मङ्लबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024
spot_img

अनलाइनबाट जनताका सुझाव लिएर नीति तथा कार्यक्रम र बजेट बनाउँदै पैयूँ

पर्वत : संघ र प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउने काम सकेपछि स्थानीय तहले असार १० गतेभित्रमा आफ्ना नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । यसैको तयारीमा जुटीरहेको पर्वतको पैयूँ गाउँपालिकाले भने आफ्नो नीति तथा कार्यक्रम रबजेटलाई नागरिकसँग सकेसम्म जोड्नका लागि अनलाईनमार्फत सुझाव सङ्कलनको काम थालेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालका अनुसार आगामी आर्थिक वर्ष २०८१÷८१ नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने तयारी भइरहेको अवस्थामा यसमा सरोकारवालाहरुको विचारहरु पनि समेटियोस भनेर अनलाईनबाट सुझाव लिन लागिएको हो । यसका लागि गाउँपालिकाले ‘गुगल फर्म’ तयार पारेको छ । उक्त फर्म ‘लिङ्क’ वा ‘क्यू.आर.कोड’ मार्फत खोलेर आफ्ना विचारहरु राख्न सक्ने व्यवस्था गरिएको छ । ‘फर्म’ मार्फत नगई गाउँपालिकाको मेलमा पनि आफ्ना सुझावहरु सिधै पठाउन सकिने प्रमुख प्रशासकीय अधिकृत रिमालले बताए ।

फर्ममा सामाजिक विकास, आर्थिक विकास, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पशु, पूर्वाधार लगायतका शीर्षकहरु राखिएका छन् । दिइएका शीर्षक वा अन्य विषयमा आफूमा भएका नवीनतम सोच, विचार, तरीका वा सुधार गर्नुपर्ने केही कुरा भएमा नागरिकले ‘टाइप’ गरेपछि गाउँपालिकाले हेर्ने छ । गाउँपालिकाको समृद्धिको लागि राम्रो सोच भएका व्यक्तिहरु सहरदेखि विदेशसम्म रहेकोले उनीहरुको सुझाव लिनका लागि पनि यो विधि उत्तम हुने भएकोले गाउँपालिकाले ‘अनलाइन’ मार्फत सुझाव लिन लागेको हो ।

‘पैयूँका मानिसहरु बजारदेखि अन्तराष्ट्रिय स्तरसम्म हुनुहुन्छ । यहाँका यूवाहरु अध्ययन वा रोजगारीका लागि बाहिर हुनुहुन्छ । उहाँहरुमा यहाँको विकासको लागि सोच हुन्छन् । हामीले सिधै फोन गर्न वा भेट्न नमिल्ने अवस्थामा उक्त फर्ममार्फत नै सुझाव दिन सजिलो पनि हुन्छ’, प्रमुख प्रशासकीय अधिकृत रिमालले भने, ‘उहाँहरुले गुगल फर्ममा लेख्नुभएपछि हामीले नीति तथा कार्यक्रम र बजेट निर्माणपूर्व ती सुझावहरुको विश्लेषण गर्छौँ ।’

स्थानीय तहमा रहेका नागरिक, राजनीतिक दल, सरोकारवालाहरुसँग भौतिक रुपमा नै बसेर आपसी छलफल गरिने र गाउँपालिकाको समृद्धिमा सघाउ हुने खालको बजेट निर्माणका लागि तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले बताए । स्थानीय तहले ल्याउने नीति तथा कार्यक्रम र बजेट जति समावेशी हुन सक्यो उती नै नागरिकको अपनत्व हुने र कार्यान्वयनमा पनि सहज हुने भएकोले नागरिकको माग र सुझावका आधारमा कार्यक्रम र बजेट तयारीको काम भइरहेको उनको भनाइ छ ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive