पर्वत : पर्वतको जलजला गाउँपालिकामा रहेको मल्लाज कोट भगवती मन्दिरमा यस वर्ष राँगोको शिर छेदन गर्ने अवसर जलजला गाउँपालिका–३ निवासी ओमबहादुर जिसीका छोरा सुजन जिसीले प्राप्त गरेका छन् ।
हाल अस्ट्रेलियामा बस्दै आएका सुजनले ३ लाख ५५ हजार ५५५ रुपैयाँ बोलकबोल गरेपछि राँगोको शिर छेदन गर्ने अवसर पाएका हुन् । मन्दिरमा राँगोको शिर छेदन गर्ने व्यक्ति छनोट गर्न गोप्य रूपमा बोलकबोल गर्ने परम्परा छ । यस क्रममा सबैभन्दा बढी रकम तिर्ने प्रतिबद्धता जनाउने व्यक्तिले शिर छेदन गर्ने अवसर पाउने व्यवस्था रहेको छ । यस वर्ष उक्त अवसरका लागि दुई जनाले मात्रै निवेदन दिएका थिए । तीमध्ये सुजन जिसीले सबैभन्दा बढी रकम बोलकबोल गरेपछि उनलाई शिर छेदन गर्ने जिम्मेवारी प्राप्त भएको कोट मन्दिर पूजा सञ्चालक समितिका सहसचिव कुशल जि.सी.ले बताए ।
मल्लाज कोट भगवती मन्दिर नजिकै रहेको चण्डीदेवीको थानमा प्रत्येक वर्ष राँगोको बलि दिने र शिर छेदन गर्ने परम्परा रहँदै आएको छ । धार्मिक आस्था र परम्परासँग जोडिएको यस कार्यमा सहभागी हुँदा मनोकामना पूरा हुने जनविश्वाससमेत रहिआएको छ । राँगोको शिर छेदन गर्दा एकै प्रहारमा शिर छिनालिनैपर्ने मान्यता छ । हालसम्मको इतिहासमा दुई पटक प्रहार गर्नुपरेको घटना आफूलाई जानकारी नभएको सहसचिव जि.सी.को भनाइ छ ।
कोट भगवती मन्दिरमा राँगोको बलि दिने तथा शिर छेदन गर्ने परम्परा निकै पुरानो रहेको छ । यसको इतिहास करिब १२औँ वा १३औँ शताब्दीदेखि जोडिएको बताइन्छ । ऐतिहासिक विवरणअनुसार सुरुमा कोट जलजला गाउँपालिका–१ को कोटडाँडा भन्ने स्थानमा रहेको थियो । पछि त्यहाँबाट सारेर जलजला गाउँपालिका–५, लेकफाँटमा ल्याइएको थियो । लेकफाँटमा आगलागी भएको र बस्ती पनि तल रहेका कारण त्यहाँबाट पुनः माझफाँटमा कोट भगवतीलाई सारिएको इतिहास छ ।
मल्लाज कोट भगवती मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्वसँग जोडिएको यो परम्परा हरेक वर्ष निरन्तर चल्दै आएको छ । यसले स्थानीय धार्मिक आस्था, ऐतिहासिक विरासत र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । मन्दिरको इतिहास, परम्परा र शिर छेदन प्रक्रिया पर्वतका लागि फरक शैली, परम्परा र किंवदन्ती बोकिरहेको एउटा संस्कारका रूपमा रहेको उनको भनाइ छ ।
३ लाख ५५ हजार ५५५ रुपैयाँ तिरेर जलजलाका सुजनले गरे राँगोको शिर छेदन
कार्तिक ५, २०८३




