बुधबार, अशोज २, २०८१
Wednesday, September 18, 2024

ग्रामीण क्षेत्रको ‘चेकिङ’ र ‘चेतना’ अभियानमा पर्वत ट्राफिक

पर्वत : प्रायः बजार र लोक मार्ग केन्द्रित हुनुपर्ने पर्वतको ट्राफिक प्रहरीले ग्रामीण  क्षेत्रमा उपस्थिति बाक्लो बनाउँदै ग्रामीण सडक यात्रालाई सुरक्षित बनाउने अभियान सञ्चालन गरेको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौँडा कास्कीमार्फत गण्डकी प्रदेशका सबै जिल्ला ट्राफिक प्रहरी कार्यालयहरूबाट एकै साथ सञ्चालन भइरहेको ‘सुरक्षित ग्रामीण सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी कार्यक्रम, २०८०’ सुरु गरिएको हो।

ग्रामीण सडक व्यवस्थापनमा जनताको सहभागिता र संलग्नतालाई प्रोत्साहन गर्ने, ग्रामीण क्षेत्रमा सवारी चलाउने सवारी चालकहरूलाई जिम्मेवार बनाई सुरक्षित र सहज आवागमनको व्यवस्था गर्ने, ग्रामीण इलाकाका यात्रुहरूमा ट्राफिक सचेतना अभिवृद्धि गर्ने, ग्रामीण सडकमा सञ्चालन हुने सवारी साधनको यान्त्रिक अवस्थालाई दुरुस्त राख्न प्रेरित गर्ने, दुर्घटना न्यूनीकरण र रोकथामका लागि सहकार्य गर्ने, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र सडक प्रयोगकर्ताहरू माझ अनुशासनको भावना जगाउने तथा ग्रामीण सडक पूर्वाधारको विकासमा विभिन्न निकायहरूलाई सहयोग र सल्लाह दिने उद्देश्य राखेर ग्रामीण क्षेत्रका विभिन्न सडकमा खटिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेले बताए।

एक महिनामा सात दिन गरेर तत्कालका लागि तीन महिनाका लागि सञ्चालन हुने कार्यक्रममा कुल २१ दिनमा  जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहत इकाइबाट कार्यक्रमहरू समेतमा सञ्चालन भइरहेका छन्। असार   पाँचदेखि ११ गतेसम्म, साउनको सातदेखि १३ गते सम्म सञ्चालन भइसकेका छन् भने पछिल्लो पटक भदौ १० गतेदेखि १६ गतेसम्म कार्यक्रम चलिरहेका छन्। ट्राफिक नियम सम्बन्धी जनचेतनाको विकास हुने, सवारी दुर्घटनामा कमी आउने, सडक/सवारी सुरक्षा थप मजबुत हुने, जनधनको क्षति न्यूनीकरण हुने, ट्राफिक प्रहरी र सवारी चालक/परिचालकहरूमा मित्रवत् भावनाको विकास हुने, ग्रामीण सडक सुरक्षा प्रभावकारी हुने लगायतका प्रतिफलहरू कार्यक्रमबाट प्राप्त हुने ट्राफिक प्रहरीको विश्वास छ।

महिनामा एक हप्ता सञ्चालन हुने कार्यक्रम अन्तर्गत पहिलो दिनमा सचेतना कार्यक्रम, सवारी जाँच दोस्रो दिनमा  ग्रामीण क्षेत्रमा चल्ने सवारीको जाँच, मेकानिकल जाँच, कागजात जाँच, सिट÷हुट अनुगमन, तेस्रो दिनमा ग्रामीण सडक लक्षित प्रशिक्षण कार्यक्रम,  सिट क्षमता  र यात्रु जाँच, भाडा दर÷आरक्षण सिट कार्यान्वयन अनुगमन गरिने छ। चौथो दिनमा ग्रामीण सडकका चालक परिचालकहरूसँग साथी कार्यक्रम सञ्चालन, चालकको स्वास्थ्य परीक्षण, चालक र ट्राफिक प्रहरी बीच मित लगाउने कार्यक्रम पाँचौँ दिनमा सडक प्रयोगकर्ता प्रशिक्षण कार्यक्रम, ग्रामीण क्षेत्रका विद्यालयमा प्रशिक्षण छैटौँ दिनमा जनप्रतिनिधिहरू सहित ग्रामीण सडक अनुगमन, रातो प्लेट अनुगमन र कारबाही तथा सातौँ दिनमा जनप्रतिनिधिहरू, यातायात व्यवसायीहरू, चालक/परिचालकहरू, सडक सुरक्षासँग सरोकार राख्ने अन्य निकायहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने तालिका छ।

ट्राफिक प्रहरी प्रमुख निउरेले जिल्लामा दुर्घटना न्यूनीकरण तथा सडक सचेतना सम्बन्धी ज्ञान वृद्धिका लागि आफूहरूले विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरेर सुसूचित गराउने प्रयास भइरहेको बताए। सबै स्थानमा ट्राफिक प्रहरीको उपस्थिति असम्भव हुने भएकाले सडक तथा सवारीका नियमहरू मान्नु असल नागरिकको कर्तव्य भएको उनको भनाइ छ। त्यसमा पनि ट्राफिक प्रहरीले चलाउने गरेका अभियान र कारबाहीहरू आम नागरिकको पक्षमा हुने भएकाले त्यसमा सघाउनु सबैको जिम्मेवारी रहेको उनले बताए।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive