। प्रशिक्षण सुरु हुनु पूर्व नै सेनाले विद्यालयहरूमा पुगेर एन.सी.सी. प्रशिक्षण लिनका लागि तोकिएको मापदण्ड अनुसार विद्यार्थी  छनोट गरेको थियो।

ती विद्यालयमा कक्षा ८, ९ र १० मा अध्ययनरत १४ देखि १६ वर्ष उमेर समूहबाट छात्र र छात्रातर्फ गरेर दुई जुनियर डिभिजन समूह निर्माण गरिएको छ। तीन विद्यालयमा ५४ जना छात्र र ५४ जना छात्रालाई प्रशिक्षण दिने काम चलिरहेको छ। सम्बन्धित विद्यालयमा ७९ दिन र त्यसपछि २१ दिनको तालिम नवलपरासी स्थित हात्तिखोरमा राखेर प्रशिक्षण दिइने छ। देशमा आउन सक्ने कुनै पनि सङ्कट वा विपदमा भूमिका निभाउन सक्ने अनुशासित, कर्मठ, इमानदार र देशभक्त जनशक्ति तयार गर्नका लागि यो तालिम महत्त्वपूर्ण हुने सेनानी थापाले बताए।

‘यो तालिमले पहिले त उनीहरूलाई स्वस्थ रहनका लागि सहयोग गर्छ। तालिममा सहभागीहरूलाई देशमा समस्या आएको बेलामा आफ्नो ठाउँबाट सकेको योगदान गर्न पछि नहट्ने कुरा सिकाइन्छ। विद्यार्थीहरू राष्ट्रका लागि योगदान गर्न सक्ने कर्मठ, इमानदार र देशभक्त बन्ने छन’, उनले भने, ‘यसले उनीहरूको शारीरिक र बौद्धिक विकासमा टेवा दिन्छ। तालिमको क्रममा शारीरिक अभ्याससहित खेलकुद प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता लगायतका प्रतिस्पर्धा पनि हुन्छन्। जसले उनीहरूलाई प्रतिस्पर्धी र अध्ययनशील हुन सिकाउँछ।’

तालिम सञ्चालन भइरहेको नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद पोखरेलका अनुसार नियमित कक्षा सकिएपछि अपराह्न चार बजेदेखि डेढ÷दुई घण्टा तालिम सञ्चालन हुन्छ। उनीहरूले घरमा गएर खेल्ने वा ‘मोबाइल स्क्रिन’ मा बिताउने समयलाई तालिमले सदुपयोग गर्ने उनको भनाइ छ।

अभिभावक र विद्यार्थीहरू यो प्रशिक्षणमा सहभागी हुनका लागि इच्छुक रहँदै आएकाले विद्यालयले सेनासँग सहकार्य गरेको उनको भनाइ छ। विद्यार्थीमा अनुशासन, नेतृत्व लिन सक्ने क्षमताको विकास, वफादारिताको विकास गराउँदै राष्ट्रप्रति प्रतिबद्ध नागरिक तयार गर्न तालिम महत्त्वपूर्ण हुने पोखरेलले बताए।
नेपालमा वि.सं. २०२२ सालमा राष्ट्रिय सेवा दलको अभ्यास सुरु भएको थियो।

विभिन्न सात वटा राष्ट्रहरूसँग युवा आदान–प्रदान कार्यक्रम सञ्चालन गरेर फरक फरक राष्ट्रका विद्यार्थीबीच भेट हुने अवसर दिने गरिएको पनि सेनानी थापाले बताए।

थाहाखबर डट कमबाट साभार गरिएको सामग्री

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive