पर्वत : हिन्दु नेपाली महिलाहरुको महान् चाड हरितालिका (तीज) को अवसर पारेर कुश्मा नगरपालिका–१० पिपलटारीमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिने भएको छ ।
पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजको आयोजनामा तीजको दिन असोज एक गते ‘पिपलटारी जाऔंः नाचौं, गाऔं र रमाऔँ’ भन्ने नाराका साथ विशेष मेलाको आयोजना गर्न लागिएको अध्यक्ष राजु पौडेलले बताए । बिहान १० बजेदेखि सुरु हुने मेलामा लाखे नाच, नागा नाच, खुल्ला तीज गीत प्रतियोगिता, कृषि प्रदर्शनी, जोडी दौड प्रतियोगिता, छेलो प्रतियोगिता, म्युजिकल चियर र राष्ट्रिय तथा स्थानीय कलाकाहरुको प्रस्तुतिहरु रहने छन् ।
खुला तीज गीत प्रतियोगितामा प्रथम, द्धितीय र तृतिय बन्ने समूहले क्रमशः १० हजार, सात हजार र चार हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गर्ने छन् । यो प्रतियोगितामा कम्तीमा पाँच जना सहभागी हुनुपर्ने, धर्म संस्कृति र मौलिकतामा आधारित गीत हुनुपर्ने, बढीमा सात मिनेटको गीत हुनुपर्ने भनिएको छ । सहभागी हुन इच्छुक समूहले आफ्नो समूहको नाम दर्ता अघिल्लो दिन नै फोनबाट गर्न सक्नेछन् । यस्तै जोडी दौड प्रतियोगिता, खुला छेलो प्रतियोगिता, विद्यार्थीहरुका लागि म्युजिकल चियर प्रतियोगिता, कृषकहरुको लागि कृषि प्रदर्शनी लगायतका कार्यक्रमहरु पनि रहने सचिव सन्तोष पौडेलले बताए ।
बिहिबार, मंसिर २७, २०८१
Thursday, December 12, 2024