पर्वत : नेपाल शिक्षक संघ कुश्मा नगरपालिकाको आयोजनामा आउँदो भदौ १९ गते नेपाल रेडक्रस दिवसको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ ।
गत वर्षको रेडिक्रस दिवसमा पनि रक्तदान कार्यक्रमको आयोजना गरेको नगर कार्यसमितिले यस वर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिने गरी बैठकबाट निर्णय गरेको छ । कोही एक व्यक्तिले दिएको रगत कोही अरुको जीवन बचाउनमा सहयोग पुग्ने भएकाले मानवीयतालाई आत्साथ गर्दै यस वर्ष पनि भदौ १९ मा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतको प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यसमितिका अध्यक्ष मिम शर्मा लामिछाने जानकारी दिए ।
बैठकले शिक्षक संघमा आवद्ध भएका शिक्षक तथा विद्यालय कर्मचारीहरुको सदस्यता नवीकरणको कामलाई यही भदौ मसान्तभित्रमा सम्पन्न गरेर जिल्ला कार्यसमितिमा बुझाउने निर्णय गरेको छ । शिक्षक संघको ऐनमा नै हरेक आर्थिक वर्षको भदौ महिनासम्म नवीकरण गर्नुपर्ने प्रावधान रहे अनुसार समयमा नै नवीकरणको काम पूरा गर्न संघका वडा संयोजकहरुमार्फत काम थालिएको छ ।
शनिवार बसेको बैठककै अवसर पारेर नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति पर्वतको अध्यक्षमा सर्वसम्मत चुनिएका यज्ञनाथ बाँस्तोलालाई बधाई सहित सुखद र सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ । शिक्षकहरुको पेसागत हितका लागि विगतदेखि नै आवाज उठाउँदै आइरहेको संस्थाले अहिलेको अवस्थामा पनि आफ्नो आवाजलाई बुलन्द पार्नुपर्ने देखिएकोले पर्वतको नेतृत्व पनि यसमा समर्पित हुनुपर्ने बैठकमा सहभागीहरुले बताएका छन् ।
कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष बास्तोलाले जिल्लाका शिक्षकहरुको शुभेच्छाका कारण नै आफू पदमा पुगेको बताउँदै शिक्षकहरुको मुद्धाका विषयमा आवाज उठाउन कुनै कसर बाँकी नराख्ने बताए । शिक्षकहरुको बढुवा, सेवा सुबिधा, ऐन नआउँदा भएका समस्या, ऐनको मस्यौदामा रहेका केही व्यवस्था लगायतका विषयमा शिक्षकहरु आन्दोलित भइरहेको भन्दै उनले केन्द्रिय नेतृत्वलाई यसको बारेमा आवश्यक दबाब सृजना गर्ने काम भइरहेको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै नगर कार्यसमितिका अध्यक्ष लामिछानेले नेपाल शिक्षक संघ सामाजिक कामहरुप्रति प्रतिबद्ध रहेको बताएका छन् । ज्ञानका माध्यमबाट समाजमा परिचित शिक्षकहरुले समाजसेवाको काममा समेत रुची देखाउँदा अरुमा पनि सामाजिक मनोवृत्ति विकास हुने भएकोले रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको बताए । तत्कालिन समयमा शिक्षकहरुका पेसागत संघ संगठनले जिल्लामा दिने दबाबले पनि पेसागत हकहित संरक्षणमा ठूलो भूमिका खेल्ने गरेको भए पनि अहिले भने केन्द्रिकृत अवस्था रहेको बताए । तर प्रस्तावित ऐनमा राखिएका केही प्रावधानले भने शिक्षकहरुलाई झनै कमजोर बनाएर विद्यालय शिक्षाको गुणस्तर झनै खस्कीन सक्ने जोखिम समेत देखिएको उनको भनाई छ ।
सोही अवसरमा नगर कार्यसमितिका कामकारबाहीलाई सफल बनाउन सक्रियतापूर्वक लागेका कार्यसमिति सदस्यहरु संजय रेग्मी र रामप्रसाद शर्मालाई पनि सम्मान गरिएको छ ।
नगर कार्यसमितिका अध्यक्ष लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष भोजकुमारी शर्माले राखेकी थिईन भने कार्यक्रमको सञ्चालन सचिव महेन्द्रकुमार श्रेष्ठले गरेका थिए ।