पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा पाँच दिने ‘आन्तरिक शान्ति एवं खुसीयाली जीवनका लागि राजयोग मेडिटेसन’ कार्यक्रमको आयोजना हुने भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय शाखा कार्यालय कुश्मा र कुश्मा नगरपालिकाको संयुक्त आयोजनामा यही श्रावण ९ गतेदेखि १३ गतेसम्म प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने तय भएको छ ।
प्रशिक्षणमा वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु घलेले सहजीकरण गर्ने भएका छन् । उनले आध्यात्मिक एवं मानव कल्याणकारी चिन्तन अन्तर्गत अत्यन्तै उपयोगी शिक्षामूलक विषयक जस्तै स्वप्रवर्धन नेतृत्व विकास, तनावमुक्त जीवन, सम्पूर्ण योग्य जीवन, सम्पूर्ण स्वास्थ्य एवं खुसीपूर्ण जीवन सकारात्मक जीवन शैली, मूल्यनिष्ठ शिक्षाद्वारा स्व–सशक्तीकरणका विषयमा सिकाउने छन् । मानवीय जीवनलाई सुदृढ, सकारात्मक एवं आत्मबलयुक्त बनाई मनोजगतमा रहेका दुर्बल र कुण्ठित प्रवृत्तिहरू जस्तै भय, निराशा, त्रास, आलस्य, घृणा, क्रोध, आपसी वैरभाव आदि दुष्प्रवृत्तिहरूलाई रूपान्तरण गर्ने कार्यमा प्रशिक्षक घलेले महत्त्वपूर्ण सहयोग दिइरहेका छन् । यस्तै विविध कार्यक्रमहरूको मूल्याङ्कन गरी अन्तर्राष्ट्रिय पुरस्कारबाट पनि प्राप्त गरिसकेका छन् । कार्यक्रमको पहिलो सत्र प्रत्येक दिनको साढे १२ बजेदेखि साढे दुई बजेसम्म र दोस्रो सत्र साँझ साढे चार बजेदेखि साढे छ बजेसम्म सञ्चालन गरिने छ ।
कुश्मा नगरपालिकाको समेत संयुक्त आयोजना रहेकोले आइतबार भएको पत्रकार सम्मेलनमा बोल्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले समाजलाई असल बाटोमा लैजानको लागि ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको महत्त्वपूर्ण योगदान रहेको बताए । व्यक्तिमा आत्मानुशासन नभएसम्म कुनै पनि पक्षको विकास नहुने भएकोले अबको असल समाज निर्माणको लागि पनि यो प्रशिक्षण महत्त्वपूर्ण हुने उनको भनाई छ । असल समाज र संस्कारको निर्माणको लागि ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयसँग मिलेर आफूहरूले पनि कार्यक्रमको आयोजना गरेको नगरप्रमुख जोशीको भनाइ छ ।
वर्तमान समय कलियुगको अन्तिम चरणमा समाजमा बढ्दै गइरहेको नैतिकताको पतन, युवा वर्गमा विकराल बन्दै गएको दुर्व्यसन–कुलत साथै पुरातन धर्म, संस्कृतिको नाममा आएको सामाजिक एवं धार्मिक विसङ्गति, विकृतिको तड्क भडकबाट पर्न गएको सामाजिक समस्यालाई न्यूनीकरण गर्न ईश्वरीय शक्ति आवश्यक रहेको ईश्वरीय विश्वविद्यालयको पर्वत शाखाले बताएको छ । विश्वका मानव आत्माहरूको नैतिक, चारित्रिक एवं आध्यात्मिक विकास गर्दै विश्व कल्याणको दिव्य कर्तव्य प्रति जागृत गराउने उद्देश्यले समाज एवं राष्ट्रकै सेवामा विश्वविद्यालय ८८ वर्षदेखि सेवारत रहेको विज्ञप्तिमा उल्लेख छ ।
विश्वविद्यालयको पर्वत शाखाका अध्यक्ष तथा प्रमुख सञ्चालिका ब्रह्माकुमारी राधिका बरालले विश्वका एक सय ४५ भन्दा बढी देशहरूमा १५ हजार भन्दा बढी सेवाकेन्द्रहरुबाट १३ लाख भन्दा बढी सदस्यहरू दीक्षित भएको बताइन् । संस्थानले मानवताको हितार्थ गरेका उल्लेखनीय कार्यको कदर गर्दै संयुक्त राष्ट्र सङ्घले पाँच राष्ट्रिय र एक अन्तर्राष्ट्रिय शान्ति दूतको उपाधिले सम्मानित गरेको छ । यस संस्थालाई संयुक्त राष्ट्र सङ्घद्वारा गैरसरकारी संस्थानको स्थायी सदस्यता प्राप्त छ भने युनिसेफ र आर्थिक एवं सामाजिक परिषद्मा पनि संस्था सल्लाहकार सदस्य रहेको छ ।
मङ्लबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024