असार २४, २०७८
पर्वत : पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित दोबिल्ल्लामा रहेको सुन्दरे खोलामा आएको बाढीबाट पिडित बनेकाहरुलाई नेपाली काँग्रेस पर्वतले राहत स्वरुप आर्थिक सहयोग गरेको छ ।
गत असार २३ गते राती करिब साढे १० बजेको समयमा आएको बाढीले सुन्दरे खोलाको छेवैमा टहरा बनाएर व्यापार गर्ने गरिएका पाँच ओटा पसल पुरेको थियो। सोही समयमा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डको काम गरिरहेको लामा कन्स्ट्रक्सनको तर्फबाट काम गरिरहेका इञ्जिनियर राजाराम आचार्य र सवारी चालक इन्द्र चौधरीलाई गाडी सहित बगाएको थियो। उनीहरु दोबिल्लामा रहेको बेलामा बाढी आएको थाहा पाएपछि भाग्ने क्रममा हाइलक्स गाडी नै बाढीले बगाएको थियो।
बाढीले पसलहरु पुरेर आर्थिक, भौतिक र मानसिक चिन्ता दिएको बेलामा पिडितहरुलाई सान्त्वना दिनका लागि काँग्रेस पर्वतले सबैभन्दा बढी पिडित तीन जनालाई जनही पाँच हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेको हो। पिडितमध्येका रुपा परियार, विश्व श्रेष्ठ र लक्ष्मी पोखरेलले राहत पाएका हुन्।
राहत हस्तान्तरणको लागि नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशी, नेपाली काँग्रेस पर्वतका पार्टी सभापति खिमप्रसाद भुसाल, नेताहरु राजेन्द्र तिवारी सहित जनप्रतिनिधिहरु पनि घटनास्थलमा पुगेका थिए। बाढी पिडितहरुलाई सान्त्वना दिँदै केन्द्रिय सदस्य जोशीले प्राकृतिक विपद्को सामु कसैको केही नचल्ने भएकोले घटनाको बारेमा चिन्ता गर्नुभन्दा अबको व्यवस्थापनमा लाग्न सुझाव दिए। तर अहिले पनि नेपालका धेरै स्थानमा भौगोलिक अध्ययनबिना नै बस्तीहरु बसाइएका कारण प्राकृतिक जोखिमको खतरा कम नभएको उनको भनाई छ।
दोबिल्लाका बाढी पिडितलाई काँग्रेस पर्वतको राहत
असार २४, २०७८




