पर्वत : साहित्यकार जगन्नाथप्रसाद लम्सालको आदर्श काव्य ‘सहधर्मिणी’ को लोकार्पण तथा कृति समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
पर्वत साहित्य सङ्गमको आयोजनामा पर्वत बहुमुखी क्याम्पस तथा धौलागिरि बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख सह प्राध्यापक लम्सालले रचना गर्नुभएको काव्य लोकार्पण गरिएको हो । पर्वत साहित्य सङ्गमका अध्यक्ष खेमराज शर्मा चापागाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संस्थाका निवर्तमान अध्यक्ष डी आर शर्माले गर्नुभएको थियो । कृतिकार जगन्नाथ प्रसाद लम्सालकी धर्मपत्नी शेषकुमारी लम्सालको निधनपछि उहाँका सुकृतीहरूको सम्झनामा तयार पारिएको चार सय १२ पृष्ठको कृतिको लोकार्पण पर्वत साहित्य सङ्गमका अध्यक्ष पूर्व अध्यक्षहरू, सल्लाहकारहरू र कृतिकारले संयुक्त रूपमा गर्नुभएको थियो भने समीक्षा धनपति रेग्मी र कृष्णराज पौडेलले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा कृतिकार लम्साललाई पर्वत साहित्य सङ्गमले दोसल्ला, रुद्राक्ष माला तथा सम्मान पत्रले सम्मान गरेको थियो । अग्रज साहित्यकार शान्तिनारायण श्रेष्ठ र संस्थाका सल्लाहकार लक्ष्मीप्रसाद शर्मा पौडेलले शुभकामना दिनुभएको कार्यक्रममा दीपक शर्मा चापागाईँ तथा छोरी सावित्री चापागाईँले कृतिकारको परिचय प्रस्तुत गर्नुभएको थियो । सङ्गमका उपाध्यक्ष गोकुल शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका सहसचिव गीता अधिकारीले कृति भित्रका दुई कविताहरू वाचन गर्नुभएको थियो ।