पर्वत : अङ्ग्रेजी विषयको शिक्षण गर्दै आइरहेका शिक्षकहरूको साझा सङ्गठन ‘नेपाल इङ्लिस ल्याङ्ग्वेज टिचर्स एसोसिएसन’ नेल्टा पर्वतको आयोजनामा एक दिने ‘वर्कसप’ सम्पन्न भएको छ ।
अङ्ग्रेजी विषयका विज्ञ बटुकलाल तामाङको उपस्थितिमा आन्तरिक मूल्याङ्कन प्रणाली, सिकाई सहरीकरणका लागि सामग्री निर्माण र बोलाई सीपको विकासका लागि आवश्यक शिक्षण कौशलका विषयमा सहभागीहरुकाबीच छलफल भएको छ । नेल्टा पर्वतको आयोजनामा कार्यक्रम भएकोले जिल्लाका सात वटै स्थानीय तहका अङ्ग्रेजी शिक्षकहरूको सहभागिता रहेको थियो । नमस्ते बुक्स एन्ड स्टेशनरी कुश्माको संयोजन तथा अलाइड पब्लिेकसन्स काठमाडौँको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो ।
नेल्टा पर्वतका अध्यक्ष सूर्य प्रसाद भुसालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुश्मा नगरपालिकाको सामाजिक विकास समितिका संयोजक तथा कुश्मा नगरपालिका–६ का वडाध्यक्ष ईश्वर गिरीले अङ्ग्रेजी शिक्षणमा पर्वतका शिक्षकहरुले गरिरहेको प्रयासको प्रशंसा गर्नुभयो । नेल्टाको आयोजनामा विगतमा पनि विभिन्न कार्यक्रमहरूको आयोजना हुने गरेको भन्दै उहाँले शैक्षिक विकासका लागि कुश्मा नगरपालिकाले विभिन्न सङ्घ संस्थाहरूसँग सहकार्य गर्नुका साथै प्रविधिको प्रयोगमा जोड दिइरहेको बताउनुभयो ।
कार्यक्रममा नेल्टा गण्डकी प्रदेशका सदस्यता सचिव देव शर्मा, अलाइड पब्लिकेसनका बजार प्रतिनिधि मदन शर्मा, जनकल्याण माध्यमिक विद्यालय बिहादीका प्रधानाध्यापक टङ्क बहादुर खड्का, नारायण माध्यमिक विद्यालय कुश्माका प्रधानाध्यापक प्रकाश रिजाल, गहते अम्बोट आधारभूत विद्यालयका प्रधानाध्यापक ओमकार पौडेल, वहाकी सामुदायिक क्याम्पसका प्रमुख एकनारायण भट्टराई, शिक्षकहरूका पेसागत सङ्घ तथा सङ्गठनका तर्फबाट कुश्माबाट मिम शर्मा लामिछाने, पैयुँबाट रामप्रसाद काफ्ले, महाशिलाबाट भवराज शर्मा, नेल्टा पर्वतका उपाध्यक्ष लक्ष्मीनारायण शर्मा लगायतले कार्यक्रममा बोल्नुभएको थियो ।
उक्त कार्यक्रमको सञ्चालन नेल्टा पर्वतका सचिव राजु प्रसाद भुसालले गर्नुभएको थियो ।