पर्वत : डेंगुको सङ्क्रमण फैलिँदै जानु र मानिसको बढी भिडभाड हुने क्षेत्र यसको जोखिममा हुने भएकोले पर्वतका विद्यालयलेहरुले डेंगु नियन्त्रणका लागि सरसफाइ अभियान सुरु गरेका छन्।
विद्यार्थीको भिड हुने विद्यालयमा कोही एक जना सङ्क्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले अर्को स्वस्थ व्यक्तिमा सङ्क्रमण गराउन सक्ने सम्भावना उच्च भएकोले विद्यालयहरूमा सरसफाइका लागि अनुरोध गरिएको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माले बताए।
पर्वतका तीन सय नौ जनामा डेंगु सङ्क्रमणको पुष्टि भइसकेको तथा वर्षा र गर्मीका कारण भदौ महिना लामखुट्टेका लागि झनै उपयुक्त वातावरणको समय बन्दा डेंगुबाट जोगिनका लागि विद्यालयहरूले पनि अभियान थाल्नुपर्ने उनको भनाई छ। ‘डेंगु बोकेको एउटा मात्रै लामखुट्टेले फूल पार्दा आठ सयदेखि १५ सयसम्म डेंगु भएका अण्डा पार्छ। यसको रोकथाम र न्यूनीकरणको अभ्यास नगर्ने हो भने ज्यामितीय आकारमा फैलिन्छ’, उनले भने, ‘जहाँ जनघनत्व बढी हुन्छ त्यहाँ हरेक सङ्क्रमण फैलने दर उच्च हुन्छ। फेरि लामखुट्टेको टोकाइबाट अपनाउनुपर्ने मापदण्डहरू विद्यार्थीहरूले जानी नजानी उल्लङ्घन गर्ने भएकाले पनि उनीहरू पाको मानिसको तुलनामा बढी जोखिममा रहन सक्छन्।’
विद्यार्थीहरू सहित विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई पनि पुरै बाहुला भएको लुगा तथा लामो मोजा सहितको जुत्ता लगाएर विद्यालयमा उपस्थित हुन भनिएको छ। विद्यालयभित्र र वरिपरिको वातावरणमा पानी जम्ने खाडलहरू भएमा पुर्न, ओसिला ठाउँको फोहोर सफा गर्ने, झार वा झाडी भएका स्थानको सरसफाइ गर्ने, फूलका गमला वा पानी जम्मा गर्ने भाँडामा केही दिनदेखि जम्मा भएको पानी भएमा पोख्ने, नढाकिएको पानी भएमा लामखुट्टे छिर्न नसक्ने गरी ढाक्ने, लगायतका क्रियाकलापहरू विद्यालयहरूले सञ्चालन गरिरहेका छन्।
विद्यार्थीहरूलाई लामखुट्टेको टोकाइबाट बच्न र परिवारका सदस्यहरूलाई पनि बच्न सिकाउन विद्यालयको प्रार्थना समयमा हरेक दिन जानकारी गराउने र दिउसोको समयमा सरसफाइ गराउने गरिएको सदरमुकाम कुश्मामा रहेको नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश रिजाल बताउँछन्। ‘विद्यालय क्षेत्रको सरसफाइ र विद्यार्थीहरूले लगाउने पूरा लुगा नै यसबाट जोगिने उत्तम विकल्प हो। हाम्रो विद्यालयमा करिब १२ सय विद्यार्थी छन्, यहाँ अझै सुरक्षाको खाँचो भएकोले हामीले दैनिकजसो सरसफाइ गरिरहेका छौँ’, उनले भने, ‘विद्यार्थीका माध्यमबाट सचेतना फैलाउन छिटो हुन्छ। उनीहरूले भनेको कुरा अभिभावकहरूले पनि मान्ने उनीहरूको कुरामा विश्वास गर्ने भएकोले पनि उनीहरूलाई लामखुट्टेबाट जोगिने विधिको बारेमा सिकाएका छौँ।’
घर आसपासमा रहेको फोहर, झाडी, नहल्लिने गरेर जमेको पानीलगायतका कारण लामखुट्टेले फुल पारेर बच्चा सङ्ख्या वृद्धि हुने लामखुट्टेको टोकाइ बढ्दा डेंगुको जोखिम पनि झन् झन् बढ्दै जाने भएकोले सचेत हुन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ। लामखुट्टेको टोकाइबाट बच्न आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडा लामखुट्टे नछिर्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप बाल्ने र मलम लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, झुल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्ने गरी लुगा लगाउनुपर्ने चिकित्सकहरूको सुझाव छ।
उच्च ज्वरो आउने, जोर्नी र मांसपेशीहरू बेस्सरी दुख्ने, आँखाको गेडी दुख्ने, बेस्सरी टाउको दुख्ने, शरीरमा राता बिमिरा आउने, वाकवाकी लाग्ने वा बान्ता हुनेलगायतका लक्षण देखिए डेंगु भएको हुन सक्ने भएकाले समयमै स्वास्थ्य परीक्षण गराउनुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन्। एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी हुने भएकाले दिउँसोभन्दा बिहान र साँझको समयमा झनै सचेत हुनुपर्ने उनीहरूको सुझाव छ।