मङ्लबार, मंसिर २५, २०८१
Tuesday, December 10, 2024

समाजसेवी दुर्गा गुरुङको जन्मदिनमा ६ लाखका अक्षयकोष, ७० हजार आर्थिक सहयोग

पर्वत : जिल्लाको मोदी गाउँपालिका–५ बाजुङमा जन्मिएर हाल हङकङमा बस्दै आएका समाजसेवी दुर्गा घोताने गुरुङ ‘मिलन’ ले छ लाख रुपैयाँ राशिका पाँच वटा अक्षयकोष स्थापना गरेका छन् ।
जन्मदिन बाहेकको समयमा पनि केही न केही सामाजिक सेवा गर्दै आएका उनले आफ्नो हरेक जन्मदिनमा नबिराई केही न केही सामाजिक काम गर्दै आएका छन्। यस पटकको ५७ औँ जन्मोत्सवमा भने उनले एकै दिनमा हालसम्मकै ठुलो धनराशि सामाजिक सेवाका लागि खर्चिएका हुन् ।


जिल्लाको मोदी गाउँपालिकामा शनिवार आयोजित एक कार्यक्रममा उनी संस्थापक संरक्षक रहेको संस्था मिलन फाउन्डेसनको तर्फबाट आयोजना गरिएको एक कार्यक्रममा अक्षयकोष सहित आर्थिक सहयोग गरिएको हो । गुरुङ हाल हङकङमा नै रहेको भए पनि उनी संरक्षक रहेको संस्थाले उनीबाट प्राप्त भएको रकमबाट ती अक्षयकोष स्थापना गरेको हो ।


गुरुङको सक्रियतामा कृषकहरूको समूहदेखि नौमती बाजाको संरक्षणको लागि पनि समूह निर्माण गरिएका छन् । फाउन्डेसन सहित अहिलेसम्म १८ वटा संस्थाहरू स्थापना भइसकेका फाउन्डेसनकी कार्यवाहक अध्यक्ष देवी गुरुङले बताइन् । ती सबै संस्थाहरूलाई नियमन र सञ्चालन गर्ने गरी ‘मिलन ग्रुप आफ नेपाल’ नामक संस्था स्थापना गरिएको छ । सोही संस्थामा आबद्ध रहेका संस्थाहरूमध्ये सबैभन्दा बढी सक्रिय रहँदै आम नागरिकको जनजीविका चलाउन सहयोगी भूमिका निर्माण गरेका पाँच वटा संस्थाहरूमा अक्षयकोषको स्थापना गरिएको उनको भनाई छ ।


शनिवार आयोजित कार्यक्रममा मोदी गाउँपालिका–५ बाजुङका का मिलनशील दलित कृषक समूह, मिलन बहुउद्देश्यीय महिला कृषक समूह, मिलन प्रगतिशील महिला कृषक समूह र पातीचौरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा एक÷एक लाख रुपैयाँ मूल राशि रहेका अक्षयकोष स्थापना गरिएको छ । उक्त रकम ती संस्थाका प्रमुख तथा प्रतिनिधिहरूलाई अक्षयकोषको कार्यविधि सहित हस्तान्तरण गरिएको छ । यस्तै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ गण्डकी प्रदेशका लागि दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । उक्त रकम अध्यक्ष रुद्र श्रीस र उपाध्यक्ष खिमा गुरुङलाई हस्तान्तरण गरिएको छ । रकम ग्रहण गर्दै अध्यक्ष श्रीसले अक्षयकोषको ब्याजबाट आउने रकमले हरेक वर्ष एक जना आदिवासी जनजाति पत्रकारलाई नगद सहित सम्मान गरिने बताए ।


गुरुङले आर्थिक सहयोग अन्तरगत विगतको सहयोगलाई निरन्तरता दिँदै सडक बालबालिकाहरूको पालनपोषण तथा संरक्षणमा काम गर्दै आइरहेको काठमाण्डौंको महिला तथा बाल विकास मञ्चलाई ५० हजार रुपैयाँ उपलब्ध गराएका छन् । यस्तै यस वर्षको तिहारमा पोखरामा मौलिक र सांस्कृतिक देउसी भैलो प्रदर्शन गरेको युवाहरूको समूहलाई २० हजार रुपैयाँ सहयोग गरिएको छ ।


कार्यक्रममा बोल्दै मोदी गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले आफू र आफ्नो परिवारको लागि मात्रै काम गर्ने व्यक्तिहरू धेरै भए पनि आफ्नो खर्च कटौती गरेर समाजको लागि योगदान गर्ने व्यक्तिहरू बिरलै पाइने बताइन् । गाउँपालिकाले गर्नुपर्ने जस्तै कामहरू एक्लो व्यक्तिले गरिरहेको देखेर आफूहरू पनि खुसी भएको बताउँदै उनले ‘मिलन ग्रुप अफ नेपाल’ मा आबद्ध रहेका संस्थाहरूले कृषि फार्मदेखि कृषि सहकारी सञ्चालन गरेर जीविकोपार्जनमा पु¥याएको योगदानमा आफूहरू पनि सहकार्य गर्न तयार रहेको उल्लेख गरिन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive