बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

पर्वत अपडेट : बाढीमा बेपत्ता दुई जना अझै भेटिएनन्, पोखराबाट कुकुर ल्याएर खोजिँदै

पर्वत : शनिबार साँझ भएको भीषण वर्षासँगै आएको बाढीले जिप नै बगाउँदा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको अवस्था अझै पनि अज्ञात नै छ।

उनीहरूको खोजीको लागि शनिवार साँझदेखि नै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी सहित सर्वसाधारण पनि खोजीमा जुटिरहेको भए पनि उनीहरूको अवस्थाका बारेमा पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले बताए।

मध्यपहाडी लोकमार्ग अन्तर्गत कुश्मा नगरपालिका ७ र ८ को सिमानाका रूपमा रहेको तमादी खोलामा आएको ठुलो बाढीमा पर्दा बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ६२१३ नम्बरको जिप नै बगाएको थियो। जिपमा सवार रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ का गोपाल बस्यालको शव फेला परेको भए पनि सोही जिपमा सवार पहिचान नखुलेका दुई जनाको जनाको अवस्था अज्ञात नै रहेको हो। घटना भएको करिब १८ घण्टा हुन लाग्दा पनि दुई जना यात्रु नभेटिएपछि जिल्लामा रहेका सुरक्षा निकायबाट पर्याप्त मात्रामा जनशक्ति खटाएर उनीहरूलाई भेट्टाउने प्रयास भइरहेको छ।

जनशक्तिको लामो प्रयासबाट पनि अवस्था पत्ता नलागेपछि जिल्ला प्रहरी कार्यालय पर्वतले गण्डकी प्रदेश प्रहरीसँग समन्वय गरेर कुकुरहरू समेत झिकाएर खोजी भइरहेको डि.एस.पी भुसालको भनाइ छ। ‘हिजो साँझ घटना भएलगत्तैबाट सुरक्षाकर्मी र आम नागरिकले पनि निकै मिहिनेतका साथ खोजी गर्दा पनि उहाँहरू भेटिनुभएको छैन,’ उनले भने, ‘यहाँको जनशक्तिको मिहिनेत सँगसँगै कुकुरहरूको सहायताबाट पनि भेट्टाउन सहज हुने भएकोले पोखराबाट कुकुर ल्याएर तमादी र मोदी खोला सहित खोलाका तिर र सम्भावित क्षेत्रहरूमा खोजी भइरहेको छ।’

मृत अवस्थामा भेटिएका बस्यालको शव भने पर्वत अस्पतालमा राखिएको छ। शव बुझ्नका लागि आइतबार बिहान नै आफन्तहरू आइसकेका छन्।  शवको पोस्टमार्टम गरेर कानुनी प्रक्रियाहरू पूरा गरेपछि आफन्तलाई शव जिम्मा लगाउने तयारी छ।

घटना लगत्तै पुगेको सुरक्षाकर्मीहरूको टोलीले तमादी खोला र उक्त खोला मिसिने मोदी खोलासम्म नै खोजी गरेको भए पनि तत्कालै जिप र त्यसमा सवार यात्रुहरूको बारेमा पत्ता लाग्न सकेन। पछि भने जिप करिब चार सय मिटर तल मोदी खोलाको किनार नजिकै भेटिएको थियो।

बाढीले जिप नै बगाएर मानिस नै बेपत्ता बनाएको यो नै पहिलो घटना भने होइन। दीर्घकालीन असरको मूल्याङ्कन नगरी खनिएका मोटरबाटोहरुबाट एकोहोरिएर आउने बाढीका कारण वर्षा यामको समयमा साना खोलाहरूमा पनि अनियन्त्रित बाढी आउने गरेको छ। यस अघि २०७८ सालको असार २२ गते साँझमा तमादी खोलापछि आउने दोबिल्लामा रहेको सुन्दरे खोलामा यसै गरी आएको बाढीले मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका प्रोजेक्ट म्यानेजरसहित तीन जनालाई गाडी सहित बगाएको थियो।

त्यो बेलाको बाढीले पनि जिपलाई करिब पाँच सय मिटर तल मोदी खोलाको किनारमा पुर्‍याएको  थियो।

थाहाखबरबाट साभार गरिएको सामग्री

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive