पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरमा रहेको शुभकल्याण आधारभूत विद्यालयको ६२ औँ बार्षिकोत्सवको अवसरमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
यस पटक १६ औँ संस्करणको १२ औँ प्रतियोगिता प्राथमिक तह स्तरीय हाजिरीजवाफ आयोजना गरिएको हो । विभिन्न विधा समेटेर तयार पारिएका प्रश्नहरूबाट सदरमुकाम कुश्मा बजारको कालीगण्डकी एकेडेमी प्रथम, कुश्मा नगरपालिका–९ कटुवाचौपारीको सार्वजनिक माध्यमिक विद्यालय द्वितीय, कुश्माकै नमुना अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय तृतीय र कटुवाचौपारीको आइबल एकेडेमी सान्त्वना भएका छन् । प्रतियोगितामा कुश्मा नगरपालिकाभित्रका १६ वटा विद्यालयहरूको सहभागिता रहेको थियो। ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले सामुदायिक विद्यालयहरूमा गुणस्तर कायम गर्नका लागि शिक्षाका सरोकारवालाहरू सबैको ऐक्यबद्धता चाहिने बताइन् । ग्रामीण क्षेत्रमा बसाइसराइले विद्यालयमा बिद्यार्थीहरुको सङ्ख्या घट्दै गइरहेको भए पनि शिक्षामा गुणस्तर भने हुनुपर्ने उनको भनाई छ । सदरमुकामबाट टाढा रहेको शुभकल्याण आधारभूत विद्यालयको बार्षिकोत्सवको अवसरमा हरेक वर्ष विभिन्न कार्यक्रमहरू हुने गरेको भन्दै उपप्रमुख रिजालले शैक्षिक गतिविधिमा विद्यालयले गरिरहेको प्रयासप्रति धन्यवाद ज्ञापन गरिन् ।
कार्यक्रममा बोल्दै आर्थरका वडाध्यक्ष रुद्रमोहन रिमालले गाउँ गाउँमा विकासको लहर आएको भए पनि गाउँ भने रित्ता बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे । हाम्रो सिकाई र सङ्घर्ष तथा व्यवहारिक शिक्षा गाउँमा नै धेरै हुने भए पनि गुणस्तरीय शिक्षाको नाममा बसाई सर्दै जानु गलत भएको उनको भनाई छ । गाउँका विद्यालयमा विद्यार्थी सङ्ख्या कम भए पनि जति छन् त्यतिलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने हो भने बजार गएकाहरू पनि फर्किने अवस्था आउन सक्ने वडाध्यक्ष रिमालको भनाई छ।
कार्यक्रमकै अवसर पारेर बाल कक्षा स्तरीय भिडियो क्लिप प्रतियोगिताका विजेताहरूलाई पनि पुरस्कार वितरण गरिएको छ । नगरपालिकाभित्र रहेका विद्यालयहरूले आफ्नो विद्यालयका बाल कक्षामा भइरहेको शिक्षण सिकाई क्रियाकलापलाई समेटेर भिडियो बनाउन भनिएको थियो । कुश्मा नगरपालिकाको शिक्षा शाखामा पेस गरिएका भिडियो क्लिपहरूको मूल्याङ्कन पनि शिक्षा शाखाबाट नै गरिएको थियो ।
उक्त प्रतियोगितामा कुश्मा नगरपालिका–२ खुर्कोटमा रहेको सूर्योदय प्राथमिक विद्यालयकी शिक्षक सुनिता शर्मा भट्ट प्रथम बनेकी छिन् । यस्तै आयोजक शुभकल्याण आधारभूत विद्यालयकै शिला कुमारी रिमाल र आर्थरकै पञ्चकोशी मा.वि.की आश कुमारी गुरुङ द्वितीय स्थानमा आएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुना गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक सुरेन्द्र शर्मा गौतमले गरेका थिए ।