पर्वत : विश्व वातावरण दिवसको अवसरमा लक्ष्मी सनराइज बैंक कुश्माले सदरमुका कुश्माको शिवालय चोकमा सोमवा वृक्षारोपण कार्याक्रम सम्पन्न गरेको छ ।
वान्द्रेविँडी चोकदेखि साझाचोकसम्म गरिएको वृक्षारोपण कार्यक्रममा गुलमोहर, कल्की र जराकान्ड लगायतका ६० विरुवाहरु रोपिएको लक्ष्मी सनराइज बैंक कुश्मा शाखाका शाखाप्रवन्धक अर्जुन पौडेलले जानकारी दिनुभयो । शाखा प्रबन्धक पौडेलले यो अभियान देशव्यापी रुपमा संचालन गर्न लागिएको र देशभर पाँचहजार विरुवा रोप्ने लक्ष्य रहेको वताउनु भयो । वृक्षारोपण कार्यक्रमको सुभारम्भ कुश्मा नगरपालिका वडा नं ६ का वडाअध्यक्ष ईश्वर गिरीले गर्नुभएको थियो ।
वृक्षारोपण कार्यक्रमपछि संक्षीप्त मन्तव्य दिँदै वडाअध्यक्ष गिरीले विरुवा रोपेर वातावरण र हरित क्रान्तिमा लक्ष्मी सनराइज वैंकले महत्वपूर्ण भूमिका खेलेको वताउनुभयो । कार्यक्रममा पूर्व वडाअध्यक्ष रुद्र गिरी, शाखा प्रबन्धक अर्जुन पौडेल, वैंकका कर्मचारी सुवास लामिछाने, अर्जुनप्रसाद रेग्मी, सुजन गौंडेल र भीम काफ्ले लगायतको सहभागिता रहेको थियो । लक्ष्मी सनराइज बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिप (पिसिएएफ)सँग २०२१ देखि आबद्व हुँदै आएको छ ।
पिसिएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी साझेदारी समूह हो, जसले वित्तीय संस्थाहरूको कर्जा र लगानीका क्षेत्रहरूमार्फत उत्सर्जन हुने हरितगृह ग्यासको मूल्यांकन र सोको विवरणहरू संकलन र सार्वजनिक गर्ने काम गर्दछ । आफ्नो कार्बन फुटप्रिन्टको पहिचानसँगै उत्सर्जन गरेको कार्बनको असरलाई न्यूनीकरण गर्न पहल अगाडि बढाएको बैंकले जनाएको छ ।
विभिन्न हरित परियोजनामा लगानी बढाउनुका साथै आफ्ना डिजिटल प्लेटफर्मको पहुँचलाई अझ सुगम र सुदृढ बनाउने, पूर्ण रूपमा डिजिटल बचत खाताहरूको सञ्चालन गर्ने र ग्राहकहरूलाई दिगो अभ्यासहरू गर्न प्रेरित गर्नेलगायतका कार्यहरू गर्दै आएको बैंकको भनाइ छ ।