पर्वत : जिल्लाको कुश्मा नगरपालिकाको आयोजनामा आई.टी स्रोत शिक्षकहरुको लागि सूचना प्रबिधि सम्बन्धि पाँच दिने क्षमता विकास कार्यक्रम सुरु भएको छ ।
नगरपालिकाका १४ वटा वडाहरुमा रहेका विद्यालयहरुमा आउन सक्ने सूचना प्रबिधि सम्बन्धि समस्याहरुको समाधान सकेसम्म शिक्षकहरुबाटै गर्ने उद्धेश्य राखेर कार्यक्रमको आयोजना गरिएको हो । साउन नौ गतेसम्म सञ्चालन हुने तालिममा नगरपालिकाका ३० भन्दा बढी विद्यालयका शिक्षक तथा कर्मचारीहरु सहभागी भएका छन् ।
कार्यक्रममा शिक्षामा इमेल इन्टरनेटको प्रयोग, शिक्षामा आर्टीफिसियल इन्टीलीजेन्स, गुगल एप्स, डिजिटल शैक्षिक सामग्रीहरुको व्यवस्थापन, ब्लग निर्माण, सिकाईका डिजिटल माध्यमहरु, ब्लूम टेक्सोनोमी, शैक्षिक वेब साइट, सिकाईमा मोबाइल फोनको प्रयोग, कम्प्युटर तथा मोबाईल एप्लीकेशन लगायतका बिषयमा सहजीकरण गरिने छ । कार्यक्रममा प्रविधिमैत्री शिक्षक समाज नेपाल अन्तर्गत गण्डकी प्रदेश समिति अन्तर्गतको प्राबिधिक समितिका संयोजक रहेका खेमराज पौडेल लगायतले सहजीकरण गरिरहेका छन् ।
कार्यक्रमको उद्घाटनको अवसरमा बोल्दै कुश्मा नगरपालिका अन्तर्गत सामाजिक विकास समितिका संयोजक तथा कुश्मा नगरपालिका–६ का वडाध्यक्ष ईश्वर गिरीले कुश्मा नगरपालिकाले विद्यालयहरुलाई प्रविधिमा जोडेर गुणस्तरीय शिक्षा दिने प्रयास गरिरहेको बताए । नगरपालिकाकोतर्फबाट आई.सी.टी.का कार्यक्रम सञ्चालन गरेर सबै विद्यालयलाई डिजिटल बनाउने प्रयास गरिरहेको भन्दै उनले यसका लागि हरेक शिक्षकलाई तयार रहन आग्रह गरे । पाँच दिने सिकाईको क्रममा सिकिएका कुराहरुलाई कक्षाकोठामा प्रयोग ल्याएमा मात्रै प्रशिक्षणको उद्धेश्य पूरा हुने भएकाले आफूले सिकेका कुरा प्रयोगमा ल्याउनबाट चुक्न नहुने संयोजक गिरीको भनाई छ ।
नगरपालिकाको शिक्षा, यूवा तथा खेलकुद शाखाका प्रमुख बिष्णुप्रसाद तिवारीले समयले कम्प्युटर सहितका उपकरणहरुको सिकाई अनिवार्य भइसकेको बताए । अबको शिक्षालाई आकर्षित र गुणस्तरीय बनाउनको लागि शिक्षकहरुलाई प्रबिधिको बारेमा प्रशिक्षण दिने गरिएको उनको भनाई छ । कुश्मा नगरपालिकाभित्र रहेका १८ वटामध्ये दुई वटा विद्यालयमा स्मार्ट स्कूल परियोजना लागू गरिएको र बाँकी रहेका विद्यालयहरुमा आगामी दिनमा विस्तार गर्दै लैजाने रहेको तिवारीले बताए । कुश्मा नगरपालिकाको बजेटमा शिक्षा शाखाको लागि साढे दुई करोड रुपैयाँ माग गरेर पठाएको भन्दै उनले बजेट आउँदा आवश्यकता अनुसार शिक्षालाई प्रबिधिमा जोड्नका लागि सम्भव हुने उनको भनाई छ ।
कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै शिक्षा अधिकृत अर्जुन पौडेलले कोभिडको बेलामा सिकिएका आई.टी.का कुराहरु आजभोलि फेरि बिर्सिन थालिएको बताए । प्रबिधिमा जति धेरै अभ्यास गर्न सक्यो उति नै ज्ञान बढ्ने भए पनि शिक्षकहरुले यसमा कम चासो देखाएको उनको भनाई छ । नगरपालिकाले शिक्षकहरुलाई प्रबिधिमैत्री बनाउन बर्सेनी लगानी गर्दै गइरहेको भए पनि लगानी अनुसारको प्रतिफल भने शून्य जस्तै देखिएको पौडेलले दाबी गरे । विद्यालयमा आउने प्रबिधि सम्बन्धी समस्याहरुको समाधान गर्नको लागि प्रत्येक वडामा कम्तीमा एक जना शिक्षक तयार गर्ने गरी अहिलेको तालिम सञ्चालन गरिएको हो ।
नगरपालिकाको शिक्षा, यूवा तथा खेलकुद शाखाका प्रमुख बिष्णुप्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत दीपक सुवेदीले गरेका थिए ।
शनिबार, अशोज १९, २०८१
Saturday, October 5, 2024