शुक्रबार, माघ ४, २०८१
Friday, January 17, 2025

एकता युवा क्लबद्वारा चुवाका विजयलाई आर्थिक सहयोग

पर्वत : सामाजिक सेवाका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको कुश्माको एकता युवा क्लबले दुवै मिर्गौला फेल भएका एक युवालाई आर्थिक सहयोग गरेको छ ।
क्लबका अध्यक्ष कवीन्द्र के.सी.का अनुसार कुश्मा नगरपालिका–८ चुवाका दुवै मिर्गौला फेल भएका २५ वर्षीय विजय भण्डारीलाई आर्थिक सहयोग गरिएको हो । सुन्दर भविष्यका लागि युरोपको सुन्दर सपना देखेर त्यसतर्फ जाने अन्तिम तयारीमा जुटिरहेको बेलामा एक्कसी बिरामी परेका विजयका दुवै मिर्गौलाले काम नगरेको पुष्टि भएको थियो । सामान्य खर्चले उनको उपचार धान्न नसक्ने भएपछि सामाजिक सञ्जाल सहितका विभिन्न माध्यमबाट उनलाई बचाउन सहयोगको याचना भइरहेको छ ।
आमा र दिदीले मिर्गौला दिनको लागि तयार रहेको भए पनि प्रत्यारोपण गर्न २० लाख रुपैयाँसम्म लाग्ने भएपछि उनलाई बचाउन अभियानहरू चलिरहेका छन् । सोही क्रममा एकता युवा क्लबले पनि २१ हजार एक सय ५० रुपैयाँ आर्थिक सहयोग गरेको हो । विजयको उपचारमा थोरै भए पनि राहत होस भनेर क्लबका साथीहरूमार्फत थोरै थोरै भए पनि सहयोग सङ्कलन गरेर आर्थिक सहयोग गरिएको अध्यक्ष के.सी.को भनाइ छ ।
घरको आर्थिक अवस्था अति कमजोर भएकाले छोराको उपचारमा सघाउन उनका बुबा शेर बहादुर क्षेत्रीले अनुरोध गरिरहेका छन् । शेर बहादुर आफैमा बिरामी भएको बेलामा छोराका दुवै मिर्गौला फेल भएर उपचार गर्नुपरेपछि सामान्य अवस्थाको परिवार ठूलो आर्थिक मारमा परेको छ । विजयको अहिले पर्वत अस्पतालमा मिर्गौलाको डायलिसिस भइरहेको छ । आ–आफ्नो ठाउँबाट जतिसक्दो सहयोग गरेर विजयको उपचारमा सघाउन चुवाका वडाध्यक्ष सुरेन्द्र के.सी.ले पनि सबैमाझ अपिल गरेका छन् ।
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive