शुक्र, फाल्गुन २९, २०८२
Fri, March 13, 2026

विद्युत् मर्मतपछि जलजलाका करिब दुई सय घरमा दुई दिनपछि बल्यो बिजुली

भदौ २५, २०८१

पर्वत : जिल्लाको जलजला गाउँपालिकामा सुख्खा पहिरोले दुई दिनदेखि अवरुद्ध भएको विद्युतीय सेवा सुचारु भएको छ।

गाउँपालिकाको वडा नं. ९ अन्तर्गत साबिकका वडा नं. एक, दुई, तीन र ओख्लेका करिब दुई सय घरमा अवरुद्ध भएको विद्युत् सेवा सोमबार दिउँसोदेखि सञ्चालनमा आएको बनौँका वडाध्यक्ष गौबहादुर पुनले बताए। बनौँको खाल्टेचिनारमा गत शुक्रवार राती झरेको सुख्खा पहिरोले विद्युतका खम्बा र तारमा क्षति भएपछि विद्युत् सेवा अवरुद्ध भएको थियो।

पहिरोसँगै ढलेका रुखहरू विद्युतीय तारमाथि पर्दा सोही तारले पाँच/छ वटा पोलहरूमा पूर्ण रूपमा क्षति हुनुका साथै ठाउँ–ठाउँमा तारहरू चुँडिएर विद्युत् अवरुद्ध भएको हो। विद्युत् अवरुद्ध हुँदा दुई दिनदेखि समस्यामा रहेका बनौँबासीहरुलाई नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रका प्राविधिकहरूको प्रयासले राहत भएको छ। ‘यहाँ विद्युत् नहुँदा घर गाउँका सबै कामहरू ठप्प भएका थिए। विद्युत् अवरुद्ध हुँदा साथ धेरै काममा समस्या भयो’, वडाध्यक्ष पुनले भने, ‘पहिरोले जलजलाका विभिन्न वडाहरूमा दैनिक जसो समस्या भइरहेको छ। धेरै ठाउँमा विद्युतका पोल ढल्ने, तार चुँडिने गरेर हैरानी भएको छ।’

सुख्खा पहिरोले बनौँका बासिन्दाहरू गाउँपालिकाको केन्द्र लामाखेतमा जाने सडक समेत अवरुद्ध भएको थियो। दुई दिनदेखिको मिहिनेतले पहिरो पन्छाएपछि सडक पनि सञ्चालनमा ल्याउन सकिएको वडाध्यक्ष पुनले बताए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive