८ साउन, काठमाडौं । काठमाडौंमा आज बिहान भारी वर्षा भएको छ । वर्षासँगै बाढीको जोखिम भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
पछिल्लो ६ घण्टामा देशभरमै सबैभन्दा धेरै वर्षा भने पर्वतको कार्कीनेटामा भएको छ । जल तथा मौसम विज्ञान विभागको वर्षामापन केन्द्रको रेकर्डअनुसार कार्कीनेटामा ८५.६ लिलिमिटर वर्षा भएको छ ।
त्यसैले विभागले बागमती, गौरीघाट, विष्णुमती, धोबिखोला लगायतका नदी किनार क्षेत्रमा बस्नेहरुलाई र सो क्षेत्र भएर यात्रा गर्नेहरुलाई आज बिहान ९ बजेसम्मै सतर्कता अपनाउन एसएमएस पठाएर अनुरोध गरेको छ ।
विभागका अनुसार ललितपुरको गोदावरी क्षेत्रमा पनि भारी वर्षा भएको छ । पछिल्लो ६ घण्टामा गोदावरीमा ४०.६ मिलिमिटर वर्षा मापन भएको छ । ललितपुरकै लेलेमा ३५.४ मिलिमिटर वर्षा भएको छ ।
तर काठमाडौं उपत्यकाकै भक्तपुर क्षेत्रमा भने मध्यम खालको मात्र वर्षा भएको छ ।
#onlinekhabar