बुधबार, अशोज २, २०८१
Wednesday, September 18, 2024

शिक्षक सङ्घ पर्वतको २४ औँ जिल्ला प्रतिनिधि तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न

पर्वत : नेपाल शिक्षक सङ्घ पर्वतको २४ औँ जिल्ला प्रतिनिधि भेला तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
शनिवार सदरमुकाम कुश्मा बजारमा आयोजित कार्यक्रममा सहभागी भएका जिल्लाका सात वटै स्थानीय तहहरूका प्रतिनिधि तथा सङ्घमा आबद्ध रहेका शिक्षकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल शिक्षक सङ्घ जिल्ला कार्यसमितिका कोषाध्यक्ष नवीन कुमार क्षेत्रीले आर्थिक तथा सचिव नागेश्वर उपाध्यायले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् । दुई वटै प्रतिवेदनहरू भेलाबाट पारित भएका भएका छन् ।
कार्यक्रममा सात वटै स्थानीय तहका ६० जना भन्दा बढी शिक्षकहरूलाई सम्मान गरिएको छ । गत एक वर्षको अवधिमा शिक्षक सेवा आयोगबाट विभिन्न तहमा बढुवा भएका शिक्षकहरूलाई सम्मान गरिएको हो । जसमा माध्यमिक तह द्वितीय श्रेणीमा बढुवा भएका ८ जना, निम्न माध्यमिक तह द्वितीय श्रेणीमा बढुवा भएका ७ जना, प्राथमिक तह प्रथम श्रेणीमा बढुवा भएका ७ जना र प्राथमिक तह द्वितीय श्रेणीमा बढुवा भएका ३८ जनालाई प्रमाणपत्र सहित सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभाका सदस्य अर्जुनप्रसाद जोशीले समाजमा शिक्षकहरूको भूमिकाका बारेमा आफू पूर्ण रूपमा जानकार रहेको बताउँदै गुणस्तरीय शिक्षाका माध्यमबाट सामाजिक परिवर्तनको संवाहक पनि शिक्षक नै रहेको बताए । तर आजभोलि समाजको सोच, कतिपय शिक्षकहरूका गतिविधि, वैदेशिक पलायन लगायतका कारण शिक्षण पेसाप्रतिको ओज नै केही कम भएको जस्तो देखिएकोप्रति उनले चिन्ता व्यक्त गरे । शिक्षामा गुणस्तर कायम नभएसम्म नेपालीहरूको समस्या जस्ताको तस्तै रहने भएकोले शैक्षिक गुणस्तर कायम गर्नको लागि शिक्षक सङ्घमा आबद्ध रहेका शिक्षकहरूको भूमिका झनै बलियो हुनुपर्ने उनको सुझाव छ ।
कतिपय शिक्षकहरुले आफ्नो निजी स्वार्थ पूरा गर्नको लागि राजनीतिक नेतृत्व वा जनप्रतिनिधिसँग घुँडा टेक्दै जाने प्रवृत्तिका कारण पनि शिक्षा क्षेत्रमा समस्या भएको जस्तो लागेको नेता जोशीले बताएका छन् । शिक्षकहरूका साझा मुद्दाको लागि सबै शिक्षकहरू एकबद्ध भई लडाइँमा जाने हो भने त्यसले सफलता पाउने भन्दै उनले शिक्षकहरूको साझा मुद्दाको सुनुवाइका लागि आफू शिक्षकहरूसँगै हिँड्नका लागि तयार रहेको उनको भनाइ छ । शिक्षकहरुले ठिकलाई ठिक र बेठीकलाई बेठीक भन्न नसक्ने हो समाज अलमलमा पर्ने भएकोले शिक्षकहरू समाजका उदाहरणीय पात्रका रूपमा कायमै रहनुपर्ने नेता जोशीले सुझाएका छन् ।
यस्तै नेपाल शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष लक्ष्मी रेग्मीले नेपाल शिक्षक सङ्घ नेपाली काँग्रेसको शुभेच्छुक संस्था रहेकोले शिक्षकहरूको सकारात्मक भूमिकाले दुवै पक्षलाई बलियो बनाउने बताए । शिक्षकहरूको मागको सुनुवाइका विषयमा शिक्षक सङ्घले केन्द्रीय समितिमार्फत नेपाल सरकारसँग आवश्यक समन्वय गरेको बताउँदै उनले शिक्षकहरूको पेसागत आन्दोलनका लागि आफूहरू सदैव तयार रहेको उनको भनाइ छ । शिक्षकहरुले आफ्नो मागका विषयमा राजनीतिक नेतृत्वहरूलाई गाली गरेर मात्रै नहुने भएकाले सकारात्मक रूपमा बौद्धिक तरीकाले समन्वय गर्न आवश्यक रहेको रेग्मीले बताए ।
कार्यक्रममा नेपाल शिक्षक सङ्घको सङ्घ तथा प्रदेशमा प्रतिनिधित्व गर्ने शिक्षक प्रतिनिधिहरू, विभिन्न स्थानीय तहहरूबाट प्रतिनिधित्व गरेका शिक्षकहरू, सङ्घका वर्तमान तथा पूर्व पदाधिकारीहरू, विभिन्न स्थानीय तहका प्रमुखहरू, नेपाली काँग्रेस पर्वतमा आबद्ध रहेका विभिन्न नेताहरू, प्रदेश सांसद लगायतले शुभकामना व्यक्त गरेका थिए । नेपाल शिक्षक सङ्घ पर्वतका अध्यक्ष यज्ञनाथ बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव नागेश्वर उपाध्यायले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्यहरू पनि प्रस्तुत गरेका थिए ।
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive