पर्वत : प्रगतिशिल पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालले आफ्नो स्थापना दिवसको अवसर पारेर हाजीरिजवाफ प्रतियोगीता सम्पन्न गरेको छ ।
स्थापना दिवसको अवसरमा देशभरका शाखाहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना गरे अनुसार पर्वतमा जनबर्गीय संगठनहरुका वीचमा हाजिरिजवाफ प्रतियोगिताको आयोजना गरिएको थियो ।
जिल्ला शाखा पर्वतका अध्यक्ष कृष्ण अखेलीका अनुसार कुल आठ समूहको प्रतिस्पर्धामा नेपाल निजामति कर्मचारी सङ्गठनबाट सहभागी भएका भरत सापकोटा, सन्तोष थापा र पुण्य कुमारी शर्माको समूह पहिलो बनेको छ । नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी महासंघबाट सहभागी राम बहादुर खड्का, राधा कुमारी शर्मा र नारायण प्रसाद रेग्मीको समूह दोस्रो बनेको छ भने आदिबासी जनजाति महासंघ पर्वतबाट सहभागी समूह तेस्रो बनेको छ ।
प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसर पारेर नेकपा एमाले निकट जनबर्गीय संगठनहरुको सहभागीता रहने गरी प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगीतामा प्रेस चौतारी, नेकपा एमाले र कम्युनिष्ट क्रान्तिका विषयमा प्रश्नहरु सोधिएको थियो ।
पछिल्लो समय सामाजिक सञ्जालको अधिक उपयोगका कारण अध्ययनमा कमी भएकाले पनि अध्ययन गर्ने बानीको विकास गराउनका लागि यस्तो रचनात्मक कार्यक्रमको आयोजना गरिएको हो । पर्वत सदरमुकाम कुश्मा बजारको शिवालय क्याम्पस परिसरमा शाखाले कार्यक्रमको आयोजना गरेको थियो । शाखा अध्यक्ष अखेलीले देशमा नै आफूहरुले प्रशिक्षणमूलक तर रचनात्मक कार्यक्रमको आयोजना गरेको बताए ।
कार्यक्रममा नेकपा एमाले पर्वतका अध्यक्ष राजु पौडेल, केन्द्रीय सदस्य तथा संबिधान सभा सदस्य कल्पना चापागाई लगायतले बोलेको थिए ।