पर्वत : जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवाले खेतीयोग्य जमिन सहित घर, गोठ, शौचालय, मठ, मन्दिर, पाटी, पौवा नजिकै रहेका रुखहरू हटाउन वडावासीलाई निर्देशन दिएको छ।
कार्यवाहक वडाध्यक्ष देव शर्मा लम्सालद्वारा जारी गरिएको सूचनामा खेतीयोग्य जमिनको १५ मिटर र घर, गोठ, शौचालय, मठ, मन्दिर, पाटी, पौवाको २५ मिटर भित्रका रुखहरू सम्बन्धित रुख धनीले मङ्सिर १५ गतेदेखि पुस १५ गते भित्रमा हटाउन भनिएको छ। निर्धारित मितिसम्ममा रुख नहटाएमा गत वैशाख १७ गते बसेको सर्वदलीय र सर्वपक्षीय आम भेलाको निर्णय बमोजिम वडा कार्यालयले कदम चल्ने भनिएको छ।
रुख धनी आफैले रुख नहटाएमा सम्बन्धित टोल विकास संस्थाले उक्त रुखहरू कटान गरी हटाउने र टोल विकास संस्थाले कटान गरेका रुखहरू टोल विकास संस्थाले नै बिक्री वितरण गरी प्राप्त आम्दानी सम्बन्धित टोलकै विकासको लागी खच गर्ने उल्लेख छ। टोल विकास संस्थाले कटान गरेका रुखहरू उपर रूख धनी कसैले पनि आफ्नो दाबी गर्न नपाउने निर्णय वैशाखमा भएको आम भेलाबाट भएकोले सोही अनुसार वडाको निर्देशन मान्न पनि वडा कार्यालयले वडावासीमा अनुरोध गरेको छ ।
मुडिकुवाको माटोलाई उर्वर मानिन्छ। धान, कोदो, मकै, गहुँ, जौ लगायतका खाद्यवालीहरु सहित तरकारी उत्पादनमा पनि मुडिकुवा राम्रो मानिने गरिएको छ। तर पछिल्लो समय गाउँबाट बढिरहेको बसाइसराइका कारण बस्तीहरू रित्ता हुँदै जाँदा उत्पादनयोग्य भूमिमा पनि रुख बिरुवा हुर्किरहेका छन्। बसाइ सरेर गएका व्यक्तिहरूले आफ्ना रुखहरू नहटाउँदा गाउँमै बसेर खेतीपाती गर्दै आइरहेका कृषकहरू भने समस्यामा परेका छन्। घर, गोठ, मन्दिर, पाटी, पौवा लगायतका भौतिक संरचनाका नजिकै हुर्किरहेका अग्ला रुखहरू ढलेर घरमा नै पर्नेदेखि ती रुखहरूकै कारण घर आँगनसम्मै बाँदरको आतङ्क पनि बढिरहेको छ।
‘वडाले गरेको यो काममा सबैले साथ दिएर यो अभियानलाई सफल पार्नुपर्ने देखिएको छ। जुन रुखहरूले कुनै उत्पादन दिँदैनन् त्यस्ता रुखहरूको राम्रो खेतबारीमा हुर्किरहेका छन्। घर गोठ नै जोखिम पर्ने गरी नजिकै अग्ला रुखहरू पालिएको छ। खेतमा उत्पादन घट्ने अवस्था छ भने बस्तीहरू जोखिममा परेका छन्,’ मुडिकुवाका नरनाथ सापकोटा भन्छन्, ‘महत्त्व बोकेका वा जोगाउनुपर्ने रुखहरू त जोगाउनुपर्ला तर विद्युतीय तार, सार्वजनिक सम्पत्ति तथा व्यक्तिको भौतिक सम्पत्तिमा पनि असर पार्ने रुखहरू हटाउनु राम्रो हो।’
‘अनुत्पादक रुख हटाऔँ, उज्यालो मुडिकुवा बनाऔँ, उत्पादनमुखी बिरुवा लगाऔँ, उत्पादन बढाऔँ’ भन्ने मूल नारा मुडिकुवाले खेतीयोग्य जमिन तथा वासस्थानमा असर गरेका रुखहरू हटाउन थालेको हो।
यसअघि २०७६ सालमा फलेवास–५ खानीगाउँ र ६ देवीस्थानमा रूख काट्ने अभियान चल्दा काट्ने र नकाट्ने पक्षधरबिच बहस चलेको थियो। उत्पादन योग्य जमिन, विद्युतीय तार टाँगिएको ठाउँ, घरनजिकै जोखिमको अवस्थामा रहेका पुराना र अग्ला रूखहरू तथा सडक विस्तारको मापदण्डमा परेका रूखहरू काट्दा कतिपयले पर्यावरणमा असर परेको भन्दै विरोध गरेका थिए।
खेतीयोग्य जमिनको १५ मिटर र घरको २५ मिटर भित्रका रुख हटाउँदै मुडिकुवा
मंसिर ५, २०८०
