पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जिल्लामा नै पहिलो पटक मादक पदार्थ सेवन गरेर सवारी चलाएकाहरूको लागि सचेतना कक्षा सुरु गरेको छ।
देशका विभिन्न जिल्लामा यस अगाडिदेखि नै मादक पदार्थ सेवन गरी सवारी चलाएकाहरूलाई सचेतनामूलक कक्षामा सहभागी गराएर प्रशिक्षण दिने गरिएको थियो। पर्वतमा भने अहिलेसम्म पनि यस्तो अभ्यास नभएको भए पनि आइतबारदेखि सचेतनामूलक कक्षाको सुरुवात गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सिताराम ओझाले बताए।
सडकमा सवारीको चाप कम हुँदा मादक पदार्थ सेवन प्रकरणमा एकै दिनमा धेरै जना फेला नपर्दा हरेक दिन कक्षा सञ्चालन गर्न नसकिने अवस्था रहँदा तत्कालका लागि हप्ताको एक दिन मात्रै ट्राफिक प्रहरी कार्यालयमा नै कक्षा सञ्चालन गर्न सुरु गरिएको उनको भनाइ छ। पहिलो दिन आइतबार यस्तो कक्षा सञ्चालन गरिएको भए पनि अबदेखि भने हरेक शुक्रवार सचेतनामूलक कक्षा सञ्चालन गर्ने तयारी ट्राफिक प्रहरीले गरेको छ।
‘हामीले पहिलो दिनमा १४ जनालाई राखेर सचेतना कक्षा सञ्चालन गरेका छौँ। हरेक दिन यत्तिकै सङ्ख्यामा मापसेमा पक्राउ पर्ने अवस्था नरहन सक्छ। कक्षा सञ्चालनको लागि केही सङ्ख्या पनि आवश्यक हुने भएकोले तत्कालका लागि साप्ताहिक रूपमा कक्षा चलाउन सुरु गरेका छौँ’, प्रहरी नायव निरीक्षक ओझाले भने, ‘यो अभियानले मादक पदार्थको सेवन गरी सवारी चलाउनेहरूको सङ्ख्या र त्यही अवस्थामा हुन सक्ने दुर्घटनामा अझै कमी आउँछ भन्नेमा हामी विश्वस्त छौँ।’ सचेतनामूलक कक्षामा कार्यालय प्रमुख ओझाले मादक पदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा कारबाही गर्नको लागि प्रचलित कानुनहरूको बारेमा प्रशिक्षण दिने छन् भने ट्राफिक प्रहरी हवल्दार वैकुण्ठ पौडेलले मादक पदार्थको सेवन गरी सवारी चलाउँदा हुन सक्ने दुर्घटना र त्यसको अवस्था, दुर्घटनापछि व्यक्ति र परिवारमा आउने अवस्था लगायतका बारेमा सिकाउने छन्।
हप्तामा एक दिन मात्रै सचेतनामूलक कक्षा सञ्चालन हुने भए त्यसमा सहभागी नभएसम्म पक्राउ परेका व्यक्तिका सवारीसँग सम्बन्धित कागजातहरू फिर्ता नगरिने ट्राफिक प्रहरीले बताएको छ। कोही व्यक्ति शनिवार पक्राउ परेमा उसको सवारी चालक अनुमति पत्र, सवारीको ब्लु बुक जस्ता कागजातहरू छ दिनसम्म ट्राफिक प्रहरीसँगै रहने छन्। शुक्रवार सञ्चालन हुने कक्षामा पुगेर मादक पदार्थको असर र सम्भावित दुर्घटनाको बारेमा चेतना लिएपछि मात्रै ती कागजातहरू फिर्ता हुने ट्राफिक प्रहरी हवल्दार वैकुण्ठ पौडेलले जानकारी दिए।
बजारवासी वा जिल्लावासीहरूले एक हप्तापछि कक्षामा सहभागी हुन समस्या नहुने भए पनि टाढा वा जिल्लाबाहिरबाट आएकाहरू कक्षा सहभागी हुन समस्या हुन सक्छ। तर मादक पदार्थ सेवन गरी सवारी चलाउन नहुने कानुन नै उल्लङ्घन गरेको व्यक्ति एक महिनापछि कक्षा सञ्चालन हुने भए पनि उपस्थित हुनुपर्ने ट्राफिक प्रहरी बताउँछ। यात्राका क्रममा समस्या आउन सक्ने वा बाटोमा अवरोध नचाहने व्यक्तिले मादक पदार्थ पनि सेवन गर्न नहुने पौडेलको भनाई छ।
मादक पदार्थ सेवन गरेर अहिलेसम्म जरिवाना मात्रै तिरेर छुट्नेहरूले अब अनिवार्य रूपमा कक्षा पनि लिएर ट्राफिक प्रहरीबाट छुटकारा पाउने छन्। सचेतना कक्षामा सहभागी भए पनि मापसे प्रकरणमा जे जति जरिवाना तिर्नुपर्ने हो त्यसमा भने कुनै पनि प्रकारको छुट हुँदैन। जरिवाना सहित कक्षा पनि अनिवार्य हो।
पर्वत : मापसेमा परेपछि ट्राफिकको कक्षा नलिएसम्म सवारीका कागजपत्र फिर्ता नपाइने
चैत्र ६, २०८०
