पर्वत : नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतको आयोजनामा मनसुन पूर्व तयारी सम्बन्धी जिल्ला शाखा र उपशाखाहरुको बीचमा संयुक्त बैठक सम्पन्न भएको छ ।
बर्खा याम सुरु हुने बेलामा मनसुन भित्रिनै लागेको बेलामा मनसुनजन्य विपदको व्यवस्थापनको बारेमा छलफल गर्न जिल्ला शाखा सहित उपशाखाहरुको संयुक्त बैठक सम्पन्न गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमालले जानकारी दिनुभयो । बर्षाका कारण विगतमा पनि आर्थिक, भौतिक तथा मानवीय क्षति भोग्दै आएको पर्वत जिल्लामा मौसम सुरु भएपछि यस वर्ष पनि घटना दोहोरिन सक्ने भएकाले रेडक्रसकर्मीहरु विपद् व्यवस्थापन कसरी लाग्ने भन्ने विषयमा बैठकमा छलफल भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले मनसुनबाट आउन सक्ने जोखिमको व्यवस्थापनमा जिल्लाबासी सबैको सक्रियताको आवश्यकता रहेको औँल्याउनुभयो । अनुमान नै नगरेको ठाउँमा विपद् आउने भएकाले मनसुनको समयमा हरेक व्यक्ति सम्भावित घट्नाबारे सतर्क अवस्थामा रहनुपर्ने उहाँको सुझाव छ । विपद्को बेलामा गर्नुपर्ने उद्धार र पुनःस्थापनाका लागि जिल्ला प्रशासन कार्यालय तयारी अवस्थामा रहने भन्दै उहाँले मातहतका निकायहरुलाई पनि तयार अवस्थामा रहन भनिसकिएको बताउनुभयो ।
यस्तै, सशस्त्र प्रहरी बल, नेपाल नम्बर २५ गण हेड क्वार्टर चण्डिका पर्वतका गणपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र थापाले जिल्लामा हुन सक्ने विपदको प्रतिकार्यका लागि सशस्त्र प्रहरीको टोली तयारी अवस्थामा रहेको बताउनुभयो । मनसुनजन्य बिपदको कारण हुनसक्ने सम्भावित क्षति न्यूनीकरणको लागि बिपद पूर्व नै समुदायमा नै सशस्त्र प्रहरीको टोलि पुर्याउने लक्ष्य अनुरुप आफ्नो परिचालन योजना बनाएर कार्यान्वयन गरिएको उहाँको भनाइ छ । सोही अवसरमा बोल्दै कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमले कुश्मा नगरपालिकाले विपद्को पूर्व तयारी स्वरुप गरिरहेको कामहरुको बारेमा जानकारी गराउनुभयो ।
रेडक्रसका सभापति रिमालले रेडक्रसकर्मीहरुको काम स्वतन्त्र स्यंयसेवा भएकोले विपदको बेलामा यथाशक्य छिटो उपलब्ध हुन रेडक्रसकर्मीहरुलाई अनुरोध गर्नुभयो । अन्तराष्ट्रिय युद्धमा समेत मानिसको ज्यान बचाउन खटेको रेडक्रसले मनसुनजन्य विपदमा पनि उसैगरी काम गर्ने उहाँको भनाई छ ।
सभापति रिमालकै अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य उपसभापति गोविन्द पाध्या पराजुलीले राख्नुभएको थियो भने उक्त कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतका मन्त्री आशिष जोशीले गर्नुभएको थियो ।