मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

भुरे राजाको दरबारका अवशेष रहेको पुर्कोटको संरक्षणमा नेपाली सेना

भदौ १३, २०८०

पर्वत : जिल्लाको फलेवास नगरपालिका–३ शंकरपोखरीमा रहेको पुर्कोट समुद्री सतहबाट करिब १६ सय मिटरको उचाइमा छ। हिमशृङ्खलासहित पहाडी टाकुराहरूको अवलोकन गर्न सकिने पुर्कोटमा बसेर भुरे राजाले शासन गरेका ज्येष्ठ नागरिक बताउँछन्।

भिरकोटे राजाले आफ्नो राज्य १६ जना छोराहरूलाई बाँड्ने क्रममा एक सन्तान पुर्कोटका राजा भएको भनिन्छ। पुर्कोटमा राजा थिए भन्ने कुरा कतिपय वस्तुस्थिति र प्रसङ्गले पनि पुष्टि गर्छ। भूमे, झाँक्री, पत्थर नाग लगायत देवीदेवताका मठ मन्दिरमा साथै त्यस समयमा प्रयोग भएका ओखल, मुसल र तत्कालीन घरका अवशेष र पानी खानको लागि त्यस समयमा इँटा र ढुङ्गाले निर्माण गरिएको इनारका अवशेष अहिले पनि देख्न पाइन्छ।

राजाले शासन गरेको पुष्टि हुने अवशेष रहेका भए पनि तिनीहरूको उचित संरक्षण गरी तिनीहरूको बारेको तथ्य बाहिर आउन सकेको थिएन। स्थानीय नागरिकलाई पुर्कोटको बारेमा थाहा भएको भए पनि यसका बारेमा बाहिर नआउँदा न त पुर्कोटको बारेमा प्रचारप्रसार हुने सकेको थिएन। पदमार्गमार्फत समेत पर्यटकीय स्थलको रूपमा विकास गर्न सम्भावना रहेको पुर्कोटमा अहिले भने नेपाली सेनाले संरक्षणको काम गरेको छ।

नेपाली सेनाको नयाँ रणभीम गुल्म गोदाम ब्यारेक कुश्माका अनुसार पुर्कोट क्षेत्रभित्र रहेका प्राचीन सभ्यता झल्किने अवशेषहरूको संरक्षणका लागि विभिन्न कामहरू गरिएका छन्। कोटमा वडा दसैँ र चैते दसैँ गरी वर्षमा दुई पटक धूमधामका साथी नवदुर्गाको पूजा हुने गरेको भए पनि भौतिक संरचनाको अभावमा समस्या हुँदै आएको थियो। सेनाको टोलीले एक महिनाको अवधिमा नै कोट क्षेत्रभित्र सामुदायिक भवनसहितका भौतिक संरचनाहरू तयार पारेको छ।

नेपाली सेना पश्चिम पृतना हेडक्वार्टर्सको पहल र नयाँ रणभीम गुल्मको योगदानमा काम सम्पन्न गरी सेनालाई ती भौतिक संरचनाहरू स्थानीयलाई हस्तान्तरण समेत गरेको छ।  करिब आठ लाख रुपैयाँबाट एक महिनामा निर्माण कार्य पूरा भएको हो। कोटको संरक्षणका लागि कोट परिसरभित्र विभिन्न कामहरू सेनाले पूरा गरेको छ।

पर्यटकीय सम्भावना बोकेको ठाउँमा अहिले निर्माण भएका संरचनाले पर्यटकलाई आकर्षित गर्नका लागि भूमिका खेल्न सक्ने स्थानीय नागरिक बताउँछन्। मन्दिर, सत्तल, ट्र्याक, पार्कको निर्माण गरेर इनारको स्तरोन्नति हुँदा ऐतिहासिक ठाउँको संरक्षणमा सहयोग पुगेको स्थानीय नरबहादुर थापाले बताए। निर्माण पूरा भएपछि सोमबार नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टर्सका पृतनापति उपरथी दीपक कुमार बानियाँसहितको सैनिक टोलीले अवलोकनपछि हस्तान्तरणको काम गरेको हो।

शंकरपोखरीका वडाध्यक्ष अर्जुनबहादुर कार्कीले कम लागतमा नै सेनाले आकर्षक तरिकाले भौतिक संरचनाहरू तयार पारेको बताउँदै उक्त क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने लक्ष्य फलेवास नगरपालिकाले लिएको बताए। कोटमा निर्माण भएको सामुदायिक भवनले पूजाआजा गर्न वा अवलोकनको लागि जानेहरूलाई पनि सहज बनाउने उल्लेख गरे।

‘सामुदायिक भवन, मन्दिर निर्माणसहित त्यहाँ रहेको इनारको संरक्षणको लागि छानो हालिएको छ। मुख्य उद्देश्य भनेको ऐतिहासिक ठाउँलाई पर्यटकीय स्थलमा रूपान्तरण गर्नु हो’, उनले भने, ‘यहाँ   ओखल, जाँतो, मुसल, लगायतका वस्तुहरू देख्न सकिन्छ। यहाँको इनार करिब एक बाँस गहिरो छ भन्ने किंवदन्ती छ। त्यसलाई जति सकिन्छ गहिरो हुने गरी उत्खनन गर्ने भनिएको भए पनि वर्षाको बेला भएकाले इनारलाई उत्खनन भन्दा पनि संरक्षणको काम गरिएको छ।’

बडा दसैँमा नौ दिनसम्म नै पुजारी बसेर पूजा हुने गरेको छ। तर यस अगाडि कुनै पनि संरचना नहुँदा पुजारीले दैनिक रूपमा घरबाट आउजाउ गर्दा समस्या हुने गरेको थियो। अब दसैँको अवधिमा पनि पूजा घरमा नै बस्न मिल्ने भएको छ।

पुर्कोटबाट लिमिकोट, दुर्लुङकोट, डहरे देउराली लगायतका कोट र पहाडी डाँडाका टुप्पाहरू देख्न सकिन्छ। भविष्यमा ती डाँडा र कोटलाई छुने गरी पर्यटकीय स्थलसम्म केबलकार निर्माण सकियो भने पर्यटन र आर्थिक विकासका लागि राम्रो सम्भावना देखिएकोले पुर्कोटको प्रवर्द्धन र प्रचारप्रसारको प्रयास गरिरहेको वडाध्यक्ष कार्कीको भनाइ छ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive