पर्वत : विद्यालय तहको वार्षिक परीक्षाको नतिजा कमजोर देखिएपछि चिन्तामा रहेको पर्वतको जलजला गाउँपालिकाले स्थानीय तहभरका शिक्षकहरूलाई एकै ठाउँमा राखेर बृहत् अन्तरक्रिया गर्ने भएको छ ।
गाउँपालिकाको शिक्षा शाखाका अधिकृत यज्ञप्रसाद लामिछानेका अनुसार गाउँपालिकाको शिक्षा समिति र वडा शिक्षा समितिका संयोजकहरूको संयुक्त बैठकले सोमबार गरेको निर्णय अनुसार भोलि बुधवारका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा गत शैक्षिक सत्र २०८० को नतिजाको विश्लेषण र चालु शैक्षिक सत्रमा शैक्षिक सुधार गर्दै उपलब्धि स्तर बढाउन के गर्न सकिन्छ भन्ने बारेमा संयुक्त रूपमा अन्तरक्रिया गर्न लागिएको शिक्षा अधिकृत लामिछानेले बताए ।
गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयका शिक्षकहरूलाई अनिवार्य रूपमा उपस्थित गराएर उपलब्धि स्तर ज्यादै कमजोर रहनुका कारणको बारेमा निष्कर्ष निकालेर चालु शैक्षिक सत्रमा त्यसको समाधानको प्रयासमा गाउँपालिका जुट्दै छ ।
शैक्षिक परिवर्तनका लागि विभिन्न कामहरू गर्दै आइरहेको जलजला त्रैमासिक परीक्षाहरू समेत स्थानीय तहले नै लिने गरेको छ । उत्तर पुस्तिका परीक्षण र त्यसको विश्लेषणको काम पनि स्थानीय तहमा नै हुने गरेको छ । विद्यार्थीको सिकाई उपलब्धि स्तरको वास्तविक अवस्था पत्ता लगाएपछि गाउँपालिकाले विद्यालय र शिक्षकलाई थप जिम्मेवार बनाउन विभिन्न प्रयास गर्दै आएको छ ।
गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्य सहितका जनप्रतिनिधिहरू गत शैक्षिक सत्रको सामुदायिक विद्यालयको नतिजा देखेर असन्तुष्ट छन् । विद्यार्थीहरू औँलामा गन्न सकिने सङ्ख्यामा मात्र उत्तीर्ण हुँदा राज्यको लगानी बालुवामा पानी हाले बराबर भएको अध्यक्ष आचार्यले बताउँदै आएका छन् । हालसालै प्रकाशन भएको नतिजापछि आफू हिसाब गर्न बाध्य भएको भन्दै अध्यक्ष आचार्यले गाउँपालिकामा रहेका ४४ वटा विद्यालयमध्ये आफूले नै अध्ययन गरेको एक पूर्व विद्यालयको अवस्थालाई उदाहरणका रूपमा पस्केका छन् । जसमा कक्षा नौ सम्मका ८६ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । ती मध्येका २० जना ग्रेडिङमा पर्दा बाँकी ६६ जना नन ग्रेडमा परेका थिए । परीक्षा दिएकामध्ये २३ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण हुँदा उनले विद्यालयमा भएको लगानीका बारेमा बोलेका थिए ।