शनिबार, साउन ५, २०८१
Saturday, July 20, 2024

आफै पाठ्यपुस्तक बनाएर वितरण गर्ने योजनामा मोदी गाउँपालिका

पर्वत : विकेन्द्रीकरणको अवधारणा स्थानीय पाठ्यक्रम निर्माण गरेर लागू गर्ने विषय अगाडि आएको छ । देशमा सङ्घीयता लागू नहुनु पूर्व यो विषय सुनसान रहेको भए पनि सङ्घीयतासँगै स्थानीय तह बनाएपछि स्थानीय पाठ्यक्रम निर्माणका कुरा ब्युँतिन थालेका छन् ।

स्थानीय तहको अवस्था, आवश्यकता, उपलब्धता, परिस्थिति लगायतको विश्लेषण गरी स्थानीय तहले पाठ्यक्रम तयार पारेर लागू गर्ने बारेमा धेरै अबाजहरू पनि उठिरहेका छन् । देशका कतिपय स्थानीय तहहरूले स्थानीय पाठ्यक्रम लागू गरेको भए पनि कतिपय भने अझै पनि अलमलमा छन् ।

जिल्लाको मोदी गाउँपालिकाले भने आउँदो शैक्षिक सत्रबाट पाठ्यक्रम मात्रै नभएर पाठ्यक्रममा आधारित पाठ्यपुस्तक नै छापेर वितरण गर्ने तयारी थालेको छ । गाउँपालिकाले गत वर्षको चैतमा पाठ्यक्रम निर्माणको लागि निर्माण गरेको कार्यदलले तयार पारेको पाठ्यक्रम गत भदौदेखि गाउँपालिकाका सबै विद्यालयहरूमा कार्यान्वयन गरिएको थियो ।

गाउँपालिकाका शिक्षा अधिकृत प्रकाशबहादुर क्षेत्रीका अनुसार पाठ्यक्रम लागू भएको सात महिनाको अवधिमा भोगिएका अनुभवहरूको विश्लेषण सहित सरोकारवालाहरूबिच संयुक्त छलफल कार्यक्रमको आयोजना गरेर पाठ्यपुस्तक तयार गर्दा सुधार गर्नुपर्ने विषयवस्तुबारे निष्कर्ष निकालेर तयारी थालिएको छ । मोदीको पाठ्यक्रमले ‘विद्यालयदेखि फर्म, फर्मदेखि विद्यालय’ भन्ने कार्यक्रमलाई प्राथमिकतामा राखेर जीवनोपयोगी शिक्षामा ध्यान दिइरहेको उनको भनाई छ ।

पाठ्यक्रमको प्रारम्भिक विश्लेषणको क्रममा यसको कार्यान्वयन सन्तोषजनक रहेको पाइएकोले आउँदो शैक्षिक सत्रमा कक्षा तीनसम्म पाठ्यपुस्तक नै छापेर वितरण गर्ने तथा सम्भव भएसम्म कक्षा चारदेखि आठसम्म पाठ्यपुस्तकको ‘डिजिटल कपी’ उपलब्ध गराउने गरी गाउँपालिकाले तयारी गरिरहेको छ । ‘विज्ञ र शिक्षकहरूको सहभागितामा तयार पारेको स्थानीय पाठ्यक्रमलाई अब आवश्यक परिमार्जन सहित पाठ्यपुस्तकका रूपमा ल्याउन सुझाव पनि लिएका छौँ,’ शिक्षा अधिकृत क्षेत्रीले भने, ‘पाठ्यक्रम निर्माणको बेलामा वडा र टोलसम्म पुगेर सामान्य नागरिकहरूका सुझाव पनि लिएर पाठ्यक्रम निर्माण गरेका थियौँ । अहिले कार्यान्वयनमा पनि टोल टोलका व्यक्तिहरूले सहयोग गर्दै आफूले लिनुभएको अपनत्वले स्थानीय पाठ्यक्रमको मर्मअनुसार नै अगाडि बढेका छौँ भन्ने लागेको छ ।’

गाउँपालिकाका एक जना शिक्षक कुमारप्रसाद उपाध्यायले स्थानीय पाठ्यक्रम स्थानीय आवश्यकताको मर्म अनुसार हुनुपर्ने र मोदीको पाठ्यक्रम मोदीको माटोले मागेको जस्तै भएको बताए । आफूहरूले लागू गरेको पाठ्यक्रम श्रमसँग जोडिएको, श्रमको सम्मान गर्ने र श्रमप्रति सकारात्मक रहेको भन्दै उनले ‘एक विद्यार्थी, एक सीप’ को उद्देश्य पाठ्यक्रमले लिएको बताउँछन् ।

अर्का शिक्षक भूमिराज शर्माले पाठ्यक्रमको कार्यान्वयनको अवस्थाको बारेमा सबै विद्यालयका स्थानीय पाठ्यक्रमका शिक्षक, जनप्रतिनिधि, विज्ञ, सरोकारवालाबिच छलफल भइरहेको बताउँछन् । पाठ्यक्रमको कार्यान्वयन सन्तोषजनक रहेको निष्कर्ष सहित थप पाठ्यसामग्रीहरू निर्माणको आवश्यकता देखिँदा अब पाठ्यपुस्तक नै छाप्ने तयारी गर्नु खुसीको कुरा भएको उनी बताउँछन् । पाठ्यक्रम जीवनोपयोगी शिक्षासँग केन्द्रित रहँदा मोदीको उत्पादन, बजारीकरण, व्यवसायीकरणमा निकै ध्यान दिएको उनको भनाई छ ।

गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले मोदीको माटोमा केन्द्रित पाठ्यक्रमलाई प्रभावकारी रूपमा विद्यालयमा कार्यान्वयन गर्न आवश्यक पूर्वाधारहरू विद्यालयमा निर्माण हुने क्रम चलिरहेको बताए । पाठ्यक्रम कृषिमा केन्द्रित रहेकाले स्थानीय सरकारले पनि आगामी योजनामा पाठ्यक्रमका उद्देश्य पूरा गर्ने गरी बजेटको व्यवस्थापन र संरचना निर्माणमा ध्यान दिँदै जनशक्तिको व्यवस्थापनमा लाग्ने उनको भनाइ छ ।

‘वाद्यवादन, कपाल काट्ने लगायतका लागि दक्ष जनशक्तिको व्यवस्थापन सहितका कुराहरू मिलाउनु छ । पाठ्यक्रममा स्थानीय तहले बढी नै महत्त्व दिइरहेको छ । निर्माणको बेलामा वडा र टोलसम्म पुगेकाले पनि यसमा सबैको अपनत्व छ,’ उपाध्यक्ष लामिछाने भन्छन्, ‘स्थानीय आवश्यकताको आधारमा निर्माण भएकाले यसको कार्यान्वयनमा स्थानीयको पनि चासो बढी देखिएको छ । बजा बजाउन जान्नेले विद्यालयमा पुगेर आफै सिकाएका छन्, गाउँका विज्ञले विद्यालयमा गएर जानेका कुरा सिकाइरहेका छन् ।’

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive