पर्वत : विद्यालय विधेयक शिक्षा क्षेत्रको विपक्षमा रहेको भन्दै आन्दोलन गरिरहेका शिक्षकहरूलाई समर्थन गर्दै नेपाली काँग्रेस पर्वतले शिक्षकहरूको मागको सुनुवाइ गर्न अनुरोध गरेको छ ।
नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीद्वारा जारी गरिएको विज्ञप्तिमा संसदबाट पारित हुन लागेको शिक्षा विधेयक २०८० का कतिपय प्रावधानहरू शिक्षकहरूको हित विपरीत रहेको र शिक्षकहरूको सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्याङ्कन, सेवा सुविधा, नियमन लगायतका विषयमा विधेयक पूर्वाग्रही हुनु वाञ्छनीय नभएको उल्लेख गरिएको छ ।
‘नेपाल शिक्षक महासङ्घद्वारा विभिन्न मागहरू राख्दै सामुदायिक विद्यालयका सबै शैक्षिक गतिविधि ठप्प पार्ने गरी यही असोज ३ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेको विषयमा नेपाली काँग्रेस पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘संसदबाट पारित हुन लागेको शिक्षा विधेयक २०८५० का कतिपय प्रावधानहरू शिक्षकहरूको हित विपरीत रहेको र शिक्षकहरूको सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्याङ्कन, सेवा सुविधा, नियमन लगायतका विषयमा विधेयक पूर्वाग्रही हुनु वाञ्छनीय होइन ।’
शिक्षकका पेसागत सुरक्षा, हकहित र सम्मानको ग्यारेन्टी राज्यले गर्नुपर्छ र शिक्षण पेसालाई मर्यादित बनाउनुपर्छ भन्ने शिक्षकहरूको मागका प्रति काँग्रेस पर्वतको पूर्ण ऐक्यबद्धता रहेको उल्लेख छ । शिक्षकहरुले अघि सारेका जायज मागलाई यथाशीघ्र सम्बोधन गरी जारी आन्दोलनका कार्यक्रमहरू फिर्ता लिने वातावरण निर्माण गर्न पनि पर्वत काँग्रेसले सरकारलाई अनुरोध गरेको छ ।
सामाजिक न्याय, चेतना र ज्ञानको पर्यायका रूपमा चिनिने देशको प्रबुद्ध वर्ग शिक्षक नै आन्दोलित हुँदा लाखौँ विद्यार्थीको भविष्य अन्योलमा पर्ने भएकोले परिस्थितिको गाम्भीर्यलाई समेत ध्यानमा राखी विद्यालय खोली शैक्षिक पठनपाठनलाई सुचारु गर्ने वातावरण निर्माण गर्न आन्दोलनरत सबै शिक्षकहरूलाई काँग्रेसले अनुरोध गरेको छ ।




