पर्वत : आहा! रारा पोखरा गोल्डकप अन्तर्गत २०७५ सालमा भएको १७ औँ संस्करणको फाइनलमा थ्री स्टार क्लब र विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब भिडे। निकै कडा प्रतिस्पर्धात्मक खेल अन्ततः ‘सडन डेथ’मा पुग्यो। ९० मिनेटको समयमा दुवै टिमबाट एक÷एक गोलको बराबरी भएपछि ३० मिनेट अतिरिक्त समय थप भयो।
थप गरिएको समयमा पनि दुवै टिमबाट पुनः एक÷एक गोल भएर खेल दुई÷दुई गोलको बराबरीमा पुग्यो। थ्री स्टारले गोल गर्दा आर्मीको प्रहारलाई थ्री स्टारका गोलकिपरले रोक्दा थ्री स्टारले पाँचौँ पटक गोल्डकपको उपाधि जित्ने मौका पायो। चौथो पटक फाइनलमा पुगेको आर्मीले पहिलो पटक उपाधि चुम्न चाहेर पनि उपविजेतामा नै चित्त बुझाउनुप¥यो । थ्री स्टार २०६३, २०६७, २०६९, २०७१ र २०७५ सालमा विजेता र २०७४ सालमा उपविजेता बनेको थियो भने आर्मीले २०६५, २०६६, २०७२ र २०७५ मा उपविजेतामा चित्त बुझाएको छ।
१७ औँ संस्करणकै झल्को दिने गरी आहा! रारा पोखरा गोल्डकपको २३ औँ संस्करणमा पनि यिनै दुई टोली शनिवार दिउसो दुई बजे पोखरा रङ्गशालामा भिड्दै छन्। यस संस्करणमा थ्री स्टारले आफूलाई छ पटकको उपाधि विजेताका रूपमा दर्ज गराउन चाहन्छ नै। आर्मीले पनि पाँचौँ पटक फाइनलमा पुग्न पाएको मौकालाई सदुपयोग गर्दै पहिलो पटक विजेताको स्वाद लिन चाहेको छ।
जारी संस्करणमा माघ ९ मा आयोजक सहारा क्लब र थ्री स्टार भिडेका थिए। जसमा थ्री स्टारले सहारालाई २–१ गोल अन्तरले पराजित गरेको थियो। माघ १३ मा थ्री स्टारले भुटानको पारो फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित ग¥यो भने माघ १७ मा थ्री स्टारसँग जावलाखेल यूथ क्लब १–० ले पराजित भएको थियो।
यस्तै आर्मीले माघ १० मा राइजिङ स्टार फुटबल क्लबलाई १–० ले, माघ १४ मा साबिक विजेता सङ्कटा क्लबलाई ३–० ले र माघ १८ मा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले पाखा लगाउँदै फाइनलको यात्रा तय गरेको हो।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका क्लब, विभागीय टिमहरू, सुपर लीगका टिम, विदेशी टिम, मोफसलका टिमसहित आयोजक सहारा क्लबकै टिम गरेर कुल १२ टिमले प्रतिस्पर्धा गरेका थिए।
सहारा क्लबका पोखराका महासचिव रामजीप्रसाद अधिकारीका अनुसार फाइनल खेल हेर्नका लागि साधारणतर्फ तीन सय रुपैयाँ र भिआइपीतर्फ पाँच सय रुपैयाँ टिकट दर निर्धारण गरेको छ।
आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा २८ लाख रुपैयाँ भन्दा बढी रकम पुरस्कारका लागि मात्रै खर्च हुने छ। प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख एक हजार रुपैयाँ र दोस्रो हुने टोलीले छ लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन्। सहभागी टोलीले हरेक खेलमा प्रोत्साहन रकम पाउने सहारा क्लबका अध्यक्ष केशवराज बरालले बताए। प्रि–क्वार्टर खेल्ने दुवै टोलीले २० हजार, क्वार्टर फाइनल खेल्ने टोलीले ३० हजार तथा सेमिफाइनल खेल्ने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यसरी सबै पुरस्कारका लागि २८ लाख ३२ हजार पाँच सय ५५ रुपैयाँ खर्च हुने छ।
विगत २३ वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगिताबाट बचत हुन आएको रकम क्लबबाट सञ्चालित सूर्य बहादुर के. सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गर्ने गरिएको छ। सहारा क्लबले २०६१ साल देखि आवासीय रूपमा निःशुल्क स्वास्थ्य, शिक्षा दीक्षा लगायत फुटबल प्रशिक्षण सहित सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आइरहेको छ। पोखरा महानगरपालिका–१७, दोविल्लामा रहेको सहारा एकेडेमीमा अहिले चौथो ब्याचमा आठ जिल्लाका १४ जना बालकहरू आश्रित छन्। विपन्न तथा कठिन परिस्थितिका बालकलाई आवासीय रूपमा निःशुल्क स्वास्थ्य, शिक्षादीक्षा लगायत फुटबल प्रशिक्षण गर्दै आएको छ।
पाँच पटकको विजेता थ्री स्टारसँग भिड्दै चार पटकको उपविजेता आर्मी
आहा! रारा पोखरा गोल्ड कप फाइनल शनिवार
माघ २०, २०८०




