पर्वत : पर्वतको महाशिला गाउँपालिकाले स्थानीय तह संस्थागत क्षमता स्व–मूल्याङ्कन (लिजा) मा झण्डै ७६ प्रतिशत अङ्क प्राप्त गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पराजुलीका अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८० बमोजिम निर्माण भएको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ अनुसार गाउँपालिकाका कामहरुको मूल्याङ्कन भएको हो । आर्थिक वर्ष २०७९÷८० को मूल्याङ्कन गर्न समग्रमा एक सय पूर्णाङ्क रहेकोमा गाउँपालिकाले ७५ दशमलव ७५ अङ्क प्राप्त गरेको छ । यस बारेमा सोमबार बसेको गाउँपालिकाको कार्यपालिकाको बैठकले समेत उक्त प्राप्त अङ्क अनुमोदन गरी जिल्ला समन्वय समिति पर्वतमा पठाएको छ । साथै समन्वय समितिबाट पनि स्वीकृत भएकोले स्थानीय तह संस्थागत स्वमूल्याङ्कन कार्यविधिले तोके अनुसार सूचना निकालिएको प्रमुख प्रशासकीय अधिकृत पराजुलीले बताए ।
मूल्याङ्कनको नतिजा अनुसार सबैभन्दा बढी न्यायिक कार्यसम्पादनमा शत प्रतिशत प्राप्त भएको छ भने सबैभन्दा कम सहकार्य र समन्वयमा ३३ दशमलव ३३ प्रतिशत अङ्क आएको छ । अन्य क्षेत्रहरु संगठन तथा प्रशासनमा ८१ दशमलव २५, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ८६ दशमलव ८६ दशमलव ३६, वित्तिय एवं आर्थिक व्यवस्थापनमा ९३ दशमलव १८ प्रतिशत, सेवा प्रवाहमा ९३ दशमलव ९७ प्रतिशत अङ्क प्राप्त भएको छ । यस्तै भौतिक पूर्वाधारमा ४८ दशमलव ०८, सामाजिक समावेशीकरणमा ५५ र वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ५८ दशमलव ३३ प्रतिशत अङ्क आएको छ ।
मूल्याङ्कनका क्रममा प्राप्त भएको अङ्कहरुको समग्र मूल्याङ्कनबाट गाउँपालिकाले ७५ दशमलव ७५ प्रतिशत अङ्क प्राप्त भएको हो ।
सोमवार, कार्तिक १९, २०८१
Monday, November 4, 2024